१२ श्रावण २०८१ शनिबार
image/svg+xml
समाज

माओवादी नेतृत्वकै कारण १५ वर्षदेखि फरार पञ्चा सिंह

१५ वर्षअघि सुर्खेतको वीरेन्द्रनगरमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको विषयलाई लिएर भएको विवादमा जन माविमा अध्ययनरत कालिकोटका युवक राजबहादुर मल्ल (१७)को हत्या भयो। उनलाई तत्कालीन माओवादीको जनमुक्ति सेनाको छैठौं डिभिजनमा कार्यरत लडाकु र माओवादी निकटको अखिल क्रान्तिकारीका कार्यकर्ताहरूले हत्या गरेका थिए।

छोराको हत्यापछि बुवा नन्दबहादुर मल्लले किटानी जाहेरी दिए। घटना भएको १५ वर्ष हुँदा पनि अहिलेसम्म अभियुक्तहरू पक्राउ पर्न सकेका छैनन्। यो अवधिमा कर्णाली प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुर्खेतले ३१ वटा अनुसन्धान टोली गठन गर्‍यो।

जिल्ला अदालतले घटनामा संलग्नहरूविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ। तर, अभियुक्तहरू पक्राउ पर्न सकेका छैनन्। यसको एउटै कारण हो, अभियुक्तहरू राजनीतिक पहुँचमा रहनु।

प्रहरीका अनुसार हत्या घटनामा माओवादीनिकटको अखिल क्रान्तिकारीका हालका केन्द्रीय अध्यक्ष पञ्चा सिंहसहितका माओवादीका नेता–कार्यकर्ताको संलग्नता छ। २०७९ साउन १३ गते मृतकका बुवाले प्रहरीमा दिएको जाहेरी अनुसार क्रान्तिकारीका अध्यक्ष सिंहसहित ४५ जना माओवादी कार्यकर्ताहरूले भारतबाट नक्कली शैक्षिक प्रमाणपत्र ल्याएर सुर्खेत क्याम्पसमा भर्ना भएका थिए।

‘यो विषयमा मेरो छोराले आवाज उठायो, उनीहरूको भर्ना रद्द भयो,’ जाहेरीमा भनिएको छ, ‘त्यसपछि मेरो छोरालाई सिंहको नेतृत्वमा मार्ने योजना बनेको देखिन्छ।’

जाहेरीमा २०६५ माघ ११ गते सुर्खेतको वीरेन्द्रनगर–३ स्थित तातापानीमा आफन्तको घरमा बसिरहेको बेला तत्कालीन क्रान्तिकारीकी केन्द्रीय सचिवालय सदस्य सिंहले तत्कालीन जनमुक्ति सेनाको गाडी र लडाकुहरूलाई ल्याएर घर घेरा हालेका थिए।

 ‘सिंहको नेतृत्वमा तत्कालीन जनमुक्ति सेनाका लडाकुहरूले घर घेरा हालेपछि झ्यालबाट भागेर छोरा नेपालगञ्ज पुगेको थियो,’ बुवाले दिएको जाहेरीमा भनिएको छ, ‘केही समयपछि राष्ट्रिय मानव अधिकार आयोगको क्षेत्रीय कार्यालय र इन्सेकको सहजीकरणपछि छलफलपछि छोरा सुर्खेत आएको थियो।’

सुर्खेत आएको केही समयपछि २०६५ फागुन २६ गते बेलुका ८ बजेतिर सुर्खेत बसपार्कमा खाना खाएर कोठातर्फ जाँदै गरेका राजबहादुरमाथि आक्रमण भयो। खुकुरी प्रहारबाट गम्भीर घाइते भएका राजबहादुरको बुद्धपथको देउती अस्पतालमा उपचारकै क्रममा मृत्यु भयो।

प्रहरीका अनुसार कालिकोटको महावै गाउँपालिकाका प्रतिमा भन्ने पञ्चा सिंह, टाइगर भनिने पदमबहादुर रावत, गुराँस भन्ने बालकृष्ण सिंह, टंकबहादुर सिंह, कालिकोटकै खाडाचक्र नगरपालिकाका सुभाष भन्ने वीरबहादुर मल्ल र अशोक भन्ने अली कार्कीको संलग्नता देखिन्छ।

घटनापछि हालसम्म प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुर्खेतले ३१ जनालाई अनुसन्धान अधिकारी तोकेको छ। सबै अनुसन्धान अधिकारीहरूलाई कर्तव्य ज्यान मुद्दाका फरार रहेका प्रतिवादीहरूलाई खोजतलास गरी पक्राउ गरेर कार्यालयमा हाजिर गराउनु भनिएको छ।

‘जिल्ला कालिकोट तत्कालीन पाखा गाविस–४ बस्ने वर्ष ४४ को नन्दबहादुर मल्लको जाहेरीले वादी नेपाल सरकार, प्रतिवादी टाइगर भन्ने पदमबहादुर रावलसमेत भएको कर्तव्य ज्यान मुद्दामा बारदात स्थानदेखि भागी फरार रहेका प्रतिवादीहरूलाई खोजतलास गरी, पक्राउ गरी दाखिला गर्न तपाईँलाई खटाइएको छ,’ नागरिकलाई प्राप्त ३१ जना अनुसन्धान अधिकारीलाई दिइएको पत्रमा भनिएको छ, ‘आवश्यक जनशक्ति साथमा लिई निम्न हुलिया भएका फरार प्रतिवादीहरू लुकीछिपी बस्न सक्ने सम्भावित क्षेत्रमा तदारूकता साथ खोजतलास गरी निज प्रतिवादीहरूलाई भाग्न उम्कन नपाउने गरी पक्राउ गरी कार्यालयमा दाखिला गराउनु।’

प्रहरीका अनुसार हत्या घटनाका अधिकांश आरोपी तत्कालीन माओवादीको छैटौं डिभिजनमा कार्यरत लडाकु थिए भने सिंहसहित दुईजना विद्यार्थी नेता थिए। प्रहरीले आरोपितहरू उच्च राजनीतिक पहुँचमा भएकाले पक्राउ गर्न नसकेको बताएको छ।

 ‘औपचारिकताका लागि नयाँ आउने कार्यालय प्रमुखले अनुसन्धान अधिकारी तोक्ने काम हुन्छ,’ अनुसन्धान अधिकारी तोकिएका एक प्रहरी अधिकारीले भने, ‘मौखिकरूपमा पक्राउ नगर्नु, राजनीतिमा हलचल हुन्छ भन्नुहुन्छ।’

पछिल्लोसमय माओवादी केन्द्रले सिंहलाई राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाउन चाहेको थियो। त्यसका लागि माओवादीको उच्च राजनीतिक नेतृत्व मुद्दाको प्रकृति बुझ्न जिल्ला प्रहरी कार्यालय पुगेको थियो।

‘कर्तव्य ज्यान मुद्दामा अदालतबाट पक्राउ पूर्जीसमेत जारी भइसकेकाले मुद्दाको प्रकृति जटिल देखियो, हामीले त्यही माथिल्लो निकायमा रिपोर्टिङ ग¥यौं,’ एक माओवादी नेताले भने, ‘गम्भीर प्रकृतिको मुद्दाका कारण सिंहलाई राष्ट्रियसभामा लिने नेतृत्वको चाहना यस पटक पनि पूरा हुन सकेन।’

हत्या आरोपी सिंहसहित ६ जनाविरुद्ध जिल्ला अदालतले २०७९ साउन १३ गते पक्राउ पूर्जी जारी गरेको छ। आरोपित सिंह माओवादी निकटको विद्यार्थी संगठनको केन्द्रीय अध्यक्ष छिन् भने टाइगर भन्ने पदमबहादुर रावतबाहेक अरू आरोपितहरू पनि माओवादीका विभिन्न तहमा कार्यरत छन्।

अर्का आरोपी शुभाष भनिने वीरबहादुर स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट वडाध्यक्षका उम्मेदवार थिए।

प्रहरीका अनुसार टाइगर भनिने पदमबहादुर भारतमा छन्। ‘आरोपितहरू कुन कहाँ छन् सबै स्थानको जानकारी राखिरहेका छौं, राजनीतिक दबाब नहुने हो भने एक साताभित्रै सबैलाई पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाउन सक्छौं,’ प्रहरीका एक अनुसन्धान अधिकारीले भने, ‘राजनीतिक दबाबका कारण १५ वर्षदेखि अनुसन्धान अधिकारी तोकिने तर कर्तव्य ज्यान मुद्दाको फाइलमाथि कारबाही नहुने अवस्था छ।’

प्रकाशित: ५ माघ २०८० ०२:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App