१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

कर्णालीमा बढ्दै आपराधिक घटना!

२०७९ मंसिर २० मा सुर्खेतको पञ्चपुरी नगरपालिका–३ तोक्माका ३८ वर्षीय पुरुषले आफ्नै श्रीमतीको हँसिया प्रहार गरी हत्या गरे। हत्यापछि श्रीमतीको टाउको प्लास्टिकमा लिएर प्रहरीसामु जाँदै गर्दा प्रहरीको उक्त पुरुषलाई बाटैबाट नियन्त्रणमा लियो। सामाजिक सञ्जालमा चर्चा पाएको उक्त तस्बिरको वास्तविकता भने फरक थियो।

अम्मरबहादुर लामो समय दुबई र मलेसिया गरी आठ वर्ष वैदेशिक रोजगारीमा गएका थिए। गत वर्षको भदौमा मात्रै उनी स्वदेश फर्किएका हुन्। प्रहरीका अनुसार उनले विदेशबाट पठाएको पैसा श्रीमतीले हिनामिना गरेको भन्दै विवाद भएपछि उनले श्रीमतीलाई शंका, उपशंका गर्ने गरेका रहेछन्। त्यही विषयलाई लिएर सो घट्ना भएको प्रहरीको अनुसन्धानमा देखिन्छ। अम्मरबहादुर अहिले जेल चलान भएका छन्।  

गत वैशाख २३ मा बलात्कार आरोपमा फरार रहेका एक अभियुक्त पक्राउ गर्न जाँदा गाउँलेले प्रहरी र पीडित परिवारमाथि आक्रमण गरे। बलात्कार आरोपी कालिकोट जिल्लको पलाँता गाउँपालिका–६ सैनका ३१ वर्षीय शंक बुढालाई पक्राउ गर्न गएको प्रहरीमाथि गाउँलेले आक्रमण गरेका थिए।

वैशाख २३ गते बिहान साढे ६ बजेतिर बुढालाई प्रहरीले हत्कडी लगाएर सदरमुकाम ल्याउने क्रममा स्थानीयले प्रहरीमाथि आक्रमण गर्दा दुईजना घाइते भए।

गाउँलेहरूको आक्रमणबाट स्थायी प्रहरी पोष्ट करदेबका असई लक्ष्मीरुद्र रावत र पीडित परिवारका सदस्य धनमान विक घाइते नै भए फरार शंक बुढालाइ प्रहरीले १३ दिनपछि पक्राउ गरी अनुसन्धान सुरु गर्‍यो। शंकसहित १६ जना लाई प्रहरीले पक्राउ गर्‍यो।

प्रहरीका अनुसार बुढाले २०७९ असोज ३१ गते गाउँकै एक दलित महिलामाथि बलात्कार गरेका थिए। पीडित परिवारले गत कात्तिक ९ गते जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएको थियो। त्यसयता फरार रहेका बुढा घरमा आएको जानकारी पाएपछि वैशाख २३ गते बिहान ४ बजे उनलाई पक्राउ गर्न असई रावतसहित चार जना प्रहरी टोली गएको थियो। प्रहरी पुग्दा घरमै सुतिरहेका बुढालाई प्रहरीले हत्कडी लगाएर जिल्लातर्फ ल्याउने क्रममा गाउँलेले आक्रमण गरेका थिए।

यस्तै, गत कात्तिक ८ गते छाँयानाथ रारा नगरपालिका–६ मुन्दुका दीपक बोहोराको सारा सपना तुहियो। उनले श्रीमती श्रीदेवीलाई मात्रै होइन, ११ वर्षीय छोरा मनोज, सात वर्षिया छोरी अप्सार र भर्खरै पाँच महिनाका छोरा रहरलाई सधैंका लागि गुमाए। आफन्तले नै उनीहरूको विभत्स हत्या गरेका थिए।  

कतारमा हुँदा उनले दिनहुँ श्रीदेवीसँग भिडियो कल गर्थे। हरेक कुराकानीमा छिट्टै घर फर्किएर ऋण सापट गरेर घर बनाउने सल्लाह हुन्थ्यो उनीहरूको। श्रीमतीसँगको भिडियो कुराकानी सम्झिँदा उनी भावविह्ल बन्छन्।

‘छोराछोरीलाई बजारको बोर्डिङ स्कुलमा पढाउनुपर्छ भन्थिन्। छोरीले झुम्का र छोरोले मोबाइल ल्याइदिनु भन्थे,’ आँशु चुहाउँदै दीपक सम्झिन्छन्। छोराछोरीको कुरा टार्न नसकेरै कतारबाट सधैंका लागि जेठ–असारमा घर फर्किने योजना बनाएका थिए दीपकले।

दीपकलाई कात्तिक १० गते बिहानै दाइकी छोरीले भिडियो कल गरेकी थिइन्। भिडियो कलमा उनी रोइनमात्र,केही बोल्नै सकिनन्। दाई छोरीहरू रुँदै भिडियो कल गरेपछि दीपकको मन अत्तालियो। बल्लतल्ल हिमत गरेरे छोरीहरूले घटना सुनाएकी रहिछन्। घटना सुनेर छानोबाट खसेजस्तै भएका थिए दीपक। ८ गते अबेर रातसम्म भिडियोकलमा श्रीमती र छोराछोरीसँग कुरा भएको उनी सम्झिन्छन्।

‘पापीले मेरा सबै योजना र सपना चकनाचुर बनाइदिए। घर न घाटको भएँ। के गर्ने ? कहाँ जाने सका लागि के गर्ने?,’ उनले भनिन्। देवीका मामाको छोरा हुन् भने गोर्खबहादुर नातामा दीपकका अकंल पर्छन्।

‘दुवैजनासँग मेरो कुनै रिसइबी, लेनदेन थिएन। भीसा पठाउन सहयोग नगरेको भन्दै हत्या गर्न पहिलादेखि नै हत्याको योजना बनाएका रहेछन्।

अहिले उनीहरू कारागार छन् तर दीपक बोहोराको राहारामा कोही छैन।

पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाका भरत बुढाले आफ्नी बहिनी बलात्कृत भएको बताउँदै कात्तिक १५ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिए। जाहेरीमा मामा घरमा रहेकी बहिनीलाई असोज २७ गते घरमा बोलाएर बुवा नयाँराम बुढाले बलात्कार गरेको उल्लेख थियो।

बुवाबाटै छोरी बलात्कृत भएको जाहेरी आएपछि प्रहरी नयाँरामलाई खोज्न उनको गाउँ पुग्यो। जाहेरी दर्ता हुँदासम्म उनी भारत पुगिसकेका थिए। सोही ठाउँमा सोमबार राति अर्को घटना भयो। बुवाबाटै बहिनी बलात्कृत भएको जाहेरी दिने भरत मृत अवस्थामा फेला परे।

प्रहरीका अनुसार बहिनी बलात्कृत भएको भनिएकै ठाउँ नजिकै भरतको शव फेला परेको हो। प्रहरीको प्रारम्भिक अनुसन्धानले छोरी बलात्कार आरोपी नयाँरामलेनै आफूविरुद्ध जाहेरी दिने छोराको हत्या गरेको देखाएको छ।

प्रहरीका अनुसार नयाँराम १७ वर्षीय छोरा र १५ वर्षीय छोरीको हत्या गर्ने योजना बनाएरै पुस २७ गते भारतबाट हिँडेका थिए। उनी सोमबार गाउँ पुगेको देखिन्छ। नयाँराम गाउँनजिकैको जंगलमा दिउँसो लुकेर राति भएपछि घर पुगेको आशंका प्रहरीको छ।

प्रहरीका अनुसार जाहेरी नदिन सुरुमा नयाँरामले छोरालाई दबाब दिएका थिए। जाहेरी दिएमा दाइ–बहिनी दुवैलाई मार्ने धम्की उनले दिँदै आएका थिए। बुवाको धम्कीका कारण घटना भएदेखि बहिनीलाई एक्लै छोडेका थिएनन्। भरतकी आमा दोस्रो विवाह गरेर गएपछि नयाँरामले पनि दोस्रो विवाह गरेका थिए।

बुवाले दोस्रो विवाह गरेपछि भरतकी बहिनी मामा घरमा बस्दै आएकी थिइन्। उनलाई घरमा भेट्न बोलाएर नयाँरामले बलात्कार गरेको भरतले दिएको जाहेरीमा उल्लेख छ। छोरी बलात्कारपछि घरबाट श्रीमतीसहित भागेका उनी माघ १ गते गाउँ पुगेको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार उनी नेपाल आएर भारतमा रहेकी श्रीमती र ससुरालाई फोन गरेका थिए। राति १२ देखि १ बजेको समयमा हत्या गरेर उनी फरार रहेका उनीलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय सुर्खेतको संयुक्त टोलीले आज बिहान ९ बजेतिर कैलालीको टीकापुरबाट उनलाई पक्राउ गरेको छ।

वैदेशिक रोजगारीका कारण पारिवारिक सम्बन्धमा आएको विचलन, आर्थिक लेनलेन, आर्थिक प्रलोभनलगायतका कारण अहिले आपराधिक घटना बढ्दै गएको प्रहरीको भनाइ छ।  

प्रकाशित: ५ माघ २०८० ०३:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App