१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

सालिन मृत्यु प्रकरणः बलात्कार होइन, शरीरको चोट लडेर लागेको प्रहरीको भनाइ

सालिन पोख्रेलको पोस्टमोर्टम रिपोर्ट आफूहरूलाई जानकारी नगराईकन चितवन पठाइएको विरोधमा त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा प्रदर्शन गर्दै आफन्तलगायत। तस्बिर : नागरिक

चितवनको छात्रावासमा मृत्यु भएकी सालिन पोख्रेलको पोस्टमार्टम रिपोर्टले बलात्कार नभएको देखाएको छ। चितवन प्रहरीका अनुसार पोस्टमार्टममा उनको बलात्कार नभएको पाइएको हो।

सालिनको शवको पोस्टमार्टम काठमाडौं महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा गरिएको थियो। तर उनको शरीरमा चोट भने रहेको रिपोर्टमा देखिएको छ।

उनी मृत्यु हुनुभन्दा दुई दिनअघि लडेर घाइते भएको बुझ्नमा आएको प्रहरीको भनाइ छ। ‘हामीले अनुसन्धान जारी नै राखेका छौं,’ अनुसन्धानमा संलग्न प्रहरी अधिकृत भन्छन्, ‘फरेन्सिक रिपोर्टमा बलात्कार देखिएको छैन। घुँडामा चोट भने देखिएको छ। त्यो चोट के कारणले हो, अनुसन्धान पछि थाहा होला। हामीले उनका साथीहरूसँग बुझ्ने क्रममा दुई दिनअघि उनी लडेर घाइते भएको सूचना पाइएको छ।’ चोट मृत्यु हुने गरेर भएको हो वा होइन भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

एकता शिशु निकेतन बोर्डिङ स्कुलको छात्रावासमा बस्दै आएकी १४ वर्षीया उनी यही फागुन १२ गते बिहान कोठामा मृत अवस्थामा फेला परेकी थिइन्। कोठामा रहेको सिलिङको पंखामा डोरी लगाएर झुन्डिएको अवस्थामा उनको शव फेला परेको थियो। प्रहरीले विद्यालयका प्रधानाध्यापक ६० वर्षीय बालहरि देवकोटा, सहप्रधानाध्यापक ४० वर्षका किरणबहादुर अधिकारी र होस्टेल वार्डेन ४८ वर्षीय कमल शर्मा पौडेललाई मंगलबार पक्राउ गरेको थियो।

चितवन जिल्ला अदालतको आदेशअनुसार अनुसन्धानका लागि उनीहरूलाई सात दिन हिरासतमा लिइएको छ। सालिनको बलात्कारपछि हत्या भएको भनी परिवारजन तथा आफन्तले आन्दोलन गरिरहेका छन्। अहिले सामाजिक सञ्जालमा पनि उनको न्यायका लागि आवाज उठाइएको छ। यता प्रधानमन्त्री पुष्पकमल दाहालले पनि यो घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयलाई निर्देशन दिइसकेका छन्।

प्रहरीले कसरी अनुसन्धान गरिरहेको छ?

चितवन प्रहरीले यस घटनालाई संवेदनशील रूपमा लिएको बताएको छ। भिसिआर, रगतको रिपोर्ट, भेटिएको सुसाइड नोटको रिपोर्ट आउन बाँकी छ। त्यसबाहेक सिसिटिभी, मोबाइल, डिजिटल, फरेन्सिक रिपोर्टलगायत प्रविधिहरूमार्फत सूक्ष्म रूपमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए। उनका अनुसार सालिनले सुसाइड नोटसमेत लेखेकी छन्।

त्यसमा बुवाआमा र साथीभाइसँग क्षमा मागेको उल्लेख छ। ‘हामीले सुसाइट नोटसमेत प्राप्त गरेका छौं,’ उनले भने, ‘पुष्टि गर्न ल्याबमा पठाएका छौं। पीडित पक्षको न्यायमा हामी दिनरात तल्लीन छौं।’ रिपोर्ट आएपछि सबै विषय सार्वजनिक गरिने प्रवक्ता भण्डारीको भनाइ छ।

सिसिटिभी फुटेज हेरेर आमहत्या हो कि होइन भन्ने निष्कर्ष निकाल्नेतर्फ प्रहरी अगाडि बढेको छ। फागुन १२ गते बिहान ९ बजेर ४४ मिनेटमा उनीसँगै बस्ने तीन जना छात्रा नियमित खाना खाने समयमा सँगै तल झरेका थिए। तल झरेको केही मिनेटमै माथि उक्लेर सालिन कापीकलमसहित छात्रावासको कोठाभित्र छिरेको देखिन्छ।

केहीबेर नआएपछि शिक्षकले होस्टलमै बस्ने सानो कक्षाका एक बालकलाई बोलाउन पठाएका छन्। ढोका नखोलेपछि फेरि अर्को एक जना गएका छन्। घटनालाई नजिकबाट हेरिरहेका इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख अनिलकुमार खण्डका भन्छन्, ‘पछि ढोका नखोलेपछि १०ः१९ मिनेटमा शिक्षकहरूले ढोका फोरेका छन्।’

छात्राहरू बस्नेतिर च्यानल गेट भएकाले छात्रा पस्न सक्दैनन्। उनले च्यानल गेटबाटै सालिनलाई ‘दिदी खाना खान आउनुस्’ भनेर बोलाउँदा सालिनले भित्रैबाट ‘तिमी जाऊ म एकछिनमा आउँछु’ भनेर जवाफ दिएको खड्काले बताए। ढोका फोरेर हेर्दा झुन्डिएको देखेपछि उनीहरूले प्रहरीलाई खबर गरेका थिए। उनीसँग १ र ९ कक्षामा पढ्ने छात्रा बस्थे। होस्टेलमा छात्रा ५ र छात्र १२ जना रहेको बताइएको छ।

घटनाको प्रकृति हेर्दा सालिनले आत्महत्या गरेको हुन सक्ने संकेत प्रहरीले गरेको छ। प्रहरीले १४ दिनको सिसिटिभी फुटेजलाई लिएर अनुसन्धान गरिरहेको छ। सो समयमा शिक्षकहरू छात्रावासतर्फ नगएको उनले बताए।

‘हामीले प्रारम्भिक अनुसन्धान गरिरहेका छौं। १४ दिनसम्मको सिसिटिभि फुजेट हेरेका छौं। राति अथवा दिउँसो शिक्षक एक्लै गएको देखिएको छैन,’ जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भण्डारीले भने। उनले वार्डेन, सरसफाइमा खटिने कर्मचारीहरूबाट पनि अनुसन्धान जारी राख्ने बताए।

घटना भएको भोलिपल्ट मृतकका बुवाले गृहमन्त्रीसहित १२ जनाको नाम लिएर किटानी जाहेरी दिन खोजेका थिए। प्रहरीले अनुसन्धानको घेराभित्र नपर्ने देखेपछि उजुरी लिन मानेन। उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठ, एमाले नेता महेश बस्नेत, माओवादी केन्द्रका युवा नेता दीपशिखाका साथै जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख, इलाका प्रहरी कार्यालय रत्ननगरका डिएसपी, प्रहरी निरीक्षकलगायतको नाम उल्लेख गरेर किटानी जाहेरी दिन खोजेका थिए।

उल्लेख गरिएका नाम घटनासँग सम्बन्धित नदेखेपछि प्रहरीले उजुरी लिन नमानेको बताइएको छ। घटना भएको तेस्रो दिन प्रधानाध्यापक, सहायक प्रधानाध्यापक र सुरक्षा गार्डको नाम नै तोकेर उनले किटानी जाहेरी दिए। उनीहरूलाई प्रहरीले घटना भएकै दिन नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो।

सालिन आफ्नो बुवा र आमाबाट अलग थिइन्। उनी चार वर्षको उमेरदेखि नै मामाघरमा बस्दै आएकी थिइन्। १० वर्षअघि नै बुवा र आमा अलग बस्न थालेका थिए। दुई वर्षअघि उनीहरूको औपचारिक डिभोर्स भएको थियो।

प्रकाशित: २१ फाल्गुन २०८० ०६:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App