२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पाँच लाखले गरे पशुपतिनाथको दर्शन

महाशिवरात्रिको अवसरमा शुक्रबार पशुपतिनाथ मन्दिरपरिसरमा भजनकीर्तन गर्दै भक्तजन। तस्बिर: दिपेश दर्शनधारी/नागरिक

यस वर्ष महाशिवरात्रिमा पशुपतिनाथ मन्दिरको दर्शन सहज रूपमा गर्न पाएको भक्तजनले बताएका छन्। पशुपति क्षेत्र विकास कोषले व्यवस्थित रूपमा भक्तजनलाई मन्दिरभित्र जाने व्यवस्था मिलाएका कारण सहज रूपमा दर्शन सम्भव भएको हो।

विगतमा भक्तजनले महाशिवरात्रिमा पशुपतिनाथको दर्शन गर्दा सास्ती पाएको गुनासो गरेकाले त्यसलाई सम्बोधन गर्न कोषले यसपटक मन्दिरभित्र चार वटा र्‍याम्पको व्यवस्था गरेको थियो। चारवटा र्‍याम्पअन्तर्गतका ९ वटा लाइनबाट भक्तजनले सहज रूपमा दर्शन गर्न पाए। यसपटक दर्शन गर्ने तरिका पनि विगतमाभन्दा फरक थियो।

अग्ला र्‍याम्पमा चढेर पशुपतिनाथको दर्शन गरेर फर्कनुपर्ने व्यवस्था मिलाइएकाले पनि मन्दिरभित्र भीड निकै कम भएको थियो। भक्तजन जुन र्‍याम्पमा चढेर पशुपतिनाथको दर्शन गर्थे, त्यही र्‍याम्पको अर्को तर्फबाट ओर्लन व्यवस्था मिलाइएकाले दर्शन सहज भएको बानेश्वरकी रमा सुवेदीले बताइन्।

‘एक घन्टा लाम बसेर मन्दिरभित्र छिरें, राम्रो व्यवस्था भएकाले छिनमै दर्शन गर्न पाएँ। र्‍याम्प अग्ला हुनाले भगवान् पशुपतिनाथ पनि देखिए,’ सुवेदीले भनिन्, ‘म शिवरात्रिम व्रत बस्छु। पशुपतिनाथको दर्शन गर्न वर्षेनि आउँछु। गत वर्षभन्दा अहिले सहज दर्शन भयो। मन्दिरभित्र भीड पनि भएन। विगतमा झै मन्दिरभित्र दर्शनका लागि सास्ती खेप्नुपरेन।’

बुढानीलकण्ठकी कविता थापाले पनि छिटै दर्शन गर्न पाएको भन्दै खुसी व्यक्त गरिन्। उनले लाममा पनि धेरै कुर्नुनपरेको सुनाइन्। ‘खै यसपटक भीड कम भएर हो कि के हो सहज रूपमा पशुपतिनाथको दर्शन गजबले गरियो,’ उनले भनिन् ,‘मन्दिरभित्र पनि त्यति भीड देखिएन। तर मन्दिर पूरै घुम्न नपाउँदा अलि मन खिन्न भयो।’

यसपटक बागमतीमा सफा पानीको व्यवस्था गरिएकाले कतिपय भक्तजनले नुहाएर मन्दिरभित्र गई पशुपतिनाथको दर्शन गरे। नुहाएर दर्शन गर्न पाउँदा उनीहरू खुसी देखिन्थे। भारतबाट पशुपतिनाथको दर्शन गर्न आएकी आरती शर्मा र उनको परिवारले बागमतीमा नुहाएर दर्शन गरेको बताए।

‘हामी भारतको तीर्थस्थल जाँदा त्यहाँ नुहाउने ब्यवस्था हुन्छ। नेपालको पशुपतिनाथमा पनि बागमतीमा नुहाएर, चोखिएर पशुपतिनाथको दर्शन गर्न पायौं,’ छोराछोरी र पतिसहित आएकी आरतीले भनिन्, ‘निकै खुसी लागेको छ।’

मन्दिरभित्र बसेका नागाबाबाहरू भने निराश देखिन्थे। त्यहाँ रहेका नागाबाबाले र्‍याम्पको व्यवस्थाले भक्तजनहरू मन्दिर परिसर घुम्न नपाउँदा आफूहरूको दक्षिणा कम भएको भएको गुनासो गरिरहेका थिए।

‘हेर्नुस्, हामी भारतबाट दस हजार रूपैयाँ खर्च गरेर आउनुपर्छ। नेपाली जनातकै स्नेहका कारण हामी नागाबाबा पशुपतिनाथको मन्दिरमा वर्षेनि आउने गरेका छौं,’ हिमाञ्चल प्रदेशबाट आएको बताउने नागाबाबा महेश गिरीले भने, ‘एक त गुठी र कोषले पर्याप्त दक्षिणा दिँदैनन्। अर्कोतिर आज भक्तजनहरू छिटोछिटो दर्शन गरेर फर्किरहेका छन्। त्यो पनि जुन र्‍याम्पबाट आए, त्यसैबाट दर्शन गरेर फर्किए। हामीसम्म धेरै भक्तजन आउन सकेनन्।’

उनले चिन्ता व्यक्त गरे, ‘भक्तजनको दक्षिणा पनि पाइएन। हाम्रो आतेजाते खर्च पनि उठ्ने देखिँदैन।’

कोषका अनुसार महाशिवरात्रिका दिन शुक्रबार मन्दिर क्षेत्रमा १० लाखभन्दा बढी भक्तजन उपस्थित भए पनि पाँच लाख हाराहारीले पशुपतिनाथको दर्शन गरेको अनुमान छ।। मन्दिरभित्रको दर्शन व्यवस्थित गराउन कोषका सदस्यसचिव राजु खत्री पनि खटिएको देखियो। उनले ५ लाख हाराहारी भक्तजनले पशुपतिनाथको दर्शन गरेको बताए।

यस पटक करिब ५ सय हाराहारीमा रहेका तामाङ समुदायका झाँक्रीहरूले आफ्नो पहिरनमा परम्परागत नाच नाच्दै मन्दिर परिक्रमा गरेर शिवरात्रीलाई थप भव्य बनाए। विश्व हिन्दु परिषद् काठमाडौं उपत्यकाका अध्यक्ष बाबुशरण सुवेदीले तामाङ समुदायका झाँकीले आफ्नो पहिचान झल्काउने पहिरनमा सजिएर बाजासहित मन्दिर परिक्रममा गरेको बताए। सुवेदीले भने, ‘यसपटकको शिवरात्रि निकै भव्य, सभ्य र व्यवस्थित रूपमा सम्पन्न भयो।’

मन्दिरभित्र चढाइने फूलमालालाई प्रशोधन गरी बनाइएको १३ फिट लामो धूप मन्दिर परिसरमा बालिएको थियो। ‘यस वर्षका केही कमीकमजोरीबाट पाठ सिक्दै आगामी वर्ष महाशिवरात्रि थप व्यवस्थित पार्नेछौं,’ कोषका सदस्य सचिव खत्रीले भने, ‘यसपटक स्वयंसेवक व्यवस्थापनमा हामी केही चुकेको महसुस भयो।’

प्रकाशित: २६ फाल्गुन २०८० ०७:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App