२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

पशुपतिनाथका ६ पोखरी गायब

पशुपतिनाथ मन्दिरको स्वामित्व रहेका नौवटा पोखरीमध्ये ६ वटा पोखरी नै गायब भएका छन्। करिब सय वर्षअघि बनेको अनुमान गरिएका ती पोखरीहरू हराएपछि अहिले पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरूले त्यसको खोजबिनमा जुटेका छन्।  

‘करिब एक सयदेखि ७० वर्षअघि बनेका पशुपतिनाथ मन्दिरका नौवटा पोखरीलाई पहिलेकै अवस्थामा फर्काउने तयारी भइरहेको छ,’ कोषका सदस्यसचिव राजु खत्रीले भने, ‘अहिले गायब भएका पोखरीको खोजबिन भइरहेको छ।’  

विकास कोषका अनुसार ती सबै पोखरी करिब तीन/तीन आनामा बनेका पाइएका छन्। यी सबै पोखरी हाल काठमाडौं महानगरपालिका ७ र ८ नम्बर वडा तथा साविकको पशुपति गाउँपञ्चायतमा रहेको रहेको पाइएको छ।

यी पोखरीमध्ये धर्मशाला पोखरी वनकाली, राजराजेश्वरी पोखरी, हंशमण्डप पोखरी, बनकाली पोखरी र भण्डारखाल पोखरी पशुपति क्षेत्रभित्रै रहेको पाइएको छ। तर यी सबै पोखरी पहिलेको अवस्थामा छैनन्।

विकास कोषका अनुसार गुह्येश्वरी पोखरी भने अझै भेटिएको छैन। यसले ओगटेको जग्गा समेत नभेटिएको कोषका पदाधिकारीहरूको भनाइ छ। कोषका एक पदाधिकारीका अनुसार पशुपतिका पोखरीका नौ पोखरी तथा मन्दिरको स्वामित्वमा रहेको जग्गा खोज्न पर्यटन तथा संस्कृति मन्त्री सुदन किरातीले चासो देखाएका छन्। यसका लागि उनले अधिकारसम्पन्न समिति समेत बनाएका छन्।

तीन रोपनी ६ आनामा बनेको लामपोखरी, तीन रोपनी आठ आनामा बनेको ढाँचा पोखरी, पहिलेको अवस्थामा छैन। यद्यपि यी पोखरी रहेको जग्गा भेटिएको छ। तर परापुर्व कालमा रहेको लेब पोखरी रहेको दुई आना जग्गा अझै भेटिएको छैन। यी तीन पोखरीहरूमध्ये ढाँचा पोखरी, लाम पोखरी र लेब पोखरी पशुपति क्षेत्र भन्दा बाहिर रहेको  पाइएको छ।

विकास कोषका एक पदाधिकारी भन्छन्, ‘परापूर्वकालमा पशुपति मन्दिरका नौ पोखरी, नौ ढोका (खाँवा), नौ इनार, नौ पाटी र नौ जात हुन्।’

यसैगरी, मन्दिरका नौ डवली, नौ धारा, नौ शक्तिपीठ, नौ टोल र नौ मूली हुन्। अहिले यी सबै गायब भएका कोषका पदाधिकारीहरूको भनाइ छ। कोषका अनुसार अहिले पशुपति मन्दिर अगाडि बनेको मुख्य गेट परापूर्वकालको गेट होइन। यो गेट तत्कालिन राजा महेन्द्रको पालामा बनेको पाइएको छ। यस गेट बनाउँदा कंक्रिट र फलाम प्रयोग गरेको पाइएको छ।

परापूर्वकालमा बनेको नौ गेट पूर्ण रूपमा हराएका तर त्यसका केही चिह्न भेटिएको कोषका पदाधिकारीहरूको भनाइ छ। परापूर्वकालमा बनेका गेटहरूका भने क्रंकिट, फलाम प्रयोग भएको पाइएको छैन।

कुल जग्गा तीन हजार ६ सय ६७ रोपनी

पशुपति मन्दिरको स्वामित्वमा रहेको जग्गा खोज्न विभिन्न मितिमा विभिन्न समिति बन्दै आएका छन्। ठूलो परिमाणमा अहिले पनि पशुपति मन्दिरको जग्गा अतिक्रमण भएको भेटिएको छ।

कोषका अर्का पदाधिकारीका अनुसार मन्दिरको स्वामित्वमा अहिले तीन हजार ६ सय ६७ रोपनी, चार आना तीन पैसा जग्गा भेटिएको छ। त्यस बाहेक एक हजार पाँच सय पाँच रोपनी जग्गा अतिक्रमणबाट प्राप्त भएको छ।

पशुपतिको स्वामित्वमा रहेको दुई सय ३१ रोपनी १० आना जग्गा खोज्न अझै बाँकी रहेको कोषका पदाधिकारीहरूको भनाइ छ। उनीहरूका अनुसार यस परिमाण बराबर जग्गा पशुपति मन्दिरको रेकर्डमा रहेको देखिएको छ तर लगत प्रमाणित हुन बाँकि छ।

 कोषका अनुसार एक हजार एक सय ६१ रोपनी चार आना तीन पैसा जग्गा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले प्रयोग गरिरहेको छ। यसैगरी तारागाउँ विकास समिति मोही रहेको १७ रोपनी जग्गा भेटिएको छ।

प्रकाशित: २५ माघ २०८० १०:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App