१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

‘विश्वकै बालबालिका जोखिममा’

वसन्तबहादुर कुँवर, महानिरीक्षक, नेपाल प्रहरी

 नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले बालबालिकाहरू विश्वमै संवेदनशील र जोखिममध्येको समूहमा रहेको बताएका छन्।

प्रहरी नागरिक साझेदारी अभियान नेपालको भरतपुर–५ मा शनिबार आयोजित दोस्रो साधारणसभा तथा पहिलो अधिवेशनलाई सम्बोधन गर्दै महानिरीक्षक कुँवरले पारिवारिक तथा सामाजिक कारण पनि बालबालिकाहरू जोखिममा पर्ने गरेको उनले बताए। उनले पारिवारिक असमझदारी, झगडा, कुनै देशबीच हुने युद्धका कारण सधैं उच्च जोखिममा जाने हिंसा शोषण र दुव्र्यवहार सहन बाध्य हुने गरेको बताए।

‘उनीहरू नबोलेर पीडा व्यक्त गर्न सक्दैनन् भने वयस्कले जस्तो विरोध गर्न पनि सक्दैनन्,’ उनले भने, ‘राज्यको नीति निर्माण गर्ने तह यो विषयमा गम्भीर हुन जरुरी छ।’

‘पिटुसिटु’ कुनै पनि सडक बालबालिकाले सडकमा बस्न बाध्य हुनु नपरोस् भन्ने उद्देश्यका साथ स्थापना गरिएको संस्था हो। पिटुसिटु स्थापनामा कुँवरको पनि महत्त्वपूर्ण भूमिका छ। उनी चितवनमा एसपी भएर आउँदा सो संस्था स्थापना भएको थियो। कार्यक्रममा संस्था स्थापना गर्न भूमिका निर्वाह गरेकोमा महानिरीक्षक कुँवरलाई साधारणसभा तथा अधिवेशनको अवसर पारी सम्मान गरिएको थियो।

भरतपुर महानगरपालिकाले पिटुसिटुमा रहेका बालबालिकालाई विगत तीन वर्षदेखि वार्षिक रूपमा प्रति बालबालिका ४० हजार रूपैयाँ सहयोग गर्दै आइरहेको छ। नेपालमै पहिलो पटक प्रहरी नागरिक साझेदारीमा सात वर्षअघि सञ्चालनमा ल्याइएको केन्द्रमा हाल नौ बालबालिका आश्रित छन्।

प्रकाशित: १४ माघ २०८० ०२:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App