१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

तीनवटा सवारीसाधन एक आपसमा ठोक्किदा २ जनाको मृत्यु, ३ घाइते

पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मोरङको बेलबारी नगरपालिका–१ र ३ को सिमानामा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। दुर्घटनामा परी अन्य ३ जना घाइते भएका छन्।

आज बिहान साढे ६ बजेतिर टिपर, बस र बोलेरो जीप एक आपसमा ठोक्किएर दुर्घटना भएको मोरङ प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बोलेरोमा ५ जना सवार थिए। ती मध्ये २ जनाको मृत्यु भएको र अन्य ३ जना घाइते भएका छन्।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९६७६ नम्बरको टिपरले पश्चिमतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २७१८ नम्बरको बसलाई सुरुमा ठक्कर दिएको थियो। बसलाई ठक्कर दिएपछि अनियन्त्रित बनेको टिपरले बसको पछिपछि पूर्वबाट पश्चिमतर्फ नै आउँदै गरेको मे १ ज २८५६ नम्बरको बोलेरोलाई ठक्कर दिएको हो।

दुर्घटनामा परेर बोलेरोमा सवार झापाको कमल गाउँपालिका–२ का ५१ वर्षीय यदुकान्त भट्टराई र पहिचान नखुलेकी अन्दाजी ५० वर्षीया महिलाको मृत्यु भएको छ। दुवै जनालाई उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइएको थियो। अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ।

साथमा बोकेको मतदाता परिचयपत्रका आधारमा भट्टराईको पहिचान खुलेको प्रहरीले जनाएको छ। मृतक महिलाको पहिचान भने खुल्न बाँकी छ।

झापाको कमल गाउँपालिका–२ का ५५ वर्षीय हरि खनाल, ५० वर्षीया गायत्री भट्टराई र पहिचान नखुलेका अन्दाजी ४० वर्षीया पुरुषको विराटनगरको न्यूरो अस्पतालमा उपचार भइरहेको छ।

पहिचान नखुलेका पुरुष बोलेरो चालक हुनसक्ने अनुमान गरिएको छ। घाइतेमध्ये ती पुरुष र हरी खनालको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। गायत्रीको अवस्था भने सामान्य रहेको छ।

घटनास्थलबाट ५ जना घाइतेलाई प्रहरीले उद्धार गरेर उपचारका लागि विराटनगर पठाएको थियो। घाइतेमध्ये २ जनाको मृत्यु भइसकेको हो। उपचाररत ३ जनामध्ये २ जनाको अवस्था चिन्ताजनक छ।

दुर्घटनामा परेर बोलेरो जीप पूर्णरूपले क्षतिग्रस्त बनेको छ भने टिपरको अगाडिको भागमा पूर्णरूपले क्षति भएको प्रहरीले जनाएको छ।

बसको भने पछाडिको भागमा सामान्य क्षति पुगेको छ। बसमा सवार सबै जना र टिपर चालक सकुशल रहेका छन्। प्रहरीले टिपर र चालक मोरङको सुन्दरहरैँचा नगरपालिका–७ का २३ वर्षीय चन्द्रबहादुर बिक तथा बस र चालक सुन्दरहरैँचा–१२ का ४५ वर्षीय छत्रकुमार मास्केलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ।

प्रकाशित: १८ फाल्गुन २०८० ०९:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App