१२ श्रावण २०८१ शनिबार
image/svg+xml
समाज

निर्माणको नाममा खेत र कुलाेमाथि जथाभाबी डोजर !

कर्णाली प्रदेश सभाका पर्यटन मन्त्री कृष्णकुमार विसीलाई पहिरो पीडितले आफ्ना मागहरू दिँदै। तस्बिर: गोविन्द केसी/नागरिक

सडक निर्माणको नाममा जथाभाबी डोजर चलाउँदा खेत र सिँचाइ कुलोमा असर परेको भन्दै दैलेखको नारायण नगरपालिका –४ भिरमौरा र ठाडीखोलाका स्थानीयहरुले निर्माणको काम राेक्न माग गरेका छन्।

उनीहरुले निर्वाचन क्षेत्रका सांसद तथा कर्णाली प्रदेश पर्यटन मन्त्रीसँग कृष्णकुमार विसीसँग सडक निर्माणका क्रममा सिँचाइ कुलो भत्केको र खेतीयोग्य जमिन खेती गर्न नसक्ने अवस्थामा पुगेकाे भन्दै मर्मतका लागि सहयोग गर्न अपिल समेत गरे।

मनपरी रुपमा सडक निर्माणकाे नाममा डोजर चलाएर वर्षायाममा पहिरो जाने, पानीका मुहानहरु सुक्ने हुँदा स्थानीय समुदायलाई आफ्नो उत्पादन घटेर परिवार पाल्नै गाह्रो भएको स्थानीय अगुवा तेजबहादुर मल्लले बताए।

भिरमौरामा खेतीपाती मात्र होइन गाउँमा स्थानीयले पिउन प्रयोग गर्ने पानीकाे शुद्ध मुहान समेत बिग्रिएको उनले सुनाए। जसले गर्दा खानेपानीको अभाव गाउँमा उस्तै रहेको उनकाे भनाइ छ।

‘हामी गाउँमा डोजरले वितण्डा मच्चाउँदा कुलो, खानेपानी र खेतीयोग्य जमिनको समस्या लिएर सुर्खेत आएका हाै‌ँ।’ मल्लले भने, ‘प्रदेश सरकारबाट कुलो र तटबन्धको कार्यक्रम गर्ने आश्वासन पाएका छौ।’

नगरले डोजर चलाउँदा गाउँ, खेत तहसनहस भएकाे र नगरले देखे नदेखेजस्तो गरेपछि प्रदेश सरकारसँग गुहार माग्न परेकाे उनको भनाई छ।

खेती योग्य उब्जाउ जमिनहरु अहिले बाँझोमा परिणत भएका छन्। गाउँमा हजाराैँ हेक्टर खेतीयोग्य जमिन नष्ट भई भोकमारी निम्त्याउने अवस्था रहेको दैलेखबाट आएका पहिरो पीडित खाद्य अधिकार समूहका अध्यक्ष टेकबहादुर रानाले बताए।

नारायण नगरपालिकाको भिरमौरामा २०७५ मा गएको पहिरोका कारण सिँचाइ गर्ने कुलो बगाएको थियो। जसले गर्दा ६० रोपनी जग्गा सिँचाइबाट वञ्चित भएको छ। त्यस्तै खानेपानीको मुहानमा पनि पानीको सतह कम हुँदा पहिलेजस्तो पर्याप्त पानी नआउने समस्या देखिएको छ। सडक आउनुभन्दा पहिले पानी पर्याप्त हुन्थे अहिले पानी कम मात्रामा हुँदा समस्या भएकाे स्थानीय गृहिणी पदमाकुमारी मल्लले बताइन्।

नारायण नगरपालिका– ४ ठाडीखोलाका–८ र भिरमौराका–१६ घरधुरी गरेर २४ घरधुरी प्रभावित भएका छन्। उनीहरुको मुख्य पेसा कृषि हाे। पहिराेले जमिन उजाड भएपछि उत्पादन घट्दा समस्या परेकाे उनीहरु बताउँछन्।

पहिले उत्पादन भएको अन्नले उनीहरुलाई १२ महिना खान पुग्थ्यो तर, डोजर चलाएपछि गएको पहिरोले कुलो, खेत नष्ट हुँदा यहाँ स्थानीयहरु वडा, नगर हुँदै प्रदेशसम्म तटबन्ध, सिँचाइ र खानेपानीको योजना माग्न धाइरहेका छन्।

पीडितहरुले ठाडीखोला र भिरमौराका स्थानीयहरूले सिँचाइ कुलोको पुनर्निर्माण, पहिरोले गर्दा पुरिएका खेतीयोग्य जमिनको पुनः व्यवस्थापन, क्षतिपूर्तिको व्यवस्था, पहिरोबाट पुरिएको खेतीयोग्य जमिनको कर मिनाहा, पहिरो नियन्त्रणको लागी विशेष पहल गर्न समेत नगर र प्रदेश सरकारसँग माग गरेका छन्।

प्रकाशित: १५ फाल्गुन २०८० १८:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App