तुलसीपुर उपमहानगरपालिका–४ मजुवाका मुना ओलीलार्ई बाजा बजाउन भ्याइनभ्याई छ। जिल्लामा हुने विभिन्न सभा सम्मेलन, बिहे, पूजाआजामा बाजा बजाउन उहाँलाई भ्याइनभ्याई भएको हो। नौमती बाजा बजाउनेमध्ये एक उनी समूहमा बाजा बजाउँदै हिँड्छिन्। महिला पनि अगाडि बढ्नुपर्छ भन्ने सोचले आफू बाजा बजाउँदै समूहमा हिँड्ने गरेको उनको भनाइ छ।
‘महिला पनि सीप सिकेर अगाडि बढ्नुपर्छ’, उनले भनिन्, ‘हामी बाजा बजाएर अगाडि बढेका छौँ।’ उनी आजभोलि नौमती बाजाको समूहमा बाजा बजाउँदै जिल्लाका विभिन्न ठाउँसहित जिल्लाबाहिर पनि मागअनुसार पुग्ने गरेकी छिन्।
तुलसीपुर उपमहानगरपालिका–४ रक्षाचौरका विष्णु केसीले पछिल्लो समय लोप हुन थालेको नौमती बाजालाई संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले आफूहरूले बाजा बजाउन सिकेको बताइन्। उनका अनुसार अहिले बाजा संरक्षणसँगै दुई–चार रुपैयाँ आम्दानी हुने गरेको छ, सुरुमा बाजा बजाउन सकिँदैन कि भन्ने लागेको थियो तर सिकिसकेपछि अहिले सहज भएको छ। गाउँमा बाजा बजाउने प्रचलन रहेको हुँदा यसलाई लोप हुन नदिन महिलाले सीप सिकेको उनी बताउछिन्।
उनीहरूमात्र होइन, तुलसी महिला नौमती बाजा समूहमार्फत यसमा धेरै महिला जोडिएका छन्। विवाह, व्रतबन्ध, विभिन्न मेलापर्व तथा उत्सवमा बजाइने नौमती बाजा मुख्य बाजा रहेको तुलसी महिला नौमती बाजा समूहका सदस्य विष्णु केसी बताउछिन्। पश्चिमेली संस्कृतिको प्रभाव र युवापुस्ताले चासो नदिँदा नौमती बाजा लोप हुने स्थितिमा छ। तर दाङका महिलाहरू भने नौमती बाजाको संरक्षणमा जुटेका छन्।
बाजा बजाउने चलन पहिलेदेखि भए पनि ग्रामीण भेगमा यो व्यावसायिक बन्न सकेको थिएन। तर तुलसी महिला नौमती बाजा समूहले यसलाई व्यावसायिक बनाएको छ। यो समूह बाजा बजाउन सल्यान, रोल्पा, प्युठान, बुटवल, नेपालगन्जसम्म पुग्ने गरेको समूहका अर्की सदस्य ४४ वर्षीया विमला केसीले बताईन्।
तुलसीपुर उपमहानगरपालिका–४ मजुवा निवासी तथा तुलसी महिला नौमती बाजा समूहका अध्यक्ष कस्तुरा खड्काले आफूहरूले एक दिन बाजा बजाएबापत रु २० देखि ३० हजारसम्म लिने गरेको बताइन्। अध्यक्ष खड्काले बाजा बजाउन थालेको चार वर्ष भयो। यो अवधिमा धेरै ठाउँमा पुगिसकेको बताइन्।
उमेरले ५० वर्ष पुग्नुभएकी उहाँले बाजा बजाएर आएको रकम आधा समूहमा जम्मा गर्ने र आधालाई नौमती बाजा बजाउन पुगेको टोलीलाई आम्दानीअनुसार रु दुईदेखि तीन हजारसम्म दिने गरेको उनको भनाइ छ। सुरुमा सिक्न गाह्रो भए पनि अहिले नौमती बाजा बजाउन कुनै समस्या नभएको अध्यक्ष खड्का बताउछिन्। पछिल्लो समय लोप हुन थालेको नौमती बाजालाई संरक्षण र संवद्र्धन गर्नु सबैको दायित्व भएको उनले बताइन्। उनका अनुसार तुलसीपुर उपमहानगरपालिकाले पनि यस बाजा संरक्षणका लागि महिला समूहलाई तालिमदेखि विभिन्न सहयोगका कार्यक्रम गर्दै आएको छ। रासस
प्रकाशित: ११ माघ २०८२ ११:१३ आइतबार





