१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

चौधरीले भने: ‘१० रोपनीमा कुदृष्टि राख्छ भनेर सोच्नु विकृत मानसिकताको उपज’(पूर्ण पाठसहित)

नेपाली कांग्रेसका सांसद विनोद चौधरीले सरकारले उद्यमी र लगानीकर्तामाथि राजनीतिकरण गरेको बताएका छन्। 

छालाजुत्ता कारखानाको सरकारी जग्गा निजीकरण गरेको आरोपमा बिहीबार सरकारी वकिल कार्यालयमा उपस्थित भई बयान दिइसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सरकारले उद्यमी तथा करदातामाथि राजनीतिकरण गरेको आरोप लगाएका हुन्।

उनले राज्यले आफू जत्तिको व्यक्तिमाथि समेत राजनीति गरिरहेको भन्दै नेपाल र विश्वभर रहेका नेपाली युवा, नेपालका उद्यमी, रोजगारदाता, करदाताहरूले आफ्नो मनमा कुन सन्देश लिएर लगानी गर्दछन् भन्ने कुराको हेक्का राज्यले राख्नुपर्ने बताए।

‘म फेरि पनि यस्ता प्रकारका गतिविधिबाट निजी क्षेत्रलाई, उद्यमीलाई, लगानी कर्तालाई विशुद्ध राखिनुपर्दछ, राजनीतिका आफ्ना फोरम छन्, आफ्ना तरिका छन्, म पनि नवलपरासी पश्चिमबाट विकासको फर्ममा म प्रत्यक्ष निर्वाचित सांसद हुँ, यी दुई कुरालाई कहिल्यै जोडेको छैन र भोलिका दिनमा पनि गर्नेछैन’, चौधरीले बयानपछि बाहिर निस्किएर सञ्चार कर्मीहरूसँग भने।

उनले आफूले उद्यमी भएर काम गरेको ४५ वर्ष बितिसकेको भन्दै आफ्नो चरित्रको सर्टिफिकेट स्टन्ट गर्नेहरूलाई बुझाउन आवश्यक नरहेको बताए।

चौधरीले राज्यले यस्ता गतिविधिबाट निजी क्षेत्र, उद्यमी, लगानी कर्तालाई विशुद्ध राख्न आवश्यक रहेको बताए। सांसद चौधरीले आफूलाई सरकारी वकिलको कार्यालयबाट मौखिक रूपमा उपस्थित हुन भनेपछि आफूले उपस्थिति जनाएको बताए।

उनले आफू जिम्मेवार व्यक्ति, जिम्मेवार राजनीतिकर्मी भएको हैसियतले अनुसन्धानको लागि सहयोग गर्न उपस्थित भएको बताए।

चौधरीले ४२ वर्षअघिको बाँसबारीको कौडीको भाउमा पनि नबिक्ने जग्गालाई आधार बनाइ पब्लिक-प्राइभेट पार्टनरसिपको एउटा उत्कृष्ट मोडलको रूपमा खडा गरिएको एउटा नवीनतम सोचलाई राजनीतिकरण गर्नु दुःखद रहेको बताए। १० रोपनी जग्गाको बारेमा कुनै पनि प्रकारको कुदृष्टि राख्छ भनेर सोच्नु नै एउटा विकृत मानसिकताको उपज रहेको जिकिर गरे।

उनको भनाईको पूर्णपाठ

'हिजो गोप्य पत्रको नाममा म संसद्मै थिएँ। संसद्मा हुँदाहुँदै तीन मिनेटभित्र त्यहाँ अनुसन्धानको बारेमा जानकारी गराएको पत्र जुन रूपले देशभर देशभरका सबै सञ्चारमाध्यमहरू रँगिए, त्यसबाट यो स्टन्ट के उद्देश्यका लागि गरिएको हो भन्ने कुरा स्पष्ट भएको स्थिति छ। मैले यो विषयमा कुरा उठ्ने बित्तिकै मेरो भाइमाथिको अनुसन्धान सुरु हुने बित्तिकै दलको बैठकमा आफ्ना संक्षिप्त कुराहरू राखेँ। जुन पब्लिकली बाहिर आए। म माथिको अनुसन्धानको कुरा चल्ने बित्तिकै मैले रोष्टममा उभिएर देशको नीति, निर्माण गर्ने, ऐन कानुन बनाउने र सरकारै पनि बनाउने सबैभन्दा महत्त्वपूर्ण फोरममै निर्वाचित प्रतिनिधि सभाको सदस्यको हैसियतले आफ्ना कुराहरू राखेँ। मलाई यहाँ आउन मौखिक रूपमा जानकारी गराइयो, म एउटा जिम्मेवार व्यक्ति, जिम्मेवार राजनीतिकर्मी भएको हैसियतले म यहाँ सहयोग गर्न उपस्थित भएँ। ४२ वर्षअघि बाँसबारी जस्तो अनकन्टार ठाउँको कौडीको भाउमा पनि नबिक्ने जग्गालाई आधार बनाइ एउटा त्यो बेलामा पब्लिक प्राइभेट पार्टनरसिपको एउटा उत्कृष्ट मोडलको रूपमा खडा गरिएको एउटा नवीनतम सोचलाई जुन किसिमबाट राजनीतिकरण गरियो, त्यो अत्यन्त दुःखलाग्दो छ। ४२ वर्षअघिको १० रोपनी बाँसबारीको जग्गाको मूल्य कति नै पर्दथ्यो होला भन्ने कुरा सबैले बुझेका छन्, नेपालभर। यो देशकै एक मात्र हजारौँ रोपनीको निजी औद्योगिक ग्राम स्थापना गर्ने रूपले मुलुकभर नै विभिन्न विगत १४० वर्षदेखि र अझ व्यवस्थित रूपले ८० वर्षदेखि सम्पूर्ण देशभर नै र हाम्रो विभिन्न परियोजना गर्ने रूपले यो १० रोपनी जग्गाको बारेमा कुनै पनि प्रकारको कुदृष्टि राख्छ भनेर सोच्नु नै एउटा विकृत मानसिकताको उपज बाहेक केही पनि होइन। मैले मेरो आफ्नो ४५ वर्षको लामो अभियानमा एउटा उद्यमीको हैसियतले, एउटा उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघको अध्यक्षको हैसियतले, एउटा विचार र राजनीतिक कर्मीको हैसियतले मैले जहिले पनि विकासको राजनीति गरेँ। मैले कहिले पनि दलगत राजनीतिको पक्षमा अकारण र गलत प्रवृत्तिलाई कहिले पनि दलहरूका बिचका आपसी मतभेद, जोड घटाउमा सरिक भइन। त्यस हिसाबले आफूलाई प्रोफेसनल र विकास प्रेमीको हैसियतले फोरममा उभ्याएँ। तर आज यो इस्युमा भने राजनीति गर्ने, राजनीतिकरण गर्ने, उद्यमलाई राजनीति गर्ने, एउटा उद्यमीलाई राजनीतिकरण गर्ने, लगानीकर्ता र ट्याक्सपेयरलाई राजनीतिकरण गर्ने कुरा स्पष्टसँग देखियो। अहिले अत्यन्त कठिन परिस्थिति भएर गुज्रिरहेको नेपाल आर्थिक दृष्टिकोणबाट यी कुराहरू रोज आउने गर्दछन्। यो बेलामा म जत्तिको मान्छेले यहाँ उभिएर यो कुरा भनिरहँदा खेरि नेपालभरका र विश्वभर रहेका नेपालका युवाहरूले, नेपालका उद्यमीहरूले रोजगारदाताहरूले, करदाताहरूले कुन सन्देश आफ्नो मनमा लिएर जाने हो भन्ने कुराको हेक्का राज्यले राख्नुपर्ने हो। मैले अब ४५ वर्षको आफ्नो यात्रापछि मेरो आफ्नो चरित्रको सर्टिफिकेट कसैलाई बुझाउनु पर्दैन, त्यो पनि खासगरीकन स्टन्ट गर्नेहरूलाई। म फेरि पनि यस्ता प्रकारका गतिविधिबाट निजी क्षेत्रलाई, उद्यमीलाई, लगानी कर्तालाई विशुद्ध राखिनुपर्दछ, राजनीतिका आफ्ना फोरम छन्, आफ्ना तरिका छन्, म पनि नवलपरासी पश्चिमबाट विकासको फर्ममा म प्रत्यक्ष निर्वाचित सांसद हुँ, यी दुई कुरालाई कहिल्यै जोडेको छैन र भोलिका दिनमा पनि गर्नेछैन।’

आफूले दलगत राजनीतिलाई छोडेर विकासको राजनीति गरेको पनि उनले बताए। सांसद चौधरीमाथि बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा निजीकरण गरेको आरोप छ। 

प्रकाशित: ८ चैत्र २०८० १२:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App