१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

मध्यरातमा बम्जनलाई किन पुर्‍याइयो सर्लाही ?

जिल्लाको सुरक्षा व्यवस्था कडा

मंगलबार काठमाडौँको बुढानीलकण्ठबाट पक्राउ परेका तपस्वी बम्जनलाई रातारात किन सर्लाही ल्याइयो? किन दिउँसोको समयमा ल्याइएन?

प्रहरीको उच्च स्रोत भन्छ, ‘काठमाडौँबाट सर्लाही आउने बाटोमा बम्जनका अनुयायीहरू धेरै छन्। उनीहरूले हुल हुज्जत गर्लान भन्ने डरले मध्यरातमा ल्याइएको हो।’

बम्जनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी)ले बुधवार दिउँसो १ बजे आफ्नै कार्यालयमा सार्वजनिक गरेको थियो। उनलाई मंगलवार साँझ पक्राउ गरिएको थियो।

अठार वर्षअघि तपस्या गर्ने भन्दै घर छाडेर हिँडेका बम्जनलाई अहिले जिल्ला प्रहरी कार्यालय सर्लाहीमा छन्। तपस्या सुरु गरेपछि बनेका उनका अनुयायीहरूले हुल हुज्जत गर्छन् भनेर प्रहरीले राति यहाँ ल्याएको हो।

प्रहरी स्रोतका अनुसार बम्जनका अनुयायीहरू काठमाडौँबाट सर्लाही आउँदा पर्ने सिन्धुली, सर्लाहीलगायत जिल्ला विभिन्न स्थानहरू रहेको छनक पाएपछि उनीहरूले अवरोध गर्छन् भनेर पनि उनलाई रातारात सर्लाही ल्याइएको हो।

बम्जनलाई सर्लाही ल्याउने र यही राख्ने टुङगाे लागेपछि सर्लाही प्रहरीले स्थानीय प्रहरी युनिटलाई सर्तकता अपनाउन निर्देशन समेत दिएको छ। सर्लाहीको इलाका प्रहरी कार्यालय हरिवन, इलाका प्रहरी कार्यालय लालबन्दी र इलाका प्रहरी कार्यालय बयलबासलगायत राजमार्गसँग जोडिएका प्रहरी युनिट सतर्क रहन निर्देशन दिएको हो। यी क्षेत्रमा बम्जनका अनुयायीहरूको बाक्लो बसोबास रहेको छनक पाएपछि प्रहरीले यस्तो निर्देशन दिएको हो।

‘त्यसैले उनलाई सर्लाही पुर्‍याउने काम पनि रातारातै गरियो’, प्रहरी स्रोतले भन्यो।  

मधेशमा केही दिनदेखि लागेको हुस्सु र कुहिरोका कारण जहाज समयमा उडन नसकेको र बम्जनका अनुयायीहरूको अवरोधको आकलन गरेर उनलाई यहाँ ल्याइयो।  

अहिले सर्लाहीको जिल्ला प्रहरी कार्यालय र अदालत परिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ। हिजो सिआईवीले बम्जनलाई सार्वजनिक गर्दा उनका अनुयायीहरू भेला भएको देखेपछि स्थानीय प्रशासनले सुरक्षा सतर्कता अपनाएको छ।

हत्या र बलात्कार आरोपमा पक्राउ परेका बम्जनलाई राति १:३० बजे सर्लाही पर्‍याइएकाे हाे।

मङ्गलवार काठमाडौँको बुढानीलकण्ठबाट पक्राउ परेका बम्जनलाई आज सर्लाही जिल्ला अदालतमा पेस गर्ने तयारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी प्रविण धितालले जानकारी दिएका थिए।

जिल्ला प्रहरी कार्यालय सर्लाहीले युवती बेपत्ता पारेको र यौन शोषण गरेको आरोपमा दुई छुट्टाछुट्टै मुद्दामा पक्राउ पुर्जी जारी गरेपछि कारबाहीको लागि काठमाडौँ प्रहरीले रातारात बम्जनलाई सर्लाही सदरमुकाम मलङ्गवा पुर्‍याएको हो।

बुधवार राति १ः३० बजे सर्लाही ल्याइएका बम्जनलाई हाल जिल्ला प्रहरी कार्यालय मलङ्गवामा राखिएको छ। दुई वटा आरोप लागेका तपस्वी बम्जनलाई आजै जिल्ला अदालत सर्लाहीमा पेस गर्ने तयारी रहेको एसपी धितालले बताए।

बम्जनमाथि २०७५ पुस १८ मा २८ बर्सिया रीता बोटेलाई बेपत्ता पारेको आरोप छ।

सर्लाहीको साबिक कर्मै या गाविस वडा नम्बर–२ र हाल बागमती नगरपालिका–१२ की बोटेलाई बेपत्ता पारेको भन्दै खोजतलासको लागि आमा सोमनी बोटेले जिल्ला प्रहरी कार्यालय सर्लाहीमा निवेदन दिएकी थिइन्।

बाराको हलखोरिया बनबाट बम्जनले बोटे युवतीलाई ‘गायब’ पारेको आरोपमा सर्लाही प्रहरीले अनुसन्धान गरी मिसिल बारा जिल्ला अदालतमा पठाइसकेको सर्लाही प्रहरीको भनाइ छ। घटना बारामा भएकाले यस मुद्दामा बम्जनलाई बारा जिल्ला अदालतमा पनि पेस गरिनेछ।  

२०७६ माघ २३ मा सर्लाहीको पत्थरकोटस्थित जंगलमा १४ वर्षीय बालिकामाथि यौन सन्तुष्टि प्राप्त गर्ने र यौन शोषण गर्ने गरेको निवेदन प्रहरी कार्यालय सर्लाहीमा उजुरी परेको थियो।

बारम्बार यस्तो कुकृत्य गर्नमा बम्जनलाई अन्य दुई जनाले पनि सहयोग गर्ने गरेको निवेदनमा उल्लेख छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीमा पीडितको नाम ‘क’ राखिएको छ। बम्जनको कब्जाबाट पीडित आफैँ उम्केर प्रहरीमा निवेदन दिएकी थिइन्।

निवेदनपछि प्रहरीले गहन अनुसन्धान गरेर फाइल जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाइसकेको छ। २०७७ असार १८ मा प्रहरी कार्यालय सर्लाहीले सरकारी वकिलको कार्यालयमार्फत सर्लाही जिल्ला अदालतमा मुद्दा दर्ता गराएको हो।

जिल्ला सरकारी वकिलको कार्यालय सर्लाहीका कार्यालय प्रमुख कैलाश दाहालले रामबहादुर बम्जनसहित अन्य दुई जना मतियारमाथि अनुसन्धान भएको बताए। मतियारहरू ज्ञानकुमार बम्जन र जीतबहादुर तामाङसहित मुख्य अभियुक्त रामबहादुर बम्जनमाथि अदालतमा मुद्दा चलाइएको दाहालले जानकारी दिए। मतियारद्वय बम्जन र तामाङ अदालतमा हाजिर भई धरौटीमा रिहा भइसकेका छन् भने मुख्य अभियुक्त रामबहादुर बम्जन भने फरार रहेका थिए। फरार रहेकै अवस्थामा बम्जन काठमाडौँबाट पक्राउ परेका हुन्।

यौन सन्तुष्टि प्राप्त गर्ने तथा यौन शोषण मुद्दाका मतियार ज्ञानकुमार बम्जनलाई सर्लाही जिल्ला अदालतले गत २०७९ भदौ १० मा एक लाख रुपैयाँ धरौटीमा रिहा गरिसकेको छ। यसै गरी अर्का मतियार तामाङलाई सर्लाही जिल्ला अदालतले गत २०८० मङ्सिर ६ मा एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

तपस्वी रामबहादुर बम्जनलाई यौन सन्तुष्टि प्राप्त गर्ने तथा यौन शोषण गर्ने मुद्दामा जबरजस्ती करणीसम्बन्धी कानुन नै आकर्षित हुने सरकारी वकिल कार्यालयका प्रमुख दाहालको भनाइ छ। दाहालले उक्त कानुनको दफा २१९ को ३ ९ग० बमोजिम ५ लाख जरिवाना र १२ देखि १४ वर्षसम्म कैद सजाय माग दाबी गरिएको जनाए। यौन सन्तुष्टि प्राप्त गर्ने तथा यौन शोषण मुद्दाका लागि बम्जनलाई सर्लाही जिल्ला अदालतमा पेस गरिने र त्यसपछि युवती बेपत्ता पारिएको मुद्दाका लागि बारा जिल्ला अदालतमा पेस गरिने बुझिएको छ।

प्रकाशित: २६ पुस २०८० ०४:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App