२० असार २०८१ बिहीबार
image/svg+xml
समाज

हिमपातले किसान उत्साहित

म्याग्दीको रघुगंगा गाउँपालिका ८ कुइनेमंगलेको पात्लेखर्कमा हिमपात भएको छ। बुधबार हल्का वर्षासँगै पात्लेखर्कसहित माथिल्लो क्षेत्रमा यो सिजनको पहिलोपटक हिमपात भएको हो।

जिल्लाको माथिल्लो क्षेत्रमा माघ महिना लागिसक्दा समेत वर्षा र हिमपात नहुँदा खेतीपातीमा असर गरिरहेको अवस्था हिमपात भएपछि किसान खुसी भएको स्थानीय अंकित पुनले बताए। हिमपातसँगै चिसोसमेत बढेको छ। ‘हिमपात नहुँदा अन्नबालीमा असर गरेको थियो, अहिले केही राहत महसुस भएको छ’, पुनले भने। हिमपातले बाली फस्टाउने भन्दै ‘हिमपातले चिसो बढे पनि किसान भने खुसी छन्। उनले बस्तीको माथिल्लो क्षेत्रमा समेत बाक्लो हिमपात भएको छ।

यसैबीच मालिका, धवलागिरि र अन्नपूर्ण गाउँपालिकाका हिमाली क्षेत्रमा समेत सामान्य हिमपात भएको छ। मौसममा आएको परिवर्तनसँग चिसो बढेपछि वृद्धवृद्धा र बालबालिकालाई सतर्कता अपाउन स्थानीय जनप्रतिनिधिले समेत अनुरोध गरेका छन्।

जिल्लाको सदरमुकाम बेनीमा समेत चिसो हावाहुरी चलेको छ भने मौसम बादलिएको छ। यस वर्ष अघिल्लो वर्षको तुलनामा बाक्लो हिमपात भने कतै भएको छैन। विगतमा हिमपातका कारण आवतजावतमा समेत समस्या हुने गरेकोमा यस वर्ष भने चिसोसँगै हिमाली क्षेत्रमा ताल र खानेपानीका धारामा पानी जमे पनि हिमपात नहुँदा स्थानीय आश्चर्यचकित परेका थिए।

यसैबीच हिमाली जिल्ला मुस्ताङमा समेत हिमपात भएको छ। हिमपातलाई ध्यानमा राखेर विभिन्न ठाउँमा रहेका प्रहरी चेकपोस्ट्लाई सचेतना अपनाउन भनिएको छ। विशेषगरी मुक्तिनाथ दर्शनका लागी पुगेका पर्यटक अलपत्र नहोऊन् भनेर सचेतना अपनाइएको छ।

प्रकाशित: ४ माघ २०८० ०८:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App