२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

भक्तपुरमा आज दिनभर दान कार्यक्रम चल्यो

भक्तपुरमा आज सोमबार दिनभर दान कार्यक्रम चलेको छ। भक्तपुर नगरपालिका वडा नं १ मा अवस्थित जयकीर्ति महाविहार (थथुबही) परिसर भुइख्यमा दिनभर दान कार्यक्रम चलेको हो। विशेष गरेर भक्तपुर नगरका विभिन्न वडावासीहरू दान कार्यक्रममा सहभागी भएका थिए। दानमा सहभागीहरूले पैसा, फलफूल, बिस्कुट लगायतका अन्न, खाद्यान्न दान गरेका थिए।

प्रत्येक वर्ष माघ १ गते सङ्क्रान्तिका दिन बौद्ध परम्परा अनुसारको सम्यक महादानमा सहभागी भई दान कार्यक्रम गरिएको थियो। प्रत्येक वर्ष सम्यक संघ भोजन दान पर्वको सञ्चालन चतुब्र्रम्ह महाविहार अन्तरगतको तधिछे खल हाल सम्यक महादान व्यवस्थापन सहयोग समितिले गर्दै आएको छ। यस वर्ष पर्व सम्पन्न गर्ने पालो परेका सप्तमान बज्राचार्यलगायत उनको परिवार जयकीर्ति महाविहारमा हप्ता दिन अघिदेखि नै बसी पर्वको लागि तयारीमा थिए। उनीहरुले पर्वको लागि चाहिने विशेष प्रकारको पुरी, लड्डु तयार गर्ने लगायत अन्य चाँजोपाँजो मिलाउने कार्यमा व्यस्त रहँदै कार्यक्रम सफल पारेका थिए।  

यस वर्ष पर्व सम्पन्न गर्ने पालो परेका सप्तमान बज्राचार्यका अनुसार यस वर्ष पर्व अवलोकन गर्ने लगायत सम्यक दान लिने बौद्ध धर्मावलम्बिहरु अघिल्लो वर्षहरूमा भन्दा बढी थियो। सोही अनुसार तयारी पनि सोही अनुरूप भएको गरिएको उनले सम्झे।  

सम्यक महादान व्यवस्थापन सहयोग समितिका सचिव राजुमान बज्राचार्यका अनुसार काठमाडौं उपत्यकाको काठमाडौं, ललितपुर र भक्तपुरमा ३५० वर्ष भन्दा पहिलेदेखि बौद्ध धर्म परम्परा अनुसार सम्यक महादान पर्व निरन्तर चल्दै आएको छ।

उनका अनुसार भगवान दिपंकर बुद्धलाई अनुसरण गर्दै काठमाडौंमा प्रत्येक १२ वर्षमा एक पटक, ललितपुरमा प्रत्येक ५ वर्षमा एक पटक र भक्तपुरमा प्रत्येक वर्ष माघ १ गते सङ्क्रान्तिका दिनमा सम्यक महादान पर्व मनाउँदै आएको छ। 

प्रत्येक वर्ष तधिछे खलभित्रको परिवारमा जेष्ठताक्रमले पर्व सञ्चालन गर्ने पालो जाने र पालो पर्ने खलकले सम्यक संघ भोजन दान र गुठीसँग सम्बन्धित धेरै कार्यहरू सम्पन्न गर्नुपर्ने उनले बताए। तधिछे“ खलका सम्पूर्ण परिवार सम्मिलित भई हाल सम्यक महादान व्यवस्थापन सहयोग समिति गठन गरी पर्व लगायत गुठीका गतिविधिहरू व्यवस्थित गर्दै आएको समेत उनको भनाई छ।  

समितिका अध्यक्ष गणेश बज्राचार्यका अनुसार चतुब्र्रम्ह महाविहार संघका कुल देवता श्री हेबज्र नैरात्मालाई सबभन्दा पहिले भोजन दान गरिने परम्परा रहेको छ। र त्यस पश्चात् लहरै मूल दिपंकर, बाहाछे दिपंकर, झौरबही दिपंकर, थथुबही दिपंकर र कुथुबहि दिपंकरलाई भोजन चढाउने गरिन्छ। 

सँगै क्रमवद्ध रुपमा विराजमान गराइएका चार वटा सम्यक द्यो   (सुवर्ण दिपंकरको मूर्ति), सुवर्ण चैत्य, स्थविर आजु, मूल गुरुजु, गुरुजूहरु त्यससँगै लामबद्ध भएर बसेका सयौँ बज्राचार्य, बुद्धाचार्य र शाक्य परिवारका सदस्यहरूलाई सम्यक दान दिने परम्परा रहँदै आएको छ।

भक्तपुर दरबार क्षेत्रसँगै रहेको प्रसिद्ध चतुब्र्रम्ह महाविहारका संघ सदस्य जयरत्न बज्राचार्यले नेपाल सम्वत् ७८७ मा आफ्ना दिवंगत पिता जयदेव बज्राचार्यको नाममा दिपंकर बुद्ध लगायत विभिन्न विहारका संघ सदस्यहरूलाई निमन्त्रणा गरेर सम्यक भोजन दान गरी यस पर्वको स्थापना गरेको प्रमाणित इतिहास रहेको जनाए।

उक्त समयमा जयकीर्ति महाविहार अत्यन्तै जीर्ण अवस्थामा रहेको हुँदा जयरत्न बज्राचार्यबाटै नेपाल सम्वत ७९४ मा उक्त विहारको जीर्णोद्धार गरी सोही वर्ष राजा जय जिता मित्र मल्लको उपस्थितिमा सम्यक महादान भव्य रुपमा सम्पन्न गरेको इतिहास रहेको उनले सुनाए।

प्रकाशित: १ माघ २०८० १५:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App