१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

हेटौँडाको मन्दिर र गुम्बामा पूर्व राजाले गरे पूजापाठ

हेटौँडामा पूर्व राजा शाहलाई स्वागत गर्दै।

पूर्व राजा ज्ञानेन्द्र शाहले आइतबार हेटौँडामा रहेको विभिन्न मन्दिर तथा गुम्बामा पुगेर दर्शन तथा पूजापाठ गरेका छन्। हेटौँडा आइपुगेका उनी तीन स्थानको धार्मिक क्षेत्रमा पुगेका हुन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कार्यकर्ता तथा सर्वसाधारणको तामझाम स्वागतकाबीच उनले हेटौँडाको विभिन्न धार्मिक क्षेत्रमा पुगेर पूजापाठ गरेका छन्। विभिन्न शक्तिपिठको दर्शन गर्ने क्रममा पूर्व राजा शाह हेटौँडा आइपुगेका हुन्। उनको स्वागतमा राप्रपाका नेता कार्यकर्ता, समर्थक तथा शुभेच्छुकहरूले ठाउँ ठाउँमा स्वागत गेट बनाएर घडा थापेका थिए। बारा हुँदै हेटौँडा आएका शाहले मकवानपुर र बाराको सिमानामा रहेको चुरियामाई मन्दिरको दर्शन गरेका थिए।

शुभेच्छुक तथा समर्थकको स्कटिङका बीच हेटौँडा बजार प्रवेश गरेका उनले हेटौँडा १३ नम्बर वडामा रहेको गुम्बामा केहीबेर पूजाआजा गरेका थिए। पदमपोखरीबाट फर्किएर उनी हेटौँडा १० मा रहेको भूटनदेवी मन्दिरको दर्शनका लागि पुगेका थिए। मन्दिर र गुम्बाको दर्शन पछि उनले दिउँसो हेटौँडाको ५ नम्बर वडामा रहेको हेटौँडा रिसोर्टमा राप्रपाका विशिष्ट नेता र उनको स्वागत सत्कारका लागि खटिएकाहरुसँग भेटघाट कार्यक्रम गरेका छन्। राप्रपाका नेता एवम् प्रतिनिधि सभा सदस्य दीपकबहादुर सिंहको नेतृत्वमा गठित समितिले शाहको स्वागत सम्मान गरेको थियो।

शाहको स्वागतका लागि राप्रपाका नेता एवम् प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाही लगायतका नेताहरू समेत हेटौँडा आएका थिए। पूर्व राजाको स्वागतका लागि राप्रपाका सांसद सिंहको संयोजकत्वमा एक हजार ११ सदस्यीय समिति गठन भएको थियो। शाहको स्वागतका लागि तराईका विभिन्न जिल्लादेखि कार्यकर्ता एवम् सर्वसाधारण हेटौँडा आएका थिए। 

राजा लेखेको ब्यानर सच्याइयो

पूर्व राजा शाह हेटौँडा आउने भएपछि राप्रपा मकवानपुरले स्वागतका लागि तामझाम गरेको थियो। माइकिङ, स्वागत गेट निर्माण लगायतका कार्यलाई तीव्र पारेको थियो। माइकिङको क्रममा ‘राजा ज्ञानेन्द्र बीर विक्रम शाह’ हेटौँडा आउने भनेर प्रचार गरिएको थियो भने स्वागतार्थ निर्माण गरिएको गेटमा ‘राजा’ लेखिएको थियो। गेटको ब्यानरमा ‘राजा’ मात्र लेखिएपछि विवाद भएको थियो। विवादपछि ‘राजा’ शब्द सच्याएर पूर्व राजा बनाइएको थियो। बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले प्रहरीलाई उक्त ब्यानर हटाउन निर्देशन दिएका थिए। पछि ब्यानरमा ‘राजा’को अगाडि ‘पूर्व’ थपेर ‘पूर्व राजा’ नै लेखिएको थियो।

प्रकाशित: ७ माघ २०८० १२:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App