१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

सोह्र वर्षअघि मलेसिया गएका विनाेद अझै बेपत्ता

वैदेशिक रोजगारीका लागि २० वर्षअघि मलेसिया गएको अर्जुनधारा–११ का विनोद विश्वकर्मा १६ वर्षदेखि सम्पर्कविहीन छन् । उनी २०६० सालमा २२ वर्षका उमेरमा घरको आर्थिक अवस्था कमजोर भएका कारण मलेसिया गएका थिए।  

“२२ वर्षको हुँदा मलेसिया गएको थियो”, विनोदकी ६६ वर्षीया आमा सुकमायाले भनिन्, “अहिले ४२ वर्ष उमेरको भयो। कहाँ छ, के गर्दैछ, केही अत्तोपत्तो छैन।”

 उनी मलेसिया गएपछि चार वर्षसम्म परिवारको सम्पर्कमा थिए। विनोदका दुई भाइ र दुई बहिनी छन्। माइला भाइ भीम घरमा आमाबुबाको हेरचाह गरेर बसेका छन् भने कान्छा भाइ टेकबहादुर विदेश जाने क्रममा छन्। दुईजना बहिनी रुमा र लीलाको विवाह भइसकेको छ।

विनोदका ७१ वर्षीय बुबा वीरबहादुर घरमै छन्। “१६ वर्षअघि म बिरामी परेका बेला एकपटक कस्तो छ बुबा भनेर सोधेको थियो, त्यसपछि खबर छैन”, उनले भने।

सुकमायाले ९० हजार रूपैयाँ ऋण काढेर विनोदलाई आफ्नै भाइ नरबहादुर र स्थानीयवासी विकास सुब्बा (डोले) मार्फत काठमाडौँको मेनपावरबाट मलेसिया पठाएको बताइन्।

उनले मलेसिया गएपछि विनोदले ९० हजार रूपैयाँ  ऋण तिर्ने पैसा र आमाबुबाको उपचारका लागि थप २० हजार रूपैयाँ पठाएको बताइन्।  आमा सुकमाया र बुबा वीरबहादुरले छोरा जहाँ, जस्तो अवस्थामा भए पनि खोजी गरिदिन सबैलाई आग्रह गरेका छन्।

स्थानीय हरिचन्द्र राउतले नौ वर्षअघि मलेसियामा विनोदसँग भेट भएको बताएका छन्। त्यसबेला विनोदले पेनाङस्थित बल्छी बनाउने कम्पनीमा काम गरिरहेको आफूलाई बताएको हरिचन्द्रले बताए।

मलेसियामा हरिचन्द्र र विनोदको कोठा नजिकै रहेको थियो । उनीहरूको खाना खाने ठाउँ एउटै थियो। विनोदसँग त्यहीँ भेट भएको हरिचन्द्रले बताए। अवधि पुगेर हरिचन्द्र स्वदेश फर्किए। विनोद कुन मेनपावर कम्पनीमार्फत मलेसिया गएका थिए भन्नबारे उनका बुबा र आमाले बताउन सकेनन्। तर, मेनपावर कम्पनीसम्म पुर्‍याउने नातेदारले मेनपावरसँग सम्पर्क गराउने आश्वासन दिएको बताइएको छ। रासस

प्रकाशित: २३ पुस २०८० ०२:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App