१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

विमानस्थलमा नेपाल प्रहरी र सशस्त्रबीच विवाद किन ?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल यात्रु आगमन कक्षको सुरक्षा जाँचमा सशस्त्र प्रहरी परिचालन गरिएपछि नेपाल प्रहरी र सशस्त्रबीच कार्यक्षेत्र विवाद सुरु भएको छ।

अन्तर्राष्ट्रिय सीमा सुरक्षाको कार्यदेश अनुसार विमानस्थल सुरक्षामा सशस्त्र प्रहरी खटाउन कार्यक्षेत्र स्पष्ट नतोकिदा विवाद उत्पन्न भएको हो।

निजी कम्पनीका सुरक्षाकर्मी भाडामा लिएर विमानस्थल सुरक्षा जाँच हुँदै आएकोमा विमानस्थल भन्सार कार्यालयले सशस्त्र प्रहरीलाई यात्रु आगमन कक्षको सुरक्षा जाँचका लागि खटाएको थियो।

नीजि सुरक्षाकर्मीहरुले जाँच गर्दै आएको क्षेत्रमा नेपाल प्रहरीले भूमिका खोजेको तर अहिले सशस्त्र प्रहरीले त्यही भूमिका पाएपछि असन्तुष्ट बनेको हो।

सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयकै कमान्डमा हुने गरी अन्तर्राष्ट्रिय टर्मिनल आगमन कक्षमा ३० सशस्त्र प्रहरी परिचालन गरिएको जनाएको छ। सुरक्षा जाँच थप प्रभावकारी बनाउन भन्सार प्रमुखकै कमान्ड हुने गरी सशस्त्र प्रहरी परिचालन गरिएको भएपनि नेपाल प्रहरीले यसअघि नै सो भूमिका खोजेको थियो।

गृहमन्त्रालयका प्रवक्ता सहसचिव नारायण भट्टराईले दुवै निकायले समन्वयमै कार्य गर्ने बताए। ‘विवाद भन्ने हुँदैन, समन्वयमै काम हुन्छ, सुरक्षा अवस्था झन चुस्तदुरुस्त हुन्छ’, भट्टराईले भने। उता सशस्त्र प्रहरीले पनि कार्यक्षेत्र विवाद भएको विषयलाई अस्वीकार गर्दै आएको छ।

सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले सशस्त्र प्रहरीलाई सरकारले दिएको म्याण्डेट अनुसार परिचालन भएको बताए।

विमानस्थलबाट करिब ६१ किलो सुन बरामद भएपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल प्रहरी परिचालन गर्न खोजेका थिए। उनले त्यसक्रममा भन्सार कार्यालयको पनि नीरिक्षण गरेका थिए। तर अर्थमन्त्रालयले आफ्नो कार्यक्षेत्र भन्न थालेपनि श्रेष्ठ पछि हटेका हुन्। अहिले भन्सार विभागले सशस्त्रलाई परिचालन गर्न चाहेपछि प्रहरी नीरिक्षकको कमाण्डमा खटिएको हो।

सरकारले दिएको अन्र्तराष्ट्रिय सीमा सुरक्षाको कार्यदेश अनुसार सशस्त्र प्रहरी परिचालन भएको यसमा नेपाल प्रहरीसँग विवाद हुनपर्ने कुनै कार्य नभएको जनाउदै आएको छ। ‘सुरक्षा अंगबीच पूरै समन्वयमा काम हुन्छ, सशस्त्रले कार्यदेश अनुसारको जिम्मेवारी पूरा गर्ने हो विमानस्थलमा खटिएका सुरक्षा अंगसँगको समन्वयमै काम हुने भएकाले हामीबीच कार्यक्षेत्र विवाद भनेर एकले अर्कालाई उचाल्नुको अर्थ छैन’, सशस्त्रका सहायक प्रवक्ता थापाले भने।

विमानस्थल सुरक्षा गर्न नेपाल प्रहरी डीआईजी नेतृत्वमा त्रिभुवन विमानस्थल सुरक्षा कार्यालय नै छ। विमानस्थल सुरक्षामा खटिएका प्रहरीका उच्च अधिकारीहरु बेला बखत विवादमा मात्र आएका छैनन उनीहरु कारवाहीको भागिदार समेत बनेको अवस्थामा सशस्त्र प्रहरीलाई पनि विमानस्थल पठाइएको हो।

प्रकाशित: ८ माघ २०८० ०२:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App