८ भाद्र २०८३ सोमबार
image/svg+xml
राजनीति

गरिमा घटनापछि प्रधानमन्त्रीलाई रक्षा बमको झटारो : मेरो बाँदर होइन, मेरो सर्कस होइन

जेनजी अभियन्ता रक्षा बमले गरिमा चौधरीको घटनामा सरकारले न्यायोचित व्यवहार गर्न नसकेको बताएकी छिन् । उनले घटनाको संवेदनशीलता र गम्भीरतालाई राज्यका निकायले हलुका रूपमा लिएको भन्दै सुरक्षा निकायको कार्यशैलीमाथि प्रश्न उठाएकी हुन्।

आइतबार सामाजिक सञ्जालमार्फत बमले बलात्कार र हत्याजस्तो गम्भीर अपराधमा अनुसन्धान गरिरहेका निकायबाटै प्रमाण तथा अभियुक्तको भिडियो सार्वजनिक हुनु आपत्तिजनक भएको बताइन्। उनले पीडितको गोपनीयता र संवेदनशीलताको रक्षा गर्नुपर्ने राज्य स्वयंले पीडित परिवारसँग सम्बन्धित सामग्री सामाजिक सञ्जालमा सार्वजनिक गरिरहेको भन्दै असन्तुष्टि जनाइन्। 

‘अनुसन्धान गर्नुपर्ने निकाय आफैँ एभिडेन्स सार्वजनिक गर्दै हिँड्ने? पीडितको गोपनीयता र संवेदनशीलताको रक्षा गर्नुपर्ने राज्य आफैँ पीडितको कथा सामाजिक सञ्जालमा प्रदर्शन गर्ने?’ उनले प्रश्न गरेकी छन्। 

बमले सरकार संरचनागत सुधारमा केन्द्रित हुनुपर्ने भए पनि ‘स्टन्ट’मा मात्र सीमित देखिएको टिप्पणी गरिन्। पीडितसँग राज्यले जानाजान यस्तो व्यवहार गरिरहेको जस्तो देखिएको र यसबाट समाजमा पीडित नै अप्रिय देखिने भाष्य निर्माण हुन सक्ने उनको भनाइ छ। 

 प्रधानमन्त्रीलाई लक्षित गर्दै उनले लेखेकी छिन् यो सब देखिरहँदा सायद मनमनै लागिरहेको होला ‘मेरो बाँदर होइन, मेरो सर्कस होइन।’

यसअघि तीन मन्त्रीसहित गृहमन्त्री भुइँमै बसेर गरिमा चौधरीका आमाबुवाको कुरा सुनिरहेको तस्वीर सार्वजनिक हुँदा आफूलाई भने त्यो तस्वीर शक्तिशाली लागेको बमले बताइन्। सिंहदरबारमा बसेका शक्तिशाली व्यक्तिहरूले जनताको पीडा सुन्नु सकारात्मक संकेत भएको उनको भनाइ थियो। 

तर त्यसपछि घटनासँग सम्बन्धित विभिन्न भिडियो तथा तस्वीर सार्वजनिक हुँदै जाँदा घटनाको संवेदनशीलता ‘कन्टेन्ट’मा बदलिएको बताएकी छिन्। साथै पीडित परिवारलाई खुसी बनाइएको भन्दै सार्वजनिक गरिएको भिडियो, राति १ बजे परिवारलाई खाना खुवाउँदै गरेको तस्वीर र अन्ततः अभियुक्तको बयानसमेत भिडियोसहित सार्वजनिक भएको विषयले आफूलाई थप चिन्तित बनाएको उनले बताइन्।

प्रकाशित: ८ भाद्र २०८३ १३:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App