१७ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

नाकाका विद्यालयमा पानीको कष्ट, खोलामा पनि पाउँदैनन् पानी

गत वर्षको चैत अन्तिम साता खोलाको पानी सुक्यो। खोला सुख्खा बनेपछि विद्यार्थीलाई पानी खुवाउनै सकस भयो। पानी नै नपाएपछि नेपाल–भारत सीमा क्षेत्र गढवा गाउँपालिका, कोइलावासमा रहेको महेन्द्र आधारभूत विद्यालय बन्द गर्नु पर्‍यो। पानी अभाव भएपछि एक हप्तासम्म विद्यालय नै बन्द गर्नुपरेको भन्दै विद्यालयका प्रधानाध्यापक रामलाल वलीले भने, ‘खोलामा पानी सुकेपछि बालबालिकालाई पानी खुवाउनै नसकिने अवस्था बन्यो, अनि विद्यालय नै बन्द गरेर बस्यौं।’

एक हप्तापछि गढवा गाउँपालिकाले ट्यांकरबाट पानी पुर्‍याइदिएपछि बल्ल विद्यालय खोलियो। ‘गाउँपालिकाले ट्यांकरबाट पानी पुर्‍याएपछि एक हप्तापछि विद्यालय खोलेका हौं,’ वलीले भने, ‘यहाँ विद्यार्थीलाई पानी व्यवस्थापन गर्न निकै असहज अवस्था छ।’ यसवर्षको सुख्खायाम फेरि सुरु भइसकेको छ। खोलामा रहेको पानी सुक्दै जान थालिसकेको छ। विद्यालयलाई फेरि उही पिरलो सुरु भइसकेको छ।

प्रधानाध्यापक वलीका अनुसार खोलामा रहेको पानी मोटरबाट तानेर गाउँमा वितरण भएको छ। तर, सुख्खा मौसम सुरु भएपछि पानीका लागि गरिएको यो व्यवस्थापन पनि बेकामे बनिदिन्छ। खोला सुख्खा बन्दा पानीको चरम समस्या झेल्नुपर्ने यो विद्यालयले भारतीय सीमा सुरक्षा बल एसएसबीले आफ्नो क्षेत्रमा जडान गरेको धाराको पानी प्रयोग गर्दै आइरहेको थियो।

उसको ब्यारेकबाहिर जडान गरिएको धाराको पानी बोकेर विद्यार्थीलाई खुवाउँदै आइएको थियो। तर, एसएसबीले त्यो धारा हटाइदिएको छ। ‘खोलाको पानी सुक्यो भने एसएसबीको धाराको पानी खुवाउँथ्यौं, एसएसबीले पानी लिन दिन्थ्यो पनि,’ वलीले भने, ‘तर ,उसको ब्यारेकबाहिर जडान गरिएको धारा हटाइदियो, अनि पानीका लागि झनै समस्या हुन थाल्यो।’

एसएसबीले धारा फालिदिएपछि विद्यालयले भारतको जरुवा भन्ने स्थानबाट बोकेर पनि पानी खुवाउन थाल्यो। मोटरसाइकलमार्फत ग्यालेनबाट पानी बोकेर खुवाउन सम्भव भएन। अनि विद्यालय बन्द गरेरै बस्नुपर्ने बाध्यता आएको विद्यालयका प्रधानाध्यापक वलीले बताए। ‘भारतको जरुवा भन्ने स्थानमा मोटरसाइकलमार्फत ग्यालेनमा पानी ओसारेर पनि खुवाउने कोसिस गर्‍यौं,’ उनले भने, ‘तर यो सम्भव भएन, अनि विद्यालय बन्द गरेर बस्नुपर्‍यो।’

यस वर्ष पनि गाउँपालिकाले ट्यांकरबाट पानीको व्यवस्थापन नगरिदिए विद्यालय बन्द गरेर बस्नुपर्ने बाध्यता आउने उनको भनाइ छ। ‘अबको केही दिनपछि खोलाको पानी सुकिहाल्छ, पालिकाले गत वर्षजस्तै ट्यांकरबाट पानी पु¥याइदिएन भने त विद्यालय बन्द गरेर बस्नुको अर्को विकल्प हुँदैन,’ उनले भने, ‘हामीले पालिकालाई यो समस्याबारे जानकारी गराउँदै आएका छौं।’

खोलाको पानी मोटरमार्फत तानेर विद्यालयमा पुर्‍याइएको छ। खोलाबाट सिधैं पाइपमार्फत पुर्‍याईएको पानी विद्यालयले शुद्धीकरण गरेर विद्यार्थीलाई खुवाउने गरेको छ। ‘विद्यालयमा पानी शुद्धीकरण गर्ने मेसिन छ, हामीले पानी शुद्धीकरण गरेर विद्यार्थीलाई खुवाउँछौं र हामी शिक्षकले पनि खान्छौं,’ वलीले भने। यो विद्यालयमा झन्डै एक सय विद्यार्थी छन्।

नेपाल–भारत सीमा क्षेत्रमा खानेपानीको चरम समस्या चरम छ। खानेपानीका योजना सञ्चालित नहुँदा नाका क्षेत्रको पानी तिर्खा मेट्ने खहरे खोला नै हुन्। नाका क्षेत्रमा रहेका विद्यालयले साना बालबालिकालाई समेत खोलाको दुषित पानी खुवाउनुपर्ने बाध्यता छ। खोलाको फोहर पानीकै कारण विद्यार्थी बिरामीसमेत पर्ने गरेको शिक्षकहरू बताउँछन्।

गढवाको खबरी नाकामा रहेको दुर्गा प्राविका प्रधानाध्यापक कृपानन्द चौधरी भन्छन्, ‘खोलाको फोहर पानी नै खानुपर्ने र विद्यार्थीलाई खुवाउनुपर्छ, विद्यार्थी मात्रै हैन हामी शिक्षकमा पनि स्वास्थ्य समस्या आइरहन्छन्, फोहर पानीका रुघा खोकीलगायतका समस्या आउँछन्। यो नाकामा रहेको स्थानीय खोलानै पानकिो मुख्य स्रोत हो। खोलाबाट पाइपमार्फत वस्तीमा पानी पुर्‍याइएको छ। वस्तीमा पुर्‍याइएको यही पानी विद्यार्थीले पिउँछन्। सानो वस्ती रहेको यो नाकाको विद्यालयमा २२ जना विद्यार्थी छन्।

राजपुर गाउँपालिका, स्याउले नाकास्थित ज्ञानकुञ्ज प्राविका निमित्त प्रधानाध्यापक रामबहादुर विकलाई पनि सुख्खा यामको पिरलो सुरु भइसकेको छ। विद्यालयनजिकै रहेको खोलाको पानीले अहिलेसम्म विद्यार्थीले तिर्खा मेटिरहेका छन्। तर यो खोला पानी सुक्दै जान थालिसकेको छ।

‘अब खोलाको पानी सुकिहाल्छ, विद्यार्थीलाई पानी खुवाउन धेरै समस्या हुन्छ,’ विकले भने, ‘हाम्रो विद्यालयमा सबै भन्दा ठूलो समस्या भनेको खानेपानीकै हो।’ विद्यालयनजिकैको यो खोला सुक्नासाथ पानी बोक्नका लागि एक घण्टा तल झर्नुपर्छ। ‘हाम्रो विद्यालय डाँडोमा छ, अब पानी ल्याउन एक घण्टा तल अर्को खोलामा झर्नुपर्छ,’ उनले भने, ‘विद्यालयका कार्यालय सहयोगीमार्फत पानी बोकेर विद्यार्थीलाई खुवाउने गरेका छौं।’ यो विद्यालयका विद्यार्थीले पिउने पनि खोलाको फोहर पानी नै हो।

वर्षौदेखि खोलाको पानीले तिर्खा मेट्दै आएका नाकाका विद्यार्थीलाई सफा शुद्ध पानी पिउने अवस्था चाँडै नहुने स्थानीय सरकार देख्छ। राजपुर गाउँपालिकाले स्थानीय तहबाट मात्रै नाका क्षेत्रमा पिउने पानीको व्यवस्थापन गर्न नसक्ने बताउँछ।

नाका क्षेत्रमा खानेपानीको व्यवस्थापनका लागि अर्बौ बजेटमा बहुवर्षीय आयोजना सञ्चालन गर्नु पर्ने पालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पाण्डेले बताए। ‘स्थानीय तहको बजेटले त्यहाँ खानेपानीको आयोजना सञ्चालन हुने वातावरण बन्दैन,’ उनले भने, ‘संघीय सरकारले नै बहुबर्षीय आयोजना सञ्चालन गर्न सके मात्रै नाका क्षेत्रमा खानेपानी पुर्‍याउन सकिन्छ।’

प्रकाशित: ४ चैत्र २०८० ०७:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App