१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पूर्वमन्त्रीसहित १९ विरुद्ध भ्रष्टाचार मुद्दा

लुम्बिनी प्रदेशसभा सदस्य एवं गौतम बुद्ध साझेदारी वन व्यवस्थापन समिति कपिलवस्तुका तत्कालीन अध्यक्ष-संयोजक जानकीप्रसाद यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। 

पाँच वर्षअघि गौतम बुद्ध साझेदारी वन व्यवस्थापन समिति कपिलवस्तुको काठ कटान र बिक्री गर्दा अनियमितता गरेको आरोपमा आयोगले यादवसहित १९ जनाविरुद्ध मुद्दा दायर गरेको हो। यादव राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद हुन्। उनी लुम्बिनी प्रदेश सरकारका पूर्वउद्योग, पर्यटन तथा यातायातमन्त्री पनि हुन्।

वन व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष-संयोजक यादवकै प्रमुख भूमिका र अगुवाइमा सम्पूर्ण प्लटको बोलपत्र आह्वान, ठेकेदार छनोट, सम्झौतासमेत गरी काठ बिक्रीमा हिनामिना गरेको अभियोगपत्रमा उल्लेख छ।

आयोगका प्रवक्ता नरहरि घिमिरेले यादव, तत्कालीन जिल्ला वन अधिकृत कृष्णदत्त भट्ट, डिभिजन वन अधिकृत दुर्गाबहादुर कार्की, कार्यान्वयन एकाइका तत्कालीन संयोजक वन अधिकृत महेन्द्रराज वाग्ले, सहायक वन अधिकृत ब्रह्मदेव महतो, रेन्जर हेमराज पण्डितविरुद्ध मुद्दा दायर गरिएको बताए।

त्यसैगरी अख्तियारले तत्कालीन सहायक वन अधिकृत शिवशंकर प्रसाद, सहायक वन अधिकृत टोलकराज चापागाईं, सहायक वन अधिकृत लालबाबु झा, सहायक वन अधिकृत गणेशकुमार थारु, सहायक वन अधिकृत नागेन्द्रप्रसाद सिंह राजपुत, फरेस्टरहरू रामरक्षा कुर्मी (चौधरी), रमतु चौधरी, वन रक्षकहरू सञ्जय थारु, सञ्जय केवट, रामगोपाल त्रिपाठी, वासुदेव गोडिया, गोरखा काष्ठ फर्निचर उद्योगका सञ्चालक एकनाथ घिमिरे र ए आर काठदाउरा खरिद बिक्री सेन्टरका सञ्चालक गिता जिसीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

‘निज प्रतिवादी जानकीप्रसाद यादवलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा २९ लाख १२ हजार १९३ रूपैयाँ बिगो कायम गरी सोही ऐनको दफा १७ ले निर्देश गरेबमोजिम ऐ. ऐनको दफा ३ को उपदफा (१) को देहाय (छ) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगोबमोजिम जरिवाना गरी पाउन र सोही ऐनको दफा १७ बमोजिम नेपाल सरकारको हानिनोक्सानी भएको बिगो रकम निज प्रतिवादी जानकीप्रसाद यादवबाट असुलउपर गरी पाऊँ’, यादवको हकमा अभियोगपत्रमा उल्लेख छ।

उनीहरूले काठ लुकाएर कम परिमाणको मात्रै देखाएको उजुरी परेको थियो। छानबिनबाट अनियमितता भएको फेला परेको अख्तियारको दाबी छ।

आर्थिक वर्ष २०७४-७५ मा ठेकेदारसमेतले ६ वटा कटान प्लटहरूको ३५ हजार ७७८ क्युफिट काठ र ४९.२३ क्युफिट दाउरा निस्कनुपर्नेमा लुकाई त्यसभन्दा कम परिमाण मात्रै बिक्री गरी भ्रष्टाचार गरेको आयोगको दाबी छ। यादव कपिलवस्तु क्षेत्र नम्बर ३ (ख) बाट निर्वाचित सांसद हुन्।

रुख कटान गरी मिलेमेतामा गोरखा मनकामना काष्ठ फर्निचर उद्योग काठमाडौंलाई बिक्री गरी भ्रष्टाचार गरिएको अख्तियारको दाबी छ। यादवसहित १७ जनालाई २९ लाख १२ हजार १९३ रूपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको छ। अन्य दुईजनाको हकमा बिगो रकम केही कम छ।

प्रकाशित: १० फाल्गुन २०८० ०६:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App