२१ पुस २०८१ आइतबार
image/svg+xml
राजनीति

जनमत र नाउपाबिच एकता गर्न गृहकार्य

सिके राउतले नेतृत्व गरेको जनमत पार्टी र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीले भविष्यमा पार्टी एकता नै गर्ने गरी भित्रभित्रै वार्ता सुरु गरेका छन्।

नाउपा स्रोतका अनुसार पछिल्लो समय राउत र चौधरीवीच पटकपटक कुराकानी र भेटघाट भइसकेको छ। तर यो भेटलाई दुवै पक्षले गोप्य राखेका छन्। जनमत र नाउपाबिच एकता भएमा एकीकृत पार्टी मधेसको पहिलो पार्टी हुने र राष्ट्रिय पार्टीको रूपमा यो पार्टीको बलियो उपस्थिति हुने दुवै पक्षका नेताहरूको बुझाइ छ।

पूर्वी मधेसमा जनमत र पश्चिमी मधेसमा नाउपाको बलियो पकड छ। यसैगरी मधेसी समुदायमा जनमत र चौधरी समुदायमा नाउपाको बलियो उपस्थिति रहेको बुझाइ दुवै पक्षका नेताहरूको छ।

जनमत पार्टीका महासचिव चन्दन सिंहले राउत र चौधरीबिच पटकपटक कुराकानी र भेट भएको बताउँदै भने, ‘मधेसवादी सबै दलहरू एक ठाउँमा आउनुपर्छ र एउटै विचार राख्ने सबै दल एक हुनुपर्छ भन्ने पार्टीको नीति हो।’

पार्टीको उक्त नीतिअनुसार पार्टी अध्यक्षले अन्य दलका नेताहरूसँग कुराकानी गरिरहेको उनले बताए। उनले भने, ‘तर कसैलाई पार्टी अध्यक्ष बनाउन, कसैलाई सरकारमा पठाउन र कसैलाई सत्ताका लागि बार्गेनिङ गर्न पार्टी एकता गर्न खोजेको होइन। एउटा निश्चित अजेन्डा र मुद्दाका लागि एकता गर्न खोजेका हौं।’

नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले भने दुई पार्टीका नेताहरूबिच कुराकानी र भेटघाट हुनु स्वाभाविक भए पनि पार्टी एकता नै हुने गरी छलफल अघि बढेको भन्ने कुराचाहिँ सत्य नभएको बताइन्।

त्यस्तो कुराकानी भएको भए आफूले थाहा पाउनुपर्ने उनको भनाइ छ। तर जनमत पार्टीका एक केन्द्रीय नेताले ठोकुवासाथ भने, ‘भित्रभित्रै रेशम चौधरी र हाम्रा अध्यक्षज्यूबिच कुराकानी भइरहेको छ। पार्टी एकता हुन लागेको छ भन्ने सन्देश पुग्नेबित्तिकै पार्टी एकता भाँडिने निश्चित छ। त्यसैले सबै काम गुपचुप भइरहेको छ।’

जनमत पार्टीका प्रवक्ता डा. शरतसिंह यादवले जनमत र नाउपाबिच सहकार्यका लागि कुराकानी भइरहेको तर पार्टी एकीकरण नै हुने गरी कुराकानी नभएको दाबी गरे। जनमत र नाउपाले २०७९ पुसमै कार्यगत एकता गर्ने भनी लिखित सहमति गरेका थिए।

अहिले दुवै पार्टीले वर्तमान सरकारलाई समर्थन गरिहरेका छन्। नाउपा संघीय सरकारमै गएको छ भने जनमतले मधेस सरकारको नेतृत्व गरिरहेको छ। प्रतिनिधिसभामा नाउपाका चार र जनमत पार्टीका ६ जना सांसद छन्। यी दुवै पार्टी पछिल्लो संसदीय चुनावबाट राजनीतिमा उदाएका थिए। जनमत पार्टीका एक नेताका अनुसार नाउपा र जनमतबिच एकता गर्नका लागि सैद्धान्तिक आधार टुंगो लगाउन खासै समस्या छैन।

हृदयेश त्रिपाठीले नेतृत्व गरेको जनता प्रगतिशाली पार्टीले तराई मधेसकेन्द्रित दलहरूबिच मोर्चाबन्दी गराउन प्रयास गरिरहेको छ। एक चरणमा सबै दलसँग कुराकानी भएको र अर्को चरणमा फेरि कुराकानी हुने तयारी भएको त्रिपाठीले बताए।

‘साझा बिन्दुमा सहकार्य गर्ने गरी ‘लुज एलाइन्स’ बनाउन खोजेका हौं। यसका लागि पहिलो चरणमा कुराकानी भइसकेको छ। अब अर्को चरणमा कुराकानी हुँदै छ,’ उनले भने।

प्रकाशित: १९ पुस २०८१ ०८:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App