१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

उद्योगदेखि स्टोरसम्मको नियामक निकायसँग ‘सेटिङ’

संगठित सञ्जालमार्फत मदिरा भारत तस्करी

फायल तस्वीर

आइतबार बिहान सधैजस्तो सिरहाको गोलबजार नगरपालिका–९ स्थित शारदा डिस्टिलरी प्रालिबाट मदिराले भरिएको ट्रक सीमावर्ती माडरस्थित आशिष जेनरल स्टोरमा पुग्यो। राजस्व छली गरी मदिराको बोतलमा अन्तःशुल्कको एउटा स्टिकरलाई दुई/तीन टुक्रा पारी लगाइएका बोतलले भरिएका कार्टुन अनलोड गरिरहँदा सञ्चारकर्मीको टोली पुग्यो। अतालिँदै स्टोर सञ्चालकले ट्रक भगाए।

बिहानै आन्तरिक राजस्व कार्यालय लहानका प्रमुख पुन्य रिजाललाई राजस्व छलीका मदिराबारे जानकारी गराउँदासमेत उनी निकै ढिला आइपुगेका थिए। नेपाल पत्रकार महासँघ सिरहाका सचिव शिवदयाल यादवले भने, ‘राजस्व छलीका मदिराका धेरै कार्टुन ट्रकमै लिएर गएपछि मात्र राजस्वका प्रमुख आइपुगेका थिए।’

सुरुमा उहाँहरूले जाँच गर्न आनाकानी गर्दै हुनुहुन्थ्यो। पछि गोदामभित्र प्रवेश गरी कार्टुन खोल्दा मदिराका बोतमा एउटा स्टिकर दुई–तीन टुक्रा पारी लगाएको पाइयो। यादवले भने, ‘बदमासी पुष्टि भएपछि उहाँहरू थप कार्टुन जाँच गर्न थालेको थियो।’

‘एउटा स्टिकरलाई दुई तीन टुक्रा पारी मदिराको बोतलमा लगाइएको पाइएको छ,’ अन्तरिक राजस्व कार्यालय लहान सिरहाका प्रमुख पुण्य रिजालले भने, ‘उद्योग र स्टोर दुवैको दोष देखिएको छ। ‘राजस्व छलीको मापन परिमाणले हुन्छ,’ उनले भने, ‘छानबिन तथा अनुसन्धान पूर्ण भएपछि मात्र जरिबानाको आकार प्रष्ट हुन्छ। अहिलेलाई राजस्व छली गरेको पाइएपछि आशिष जनरल स्टोरलाई सिल गरेर अनुसन्धान अघि बढाएको छौं,’ रिजालले भने।

शारदा डिस्टिलरीबाट मदिरा लोड भएको ट्रक सिरहा नगरपालिका–१५ माडर गई त्यहाँस्थित आशिष जनरल स्टोरमा उक्त मदिरा भण्डारण गरिएको थियो। ‘आशिष जनरल स्टोरबाट हामीले ५ सय ७५ कार्टुन मदिरा नियन्त्रणमा लिएका छौं, अरू पनि ल्याउने क्रममा छौं,’ रिजालले भने, ‘ल्याइएकामध्ये दुई सय ६५ वटा कार्टुनमा हामीले चेक गर्दा अन्तःशुल्कको एउटै स्टिकरलाई दुई टुक्रा गरी लगाइएको पाइएको छ, यो राजस्व छली हो।’

सिल गरिएको आशिष जनरल स्टोरको गोदाममा रहेका सबै मदिरा नियन्त्रणमा लिएपछि जनरल स्टोरका सञ्चालकसँग बयान लिने रिजालले बताए। ‘राजस्व छली त भएकै हो, संलग्न कोको छन्, यो अनुसन्धानबाट खुल्दै जाला,’ उनले भने, ‘उद्योगबाट राजस्व छली भएको त लगभग प्रष्ट नै भइसकेको छ। स्टोरबाट पनि बदमासी भएको देखिएको उनले बताए। शारदा डिस्टिलरी र आशिष जनरल स्टोर दुवैलाई अनुसन्धानको दायरामा ल्याउँछौं,’ रिजालले भने।

उद्योगबाट राजस्व छली गरी मदिरा माडरस्थित स्टोरमा भण्डारण हुने र यहाँबाट बोरामा भरेर सेटिङमा भारत तस्करी हुने ताजा घटना हो यो। सिरहा जिल्लास्थित शारदा डिस्टिलरीलगायतका उद्योगबाट दैनिक रूपमा यसैगरी एउटा स्टिकरलाई दुई–तीन टुक्रा पारी राजस्व छली हुँदै आएको स्रोतले बतायो।

सञ्चारकर्मीले घटना उजागर नगरेको भए सेटिङमा हुँदै आएको यो धन्दा निरन्तर चलिरहन्थ्यो माडरका एक व्यपारिले बताए। स्थानीय प्रशासन र नियमनकारी निकायको मिलेमतोमा राजस्व छली भइरहेको आरोप लाग्दै आए पनि सरकारी निकायले त्यसलाई अस्वीकार गर्दै आएको छ। राजस्व प्रमुख रिजालले भने, ‘मेरो मिलेमतो हुने कुरै भएन। म कहाँ मिलेमतो गर्न सक्छु?,’ उनले भने, ‘हामीसँग सूचना नै नभएपछि राजस्व छलिरहेको कसरी थाहा पाउनु? पहिला हाम्रै कर्मचारी उद्योगमा रहन्थ्यो अहिले छैन। उद्योगले हामीसँग सिंगै स्टिकर लगेको देखिन्छ। उद्योगमा लगेपछि कति टुक्रा पार्छ हामीलाई के थाहा?’

‘हामीसँग सबै अनलाइन प्रणालीमा काम कारबाही हुने भएकाले कोही राजस्व छल्छु भनेर सोच्न पनि सक्दैन,’ उनले भने। रिजालले अनलाइन प्रणाली भनिए पनि राजस्व छली भइरहेको भने स्वीकार गरे।

मदिराको आकर्षक बजार सीमापारि

माडर मात्र नभई सिरहाकै ठाढी र बरियारपट्टि नाका क्षेत्रमा भण्डारण हुने मदिराको मुख्य बजार सीमापारि हो। दिउँसो भण्डारण हुने मदिरा रातभर पारि तस्करी हुन्छ। सीमावर्ती लगडीगोठका एक स्थानीयले भने, ‘यस नाकाबाट मोटरसाइकल र स्कोर्पियोमा मदिराका भरेर बेरोक पारि ढुवानी हुन्छ। रोक्ने निकाय नै मिलेपछि कस्को डर?,’ उनले भने, ‘सुरक्षाकर्मी मिलेकै छन्। हामीजस्ता आम मानिस डरैले मुख खोल्दैनौं।’ तस्कर र सुरक्षाकर्मीका मान्छे बाइकमा मदिराको स्कर्टिङ गर्छन्।

कुनै बेला अँध्यारोको आड लिएर तस्करले भारतबाट कुखुरा भिœयाउने माडर भन्सारअन्तर्गतको लगडीगोठ र बुधौरा, बरियारपट्टीअन्तर्गतको दरहिया, औरही, नरगी, हरकट्टी, इटाटार, ठाढीअन्तर्गतको झाझपट्टी, अभयनगर नाका पछिल्लोसमय मदिरा तस्करीको मुख्य केन्द्र बनेको छ।

भारतको बिहार सरकारले मदिरा निषेध गरेपछि पिउनेका लागि तस्करले नेपालबाट मदिरा भारतीय गाउँसहरमा पु¥याउँदै छन्। नेपालका सुरक्षाकर्मीसँगको सेटिङमा नेपाली बजारबाट मदिरा सीमावर्ती बजारमा भण्डारण गर्ने र अनुकूल समयमा सीमापारि भारतीय सहर पु¥याउने धन्दा होली पर्व नजीकिएसँगै बढेको छ।

दिउँसै सिरहाको माडर बजारमा उद्योगबाट सिल भएर आएको कार्टुनबाट मदिराका बोतल अर्को कार्टुनमा प्याक गरी बोरामा राखेर मोटरसाइकल र साइकलमार्फत सीमावर्ती लगडीगोठ र बुधौरा पुर्‍याइन्छ। यहाँ मदिरा भण्डारण गरी पारी ड्युटीमा रहेका एसएसबीहरू ब्यारेक फर्केपछि धमाधम मदिराको कार्टुनले भरिएका बोरा पारि पुर्‍याइन्छ।

आँखैअगाडि मदिराको तस्करी धन्दा हेर्दाहेर्दै आजित भइसकेका सिरहा नगरपालिका–२१ लगडीगोठका स्थानीय तस्करी नियन्त्रणका लागि पटकपटक जिल्लाका सुरक्षा अधिकारी र प्रमुख गुहार्छन्।

मदिरा तस्करीको धन्दा फस्टाएसँगै यो गाउँका लगडीगोठ गाउँका नागरिक आफूलाई असुरक्षित अनुभूति गर्न थालेको भन्दै यो धन्दा नियन्त्रण गरिदिन सुरक्षा प्रमुखलाई आग्रह गरे पनि रोकिएको छैन। नम्बर प्लेट नै नभएको मोटरसाइकल चढेर पारिबाट आउनेहरूका कारण यहाँका जनता असुरक्षित महसुस गर्दैछन्। ‘प्रहरी प्रमुखले बेवास्ता गरेपछि हामी अझ असुरक्षित महसुस गरिरहेका छौं,’ एक स्थानीयले भने।

सशस्त्र प्रहरीको बोर्डर आउटपोष्ट माडर र इलाका प्रहरी कार्यालय माडरभन्दा पाँचसय मिटरपूर्व लगडीगोठ जाने सडकको उत्तरपट्टि खुला ठाउँमै मदिराका बोतल नयाँ कार्टुनमा प्याक गरेर बोरामा भरिरहेको दृश्य यहाँका लागि समान्य हो। दर्जनौं साइकलहरू अनि भारतीय नम्बरका मोटरसाइकलबाट घेरिएको यो ठाउँमा बोरामा भरिने मदिराको कार्टुन साइकलमा राखेर सिधै सीमावर्ती लगडीगोठ पुग्छ।

मदिरा तस्करी बढेपछि अहिले सिरहाको सीमावर्ती क्षेत्रमा मदिराका पसलहरू थपिँदै गएका छन्। अवस्था यस्तोसम्म छ कि कतिपय मदिरा पसलेहरूले नै तस्करहरू राख्ने गरेका छन्। इलाका प्रहरी कार्यालय माडर र बोर्डर आउटपोष्ट माडरभन्दा पाँच सय मिटरपूर्व लगडीगोठ जाने सडकको उत्तरपट्टि खुला ठाउँमै मदिराका बोतल नयाँ कार्टुनमा प्याक गरेर बोरामा भरिररहेको दृश्य यहाँका लागि सामान्य हो।

दर्जनौं साइकल अनि भारतीय नम्बरका मोटरसाइकलबाट घेरिएको यो ठाउँमा बोरामा भरिने मदिराको कार्टुन साइकलमा राखेर सिधैं सीमावर्ती लगडीगोठ पुग्छ। यहाँबाट बिहान, मध्याह्न र राति तीन समय नेपाली र भारतीय व्यापारीले भारतीय बजार जोगिया पुर्‍याउँछ। जोगियाबाट जयनगर हुँदै बिहारका अन्य गाउँ–सहरमा पुर्‍याइन्छ नेपाली मदिरा। मदिरा ओसारपसारमा साइकल र नम्बर प्लेट नै नभएको भारतीय मोटरसाइकल र जिप प्रयोग हुन्छ।

लगडीगोठका एक जेष्ठ नागरिकका अनुसार माडर बजारबाट यहाँसम्म साइकलमा एक बोरा मदिरा ल्याएबापत दुई सय रूपैयाँ पाउँछन्। एक खेपमा यति धेरै रूपैयाँ पाएपछि यस भेगका धेरै युवा मदिरा ढुवानीमा लागेका छन्। मदिरा तस्करी बढेपछि अहिले सिरहाको सीमावर्ती क्षेत्रमा मदिराका पसल थपिँदै गएका छन् भने कारोबारसमेत बढेको पाइएको छ।

कतिपय मदिरा पसलेहरूले नै तस्करहरू राख्ने गरेको स्थानीयहरू बताउँछन्। यता सीमा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरीले भने सीमामा हुने कुनै पनि प्रकारको तस्करी रोक्न हरसम्भव प्रयास गर्दै आएको दाबी गरेका छन्।

पारि दैनिक पक्राउ पर्छ नेपाली मदिरा

भारतीय सहर जयनगरका प्रहरीले मंगलबार कमला नहरबाट मदिराको ठूलो परिमाण बरामद गरेको जनाएको छ। पाँच वटा मोटरसाइकलको पछाडी बोरामा लोड गरिएको मदिरासहित एक जनालाई पक्राउ गरिएको देउधा थानाले जनाएको छ। पक्राउ पर्ने जयनगर थाना क्षेत्र कोरहियाका पंकज यादव रहेको जनाइएको छ।

गत शुक्रबार भारतीय सहर जयनगरबाट प्रहरीले मदिरासहित एकजना भारतीय नागरिकलाई पक्राउ गर्‍यो। पक्राउ परेकाले आफू नेपालबाट मदिरा भारत तस्करी गर्ने गरेको स्वीकारेका छन्। उनको साथबाट जयनगर प्रहरीले ६ सय ३० लिटर सोफी मदिरा बरामद गरेका हुन्।

जयनगर प्रहरीले नेपालबाट मदिरा भारत तस्करी गर्नेलाई पक्राउ गरेको यो पहिलो घटना होइन। मदिरासहित धेरै मानिस पक्राउ परेका छन्। धेरै अझै थुनामा सजाय भोग्दै छन्। तर, नेपालबाट मदिरा भारत तस्करी रोकिएको छैन। झन् बढ्दै गएको पाइन्छ। भारतको बिहार सरकारले मदिरा निषेध गरेपछि तस्करले नेपालबाट मदिरा सीमावर्ती भारतीय गाउँ–सहरमा पुर्‍याउँदै आएको छ।

प्रकाशित: ११ चैत्र २०८० ०८:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App