७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

वीरगंजका मेयर राजेशमानकी ‘छोरी’ को जन्मदर्ता पनि ‘किर्ते’ !

किर्ते नागरिकता वैधानिक बनाउन वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले गृह मन्त्रालयको छानबिन समितिलाई दोश्रो श्रीमती भनेर बयान दिएकी महिलाबाट जन्मिएकी छोरी भनिएकी रुबिना श्रेष्ठको जन्मदर्ता समेत ‘किर्ते’ भेटिएको छ।

नक्कली छोरी बनाएर किर्ते नागरिकता दिलाएका मेयर सिंहले समितिको बयानमा रिता भट्टराईलाई आफ्नो दोस्रो श्रीमती भएको बयान दिएका थिए।

भट्टराईकी छोरी रुबिनाको जन्मदर्तामा हस्ताक्षर गरेका स्थानीय पञ्जीकरण भिखारी रायले आफ्नो नाम र हस्ताक्षर किर्ते गरेर जन्मदर्ता प्रमाणपत्र बनाएको पाइएको नागरिकन्यूजलाई बताएका छन्।

पदबाट जोगिन मेयर सिंहले गृह मन्त्रालय समक्ष दिएको बयानको २४ घण्टा नबित्दै दोश्रो भनिएकी श्रीमती रिता भट्टराईलाई आइतबार अंश र डिभोर्स मुद्दा दिन पनि लगाए।

किर्ते गरी हुँदै नभएको छोरीलाई नागरिकता दिलाएका मेयर सिंहले किर्ते कागजात मार्फत २०७१ माघ २० गते तत्कालीन वीरगंज उप–महानगरपालिका कार्यालयबाट जन्मदर्ताको प्रमाणपत्र बनाएको पाइएको छ।

जन्म दर्ताको प्रमाणपत्रमा नाम, थर र हस्ताक्षर उल्लेख गरिएका भिखारी राय भन्छन्, ‘प्रमाणपत्रमा मेरो नाम  राखेर किर्ते गरिएको छ। छ। मैले गर्ने हस्ताक्षरसँग यो कुनैपनि हिसाबले मेल खाँदैन। म जहाँ जुन कार्यालय, अदालतमा भन्नुपरे आफू भन्न तयार छु।’

रायले उक्त प्रमाणपत्रमा गरिएको हस्ताक्षर र आफ्नो हस्ताक्षर फरक रहेको दाबी गरे। ‘यो जन्मदर्ता मेरो हस्ताक्षरबाट जारी भएकै होइन,’ रायले भने, ‘किर्ते स्ट्याम्प र हस्ताक्षर गरेर यो जन्म दर्ता बनाइएको छ।’

यता सोही किर्ते जन्म दर्ताको आधारमा मेयर राजेशमान सिंहले विद्यालयका कागजात, नागरिकता, पासपोर्ट लगायतका सम्पूर्ण कागजात बनाएको हो भन्दै उनले जन्म दर्तामा भएको कीर्तेबारे जुनसुकै निकायमा बयान दिन तयार रहेको बताएका छन्।

राजेशमान सिंहले वीरगंज उपमहानगरपालिका कार्यालय, वीरगंज पर्साको दर्ता नम्बर २३४४ राखेर पारिवारिक लगत विवरण फारम नं। १०६/२०७१/२०७२ बाट जन्मदर्ताको प्रमाणपत्र तयार गरेका थिए। 

जन्म दर्ताको प्रमाणपत्रमा स्थानीय पञ्जिकरणको किर्ते हस्ताक्षर मात्र नभई बुवा भनिएको राजेशमान सिंहको नागरिकता नम्बर र आमा भनिएको रिता भट्टराईको नागरिकता नम्बर समेत गलत उल्लेख छ।

अब यी किर्ते नागरिकता प्रकरणको छानबिन प्रक्रिया थप पेचिलो बन्दै गएपछि शनिबारको दिन गृह मन्त्रालयबाट खटिएको टोलीलाई मेयरले कारबाहीबाट जोगिनको निमित्त आफ्नो दुईवटी श्रीमती रहेको र ती रुबिना भन्ने नक्कली छोरी मेरो सक्कली छोरी हुन भनेर बयान दिएका थिए।

मेयर पदको उम्मेदवार बन्दा निर्वाचन आयोगलाई तथा बैङ्कको केवाईसी फर्म समेतमा पारिवारिक विवरण ढाँटेको आरोप लाग्न थालेपछि मेयर सिंहले बहुविवाह गरेको बयान दिएका थिए। 

यो बयानको २४ घण्टा नबित्दै अर्थात भोलिपल्ट मेयरकी दोस्री श्रीमती रिता भट्टराईले मेयर सिंह आफ्नो श्रीमान् भएको दाबी गर्दै आफ्नो पतिको नाता कायमको हकमा जिल्ला अदालत पर्सामा अंश र छोडपत्रको फिराद दर्ता गराएकी छिन्।

आफू मेयर सिंहको प्रेमिका भएको र उनले आफ्नो छोरीलाई बनाइ दिएको सबै कागजातको कारण पनि आफू श्रीमती भएको पुष्टि हुनेगरी दाबी गर्दै भट्टराईले अंश र छोडपत्रको मुद्दा दायर गरेकी हुन। 

भट्टराईले अदालतमा पेश गरेको विभिन्न महत्त्वपूर्ण कागजातहरूमध्ये जन्मदर्ताको प्रमाणपत्र पनि एक थियो। सोही जन्मदर्ताको विवरण परीक्षण गर्दा स्थानीय पञ्जिकरण अधिकारीले सो विवरण फर्जी भएको बयान दिएका हुन्। 

२४ पुस २०८० मा मेयर सिंहको किर्ते नागरिकता प्रकरणमा विभिन्न सरकारी निकायहरूमा उजुरी परेको थियो।  यसअघिसम्म मेयर सिंहको एक मात्र श्रीमती अन्नपूर्ण मानन्धरले आफू एक मात्र श्रीमती रहेको आफूहरूको एउटा छोरा मात्र रहेको दाबी गर्दै आएकी थिइन्। 

उनी माथि सुरुमा अर्कै युवतीलाई बाबुको हैसियतमा झुटो विवरण पेश गरेर नागरिकता बनाइदिएको आरोप लागेको थियो।

नागरिकता किर्तेमा कारबाही माग गर्दै उनी विरुद्ध जिल्ला प्रशासन कार्यालय पर्सा र जिल्ला प्रहरी कार्यालय पर्सामा समेत जाहेरी दर्ता भएको थियो। तर, जिल्लाका सरकारी निकायहरूले मेयर सिंहलाई कारबाहीको दायरामा ल्याउन सकेका छैनन्। जाहेरी परेको एक महिना पुगी सक्दा पनि छानबिनको दायरामा नपरेका मेयर सिंहले पर्याप्त समय पाउँदा प्रमाण नष्ट गर्न र अनुसन्धान प्रभावित गर्न भरपुर चलखेल गर्दै आइरहेका देखिन्छ।

किर्ते गरेका मेयरलाई पक्राउ नगरी बचाउमा लागेको भन्दै पर्सा स्थानीय प्रशासनको सडकदेखि सदनसम्म आलोचना भइरहेको छ।

पर्सा जिल्ला प्रशासन कार्यालयका प्रमुख दिनेश सागर भुषाल गृह मन्त्रालयबाट छानबिन भइरहेको भन्दै पन्छिन खोज्दै छन्। ‘हामी भन्दा माथिल्लो निकायले अनुसन्धान गरिरहेकाले उहाँहरूले केही न केही गरिहाल्नु हुन्छ’ भन्ने जवाफ सञ्चारकर्मीहरूलाई दिइरहेका छन्।

पुस १४ गते नै मेयरले गरेको किर्ते नागरिकताको समाचार आएपछि विभिन्न ७ वटा निकायमा उजुरी परेपनि गृह मन्त्रालयले छानबिनको नाममा पक्राउ नगरी प्रमाणहरू नष्ट गर्न लगाइरहेको स्थानीय मुकेश द्विवेद्विको ठहर छ। 

एकमात्र श्रीमती र एकमात्र छोरा रहेको राजेशमान सिंहकी श्रीमती अन्नपूर्ण मानन्धरले स्वकार गरेपनि मेयर सिंहले रुबिना श्रेष्ठ नाम गरेकी युवतिलाई आफै बाऊ बनेर नागरिकता बनाइदिएका थिए। ‘फौजदारी कसुर गरेका मेयर सिंहलाई ऐन अनुसार तत्काल पक्राऊ गरेर अनुसन्धान गर्नुपर्ने थियो तर उन्मुक्ति दिएर प्रमाणहरू नष्ट गर्न सरकार नै लागिरहेको छ’, उनले भने।

यस्तै वीरगंज महानगरपालिका वडा नम्बर २० का वडा अध्यक्ष रामसिंह परागले ‘मेयर सिंहले नैतिकताको आधारमा पदबाट राजीनामा दिएर छानबिनमा सहयोग गर्नुपर्नेमा गृह मन्त्रालयको टोली समक्ष दोस्रो श्रीमती समेत रहेको बयान स्विकार्नु योजना अनुसार हो र छोडपत्रको निवेदन दिन लगाएको’ बताए।

यस्तै वीरगंज महानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष मनोज राउत कुर्मीका अनुसार दोस्री श्रीमती भनिएकी रिता भट्टराई र मेयर राजेशमान सिंह कुनैपनि विवाह दर्ता वा कागजातहरूमा कहीँ कतै नाम प्रमाणहरू छैन। अदालतबाट छोडपत्र गराएपछि मेयर सिंहको श्रीमती भनेर रिता भट्टराई प्रमाणित भएपछि फौजदारी कसुर नलाग्ने भएपछि मेयर सिंहले कानुनबाट बच्न छोडपत्र गराउन लागेको उनको आरोप छ। 

प्रकाशित: २९ माघ २०८० १६:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App