भारतीय राज्य आन्ध्र प्रदेशले बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने तयारी गरेको छ। अनलाइन लत, दुरुपयोग र बढ्दो स्क्रिन समयको चिन्ताबिच यो कदम चालिएको हो।
सूचना प्रविधि मन्त्री नारा लोकेशले सामाजिक सञ्जालप्रतिको विश्वास ‘बिग्रँदै गएको’ बताउँदै बालबालिकाहरूले यसमा अत्यधिक समय खर्चिरहेको चेतावनी दिएका छन्।
‘सरकारले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ,’ उनले सामाजिक सञ्जाल एक्समा विज्ञप्ति जारी गर्दै भनेका छन्। अधिकारीहरूलाई उमेरअनुसार पहुँच लागू गर्न कानुनी उपकरणहरू अध्ययन गर्ने आदेश दिएका छन्।
भारतमा लगभग एक अर्ब इन्टरनेट प्रयोगकर्ता छन्। आन्ध्र प्रदेशका अधिकारीहरूले मेटा, गुगल, एक्स र स्न्यापच्याट जस्ता प्रमुख प्लेटफर्महरूसँग विश्वव्यापी उत्तम अभ्यासबारे छलफल गर्न सुझाव दिएका छन्।
यो कदम गोवा राज्यमा पनि यस्तै छलफलपछि आएको हो। लोकेशले महिलाहरूले निरन्तर अनलाइन दुरुपयोगको सामना गरिरहेको बताउँदै यसलाई बेवास्ता गर्न नसकिने उल्लेख गरेका छन्।
राष्ट्रिय आर्थिक सर्वेक्षणले पनि बालबालिकाको स्क्रिन समयबारे दिशानिर्देश सिफारिस गरेको छ। युवा प्रयोगकर्ताहरू बाध्यकारी प्रयोग र हानिकारक सामग्रीको बढी जोखिममा रहेको जनाइएको छ।
विश्वव्यापी रूपमा नाबालिगहरूको सामाजिक सञ्जाल प्रयोगमा छानबिन बढेको छ। अस्ट्रेलियाले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइसकेको छ भने फ्रान्सेली सांसदहरूले पनि यस्तै विधेयक अनुमोदन गरेका छन्। युरोपेली संघलगायत अन्य देशहरूले पनि यस्तै कदम विचार गरिरहेका छन्। एएफपी
प्रकाशित: १६ माघ २०८२ ०९:१५ शुक्रबार





