१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

एनआरएनसम्बन्धी कानुन अविलम्ब जारी गर्न कानुनमन्त्री सकारात्मक

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले गैरआवासीय नेपालीसम्बन्धी कानुन तथा नियमावली अविलम्ब अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसीसँग शनिबार मन्त्री निवासमा भएको भेटवार्ताका क्रममा मन्त्री गिरीले सो प्रतिबद्धता जनाएका हुन्।

भेटवार्तामा संघका अध्यक्ष डा. केसीले गैरआवासीय नेपाली नागरिकता, दोहोरो कर छुटसम्बन्धी निर्देशिका तत्काल जारी गर्न आग्रह गर्दै गैरआवासीय नेपाली नागरिकता लिएपछि पनि त्यसको कार्यान्वयनमा भएका अड्चनबारे मन्त्रीलाई जानकारी गराएका थिए।

उनले नेपालको संविधानले परिकल्पना गरेको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको नागरिकता प्रत्याभूति हुने गरी सरकारलाई कानुन ल्याउन आग्रह गरेका थिए।

भेटमा मन्त्री गिरीले गैरआवासीय नेपालीसम्बन्धी कानुन तथा नियमावलीलाई प्राथमिकतामा राखेर आवश्यक प्रक्रिया अघि बढाउने आश्वासन दिएका थिए।

नेपाल सरकारले गत अक्टोबरदेखि जारी गरेको गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेका व्यक्तिले अझै पनि नेपाल जाँदा भिसा लिनुपर्ने, मालपोत, अध्यागमन, बैंकलगायत क्षेत्रमा गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनमा समस्या देखिएपछि अध्यक्ष डा. केसीले मन्त्रीको ध्यानाकर्षण गराएका हुन्।

संघले गैरआवासीय नेपाली नागरिकताको सहज कार्यान्वयन र संशोधनका लागि प्रस्तावित गैरआवासीय नेपाली ऐन अघि बढाउन सरकारसँग माग गर्दै आएको छ।

प्रकाशित: २७ फाल्गुन २०८० ०८:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App