३० चैत्र २०८० शुक्रबार
समाज

असुरक्षित गर्भपतनले ज्यानै जोखिममा

कालिकोटको खाँडाचक्र नगरपालिका–१९ वर्षीया एक किशोरीको स्कुलका सहपाठी साथीसँग प्रेम सम्बन्ध बस्यो। बिहे गर्ने वाचासँगै उनीहरूबीचको प्रेम सम्बन्ध दरिलो हुँदै गयो। जब प्रेमीले किशोरीको पेटमा गर्भ रहेको थाहा पाए विस्तारै टाढिँदै गए।

अन्ततः उनीहरूबीच प्रेम सम्बन्ध टिकेन। प्रेमीले धोका दिएपछि २०८० साउनमा भाउजुको सहयोगमा मान्मस्थित एक क्लिनिकमा गर्भपतन गराउन बाध्य भइन्।

गर्भपतन गराउँदा उनको पेटमा चार हप्ताको गर्भ थियो। गर्भपतनका साथै प्रेमीको मायाप्रेमबाट टाढिनुपर्दा ती किशोरी शारीरिक तथा मानसिक रूपले विक्षिप्त भइन्। उनले अहिले रोकिएको पढाइलाई निरन्तरता दिएकी छन्।

लहैलहैमा लागेर किशोरीले प्रेम सम्बन्ध राख्ने र प्रेमीबाट धोका पाएपछि गर्भपतन गराउने प्रवृत्तिका कारण दुर्गममा गम्भीर स्वास्थ्य समस्या निम्तिने गरेको छ। उचित परामर्श नपाउँदा सानै उमेरमा यौन सम्पर्क हुँदा पनी बालविवाह गर्नेहरूको संख्यामा वृद्धि हुँदै आएको छ। यस्तो अवस्थामा कतिपय किशोरी आत्महत्या गर्ने अवस्थासम्म पुगेका उदाहरण पनि छन्।

चिकित्सकका अनुसार विवाहअघिको सम्बन्धले समाजमा बदनाम हुने, पारिवारिक र सामाजिक बहिस्कारमा पर्ने डरले लुकिछिपी अवैध स्वास्थ्य क्लिनिकमा जति पनि पैसा खर्चेर गर्भपतन गर्न तयार हुन्छन्।

त्यसरी गरिने गर्भपतनले युवती र महिलाको स्वास्थ्य र पैसा दुवैलाई क्षति गर्छ। तर, पनि युवती वैध संस्थामा पुग्दैनन्, पुग्न चाहँदैनन्। विवाहअघि गर्भपतन गराउनेहरू मेडिकलमा लुकाइछिपाई बेचिने औषधि, अवैधानिक ढंगले सञ्चालित क्लिनिक लगायत अन्य गर्भपतनका सबै अवैधानिक स्थानमा जाने गर्छन्। त्यहाँ गर्भपतन गर्नसक्ने अवस्था नभएपछि मात्र वैध संस्थामा पुग्ने गरेका छन्।

कालिकोटको सान्नीत्रिवेणी गाउँपालिकाकी २७ वर्षीया फिलिन (पहिचान परिवर्तन) १० महिने छोराकी आमा हुन्। पहिलो सन्तान सानो छँदै उनी गर्भवती भइन्। त्यसैले उनले गर्भपतन गराउने निर्णय लिइन्।

गर्भपतनका लागि औषधि पाइन्छ भन्ने सुनेकी फिलिनले आफूले पनि औषधि सेवन गरेरै गर्भपतन गराउन पाए हुन्थ्यो भन्ने चाहना राखिन्। पतीले गर्भपतनका लागि केही औषधि ल्याइदिए। त्यो औषधि तोकिएको विधि अनुरूप सेवन गरिन्।

औषधि सेवन गरेको केही घण्टापछि औषधि पसलेले भनेझैं रक्तस्राव हुन थाल्यो। गर्भपतन भयोे भनेर ढुक्क थिइन् उनी। तर, लामो समयसम्म रक्तस्राव रोकिएन। कमजोरी महसुस भयो, रगत पनि अत्याधिक बग्यो। उनी भित्रभित्रै डराउन थालिन्। चिन्तित हुन थालिन्। श्रीमान लगायत घरका सबै आत्तिए। हतारहतार उनलाई अस्पताल पुर्‍याइयो।

चिकित्सकले प्रारम्भिक परीक्षणपछि उनलाई तुरुन्त रगत दिनुपर्ने तथा गर्भ राम्ररी सफा भइनसकेकाले पाठेघर सफा पनि गर्नुपर्ने सल्लाह दिए। चिकित्सकका अनुसार उनी समयमा अस्पताल नपुगेको भए ज्यानै गुमाउनुपर्ने हुन्थ्यो।

त्यस्तै, रास्कोट नगरपालिकाकी पानकली (परिर्वतित नाम) ले बिहे गरेको पाँच महिना मात्र भएको थियो। बच्चा जन्माउने इच्छा नहुँदा नहुँदै गर्भवती भइन्। फिलिनजस्तै उनले पनि गर्भपतन गर्ने निधो गरिन्। तर, उनका घरबाट अस्पताल पुग्न दुई घण्टा पैदल हिँड्नुपर्थ्याे। नजिकै भरपर्दो मेडिकल थिएन।

दुई घण्टा हिँडेपछि मेडिकल भेटाएका उनीहरू साँझ घर फर्किए। पानकलीले मेडिकलवालाले भनेजस्तै औषधि सेवन गरिन्। औषधि सेवन गरेको केही घण्टामैै रक्तस्राव हुन थाल्यो। अत्यधिक रक्तस्राव हुन थालेपछि आत्तिन थालिन्। बल्ततल्ल ज्यान बच्न उनी सफल भइन्।

गर्भपतनसम्बन्धी ग्रामीण ठाउँका सरकारी अस्पतालमा निःशुल्क औषधि पाउने भए तापनि अरूले थाहा पाउँछन् कि झैँ गर्ने, लाज मान्ने र सरकारी स्वास्थ्य संस्थामा विश्वास नगर्नाले मेडिकल नै धाउने गरेको उनीहरूको भनाइ छ। मेडिकलमा विश्वास गर्ने भएकाले पनि मेडिकलबाटै औषधि प्रयोग गर्ने गरेको पाइन्छ।

बाहिर औषधि सेवन गर्दा उपचार गर्दा पनि अहिले पनि विभिन्न समस्या ढाड दुख्ने, पाठेघर दुख्ने लगायतका समस्या रहेको महिलाहरू बताउँछन्। यी त केही प्रतिनिधि घटना मात्र हुन्। गर्भपतनका लागि उपलब्ध औषधि सेवन गरेर त्यसका जोखिम झेल्नेहरू कर्णालीमा हजारौँ छन्। उनीहरूमध्ये कतिपय गम्भीर संकटमा समेत फसिसकेका छन्।

सहज स्वास्थ्यको पहुँच नहुनु, विभिन्न बाध्यता र यससम्बन्धी शिक्षा नभएका कारण कर्णालीका गर्भवतीले यस्तै समस्या भोग्दै आएका छन्। प्रदेश अस्पताल सुर्खेतको तथ्यांकअनुसार २०७९/०८० मा तीन सय बढी जना गर्भवतीले गर्भपतन गर्न बाहिरको औषधि सेवन गरेर प्रदेश अस्पतालमा उपचार गरी फर्केका छन्।

जब कि कानुनले भ्रुण पहिचान गरेर गर्भपतन गराउनु लाई अपराध मान्छ। भ्रुण पहिचान कानुनी रुपमा बन्देज हुँदा हुँदै पनि समाजमा छ्याप्छ्याप्ती भ्रुण हत्याका घटना बढिरहेको अनुमान गर्न गाह्राे नभएको जिल्ला अस्पताल कालिकोटका जन स्वास्थ्य अधिकृत कटक महतले बताए।

उनका अनुसार जिल्ला अस्पतालमा पुगेर गर्भवतन गर्नेहरूको संख्या २०७८/७९ मा ४९ जना, २०७९/८० को हालसम्म ३४ जनाले अस्पताल पुगेर गर्भवतन गरेको बताइएको छ।

यसबाट के प्रष्ट हुन्छ भने गर्भपतनले कानुनी मान्यता पाएपछि पनि भ्रुणहत्याको शृंखला झनै बढिरहेको डाक्टर शंकेत विश्वmर्माले बताए। उनका अनुसार शिक्षा र चेतनाको कमी, सांस्कृतिक र समाजिक रुपमा छोराको महत्व बढी हुनु यसका उदाहरण हुन्। घरको आर्थिक जिम्मेवारी छोराले हेर्नु पर्छ भन्ने सोचाइले गर्दा छोराको शिक्षादीक्षामा जोड दिइनुले पनि समाजमा छोरा प्राप्तिको चाहनालाई संकेत गर्दा छोरी जन्माउन नचाहने सोचले संख्या घट्दै जाने उनको भनाइ छ।

धार्मिक रुपमा रहेको रुढीवादी मान्यताका कारण छोराको चाहना बढी हुने गरेको छ। समाजमा छोराको चाहनामा स्वास्थ्य क्षेत्रका केही लोभी व्यक्तिको व्यापारिक नाफाको सोचले डढेलो लगाइदिएको छ। त्यसमा स्वास्थ्यकर्मीको पैसाको लालचले गर्दा आफ्नो पेशागत मर्म बिर्सेर पैसाका लागि जे गर्न पनि तयार भएका कारण भ्रुण हत्याले भयावह रुप लिनथालेको डाक्टरहरू बताउँछन्।

भु्रण हत्या आज हाम्रो समाजभित्र भुसको आगोझैं फैलिरहेको छ। यो विकृति यसैगरी फैलिरहने हो र यसमा समाज र राज्यले मौनता साँधिरहने हो भने यसले सामाजिक सन्तुलनमा मात्र होइन प्राकृतिक सन्तुलनमा समेत यसले असर पार्ने जानकारहरू बताउँछन्।

असुरक्षित गर्भपतन

गर्भपतन रहरले गराउने होइन। यसका पछाडि विभिन्न बाध्यता हुने गरेको चिकित्सक बताउँछन्। गर्भ रहँदा र त्यस गर्भलाई हुर्कन दिँदा निम्तिने सम्भावित जटिलताले गर्दा धेरैले गर्भपतन गराउँछन्।

गर्भपतन गराउने केही विधि प्रचलित छन्। ती सुरक्षित विधि हुन्। अहिले औषधि सेवनबाट समेत गर्भपतन गराउन सकिन्छ। तर, यसमा केही सतर्कता अपनाउनुपर्ने चिकित्सक सुझाउँछन्। असुरक्षित गर्भपतनको मुख्य करण शिक्षाको कमी डाक्टर संकेत विश्वर्कमाले बताए।

कसैका बच्चा सानो भएको, कसैका सन्तानको रहर पुगिसकेको त कसैका छोराछोरी हुर्किसकेर ठूला भइसकेका, कसैको अध्ययन पूरा नभएको जस्ता सामाजिक तथा आर्थिक कारणले गर्दा गर्भपतन गराउनुपर्ने अवस्था हुन सक्ने चिकित्सकहरूबताउँछन्।

नेपालको कानुनले नै १२ हप्ता सम्मको सुरक्षित गर्भपतन गर्न अनुमति दिएको छ। तर अहिले १५ हप्तामाथिको पनि औषधि सेवन गरेर गर्भपतन गर्ने गर्छन्। सरकारमा सूचीकृत भएका संस्थाबाट गर्भपतनसम्बन्धी निःशुल्क सेवा लिन सकिन्छ। तर कतै सरकारी संस्थाको विश्वास नभएका कारण त कतै ग्रामीण भेगमा निःशुल्क सेवा पाइन्छ भन्ने ज्ञान नभएका कारण मेडिकलमा गएर एउटा ट्याबलेटको ६ सयदेखि दुई हजार रुपैयाँसम्म तिरी गर्भपतन गर्ने गरेको कर्णालीका महिला बताउँछन्।

के छ कानुन?

गर्भपतन सेवा लिन कानुनी मापदण्ड पूरा गर्नुपर्ने हुन्छ। गर्भपतन सेवा दिने संस्था र चिकित्सक वा स्वास्थ्यकर्मी दुवै सूचीकृत हुनुपर्छ। यस्तै सूचीकृत भएका वा मान्यता प्राप्त गरेका संस्थामा सुरक्षित गर्भपतन सेवाको लोगो राखिएको हुन्छ।

सूचीकृत संस्थामा तालिमप्राप्त चिकित्सकबाट गरिएको गर्भपतनबाट हालसम्म एक जनाको पनि मृत्यु भएको छैन। एक प्रतिशतभन्दा पनि कममा मात्र सामान्य समस्या देखिने गरेको तथ्यांकले बताउँछ।

औषधि पसलेहरू तथा सम्बन्धित स्वास्थ्यकर्मीबाहेकले यस्ता औषधिको बिक्री–वितरण गर्न नपाउनेसमेत नियम छ। तर, केही औषधि पसले तथा अनधिकृत वा अयोग्य स्वास्थ्यकर्मीले क्षणिक आर्थिक लाभका लागि भारतीय बजारबाट ल्याएका कमसल औषधि बिक्री–वितरण गर्ने गरेको डाक्टरहरू बताउँछन्।

निःशुल्क रूपमा पाइने औषधिलाई मान्छेअनुसार औषधि पसलेले ठग्ने गरेको डाक्टर पन्तको भनाइ छ।

मेडिकल गर्भपतनका लागि पाठेघरको आकार पत्ता लगाउन भिडियो एक्सरे (अल्ट्रासाउन्ड) गर्नुपर्ने मान्यता छ। अर्को महत्वपूर्ण पक्ष गर्भपतन पूर्ण रूपले भयो वा भएन भनेर परीक्षण गर्नु हो।

सरकारले सूचीकृत नगरेका ठाउँमा गर्भपतन सेवा लिनु भनेको अवैध र असुरक्षित भएको सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। औषधि पसलेलाई औषधि सेवन र यसको डोजबारे जानकारी नै हुँदैन।  

प्रकाशित: २ माघ २०८० ०३:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App