१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

पहिरो पीडितलाई स्थायी पुर्नवास गराउने प्रक्रियामा जुट्यो मैवाखोला गाउँपालिका

पहिरो पीडित परिवारका लागि बिभिन्न सहयोगी दाताहरूको सहयोगमा मैवाखोला गाउँपालिकाले बनाएको अस्थायी आवास स्थल। तस्बिर :नागरिक।

ताप्लेजुङको मैवाखोला गाउँपालिकाले विपद् जोखिममा परी एकिकृत अस्थायी आवास स्थलमा बस्दै आएका ६५ परिवारलाई स्थायी पुनर्वासको प्रक्रिया अघि बढाएको छ।

 गाउँपालिकाले स्थायी बसोबासका लागि जग्गाको खोजी सुरु गरेको हो। पालिकाले जग्गाको क्षेत्र तोकी न्यूनतम प्रस्तावित मूल्य सहित प्रस्ताव दर्ता गर्न आज बिहीबारका मितिले १५ दिनको म्याद दिएको छ। पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीमाया गोम्देनका अनुसार तोकिएको जग्गा क्षेत्रका जग्गा धनीहरूले धनीपूर्जाको प्रमाण–पत्रको प्रतिलिपि,नागरिकताको प्रमाण–पत्रको प्रतिलिपि,रीतपूर्वकको निवेदन र न्यूनतम प्रस्तावित मूल्य सहितको खामबन्दी प्रस्ताव पेश गर्नुपर्ने भएको छ। 

गाउँपालिकाले पालिकाको वडा नं ४ स्थित तालदेखि पूर्व आहाल डाँडा,हेलिप्याड पश्चिम,जुकेपानी मुहान देखि दक्षिण र कँदेले डाँडा देखि उत्तर भित्रको क्षेत्र तथा वडा नं ३ स्थित लुकुवा खोला देखि पश्चिम,कागते खोला देखि पूर्व,बाङ्गेलाम बस्ती देखि उत्तर र लुकुवा ते¥सो सडक देखि दक्षिण सम्मको क्षेत्रको जग्गाका धनीले प्रस्ताव पेश गर्न सक्ने बताएको छ।

 गत असोज ८ गते पालिकाले पहिरो पिडीत परिवारलाई एकिकृत अस्थायी आवास कक्ष हस्तान्तरण गरेको थियो। २०८० साल असार २ गते गएको पहिरोका कारण अति उच्च जोखिममा परेका पालिकाको  वडा नं ४ ओदकका ६२ परिवार, ताम्राङ (गाउँ)का २ परिवार र वडा नं ३ का एक परिवार गरी ६५ परिवारलाई पालिकाले निर्माणाधीन रंगशालामा अस्थायी आवास स्थल निर्माण गरी अस्थायी पुनर्वासको प्रबन्ध गरेको थियो। पालिका अध्यक्ष बिजयप्रकाश वनेमले अस्थायी आवास स्थल हस्तान्तरण भएकै दिन स्थायी पुनर्वासका लागि चाँडै प्रक्रिया आरम्भ गर्ने घोषणा गरेका थिए। 

पहिरोको उच्च जोखिममा परेका परिवार फेरी आफ्नै घर मर्मत गरेर पहिरोग्रस्त क्षेत्रमै बस्न नसक्ने भू–गर्भविद्को सुझाव अनुसार पालिकाले उच्च जोखिममा रहेका परिवारलाई अस्थायी आवास स्थल निर्माण गरी एकिकृत रूपले अस्थायी बसोबास हुने गरी प्रबन्ध गरेको थियो। कूल १ करोड ५० लाख ५३ हजार ७ सय ८७ रुपैयाँको लागतमा एकीकृत अस्थायी आवास स्थल निर्माण गरी अस्थायी बसोबासको प्रबन्ध हुँदै आएकोमा अब पालिकाले विपद् पीडित परिवारलाई स्थायी पुनर्वासको प्रक्रिया अघि बढाएको जनाएको छ। 

प्रकाशित: ४ माघ २०८० १०:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App