१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

‘जाजरकोट भूकम्पबाट पीडितहरुको अवस्थाबारे स्पष्ट हुनुपर्ने’

नेपाल सरकार गृह मन्त्रालयको आयोजनामा स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतको अध्यक्षता र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीको आतिथ्यमा २६ औं भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको बैठक गृह मन्त्रालयको सभाकक्षमा सम्पन्न भयो।

कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले नेपालले हरेक वर्ष केहि न केहि प्राकृतिक विपत्ति व्यहोरिरहेको हुँदा नेपालको सुदुर पश्चिम क्षेत्र जाजरकोट र पश्चिम रुकुममा गएको भूकम्पको लागि ३ वटै तहका संघ, प्रदेश र स्थानीय तहहरुले सक्दो सहयोग गर्नुपर्नेमा जोड दिऐ।उनले विपद् जोखिमबाट बचाउन जनजेतनामूक कार्यक्रमहरुको माध्यमबाट क्षति न्यूनीकरण गर्न सकिने र विपद् पश्चात उद्वार, राहत र पुनःनिर्माणलाई तीब्रता दिन सम्बद्ध सबैलाई ध्यानाकर्षण गराए।  

कार्यक्रममा आफ्नो  विचार राख्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भूकम्प सुरक्षा दिवसको नारालाई भन्दा कामलाई बढी जोड दिनुपर्ने बताए। उनले हालै गएको जाजरकोट, पश्चिम रुकुम र अछाममा गएको भूकम्पमा भएको क्षति, रोकथाम र हालसम्म भएको प्रगतिबारे सबैलाई जानकारी दिनुपर्ने तथा २०७२ सालको भूकम्प पश्चात भएको पुनःनिर्माणको प्रगति समीक्षा बैठकमा हुनुपर्ने बताए।

उनले सन् २००८ मा जनवादी गणतन्त्र चीनको सिचुआन प्रान्तमा गएको भूकम्पपश्चात ३ वर्षमा पुनःनिर्माण कार्य सम्पन्न गरेको र सन् २०२३ मा टर्कीमा गएको भूकम्पमा कमजोर संरचनाका कारण संरचना भत्केको हुँदा ती कमजोर संरचना निर्माण गर्ने ठेकेदारहरुलाई कार्वाही गरेको स्मरण गराउँदै नेपालको सन्दर्भमा भने सरकारले कुनै कारवाही नगरेको तथा पुनःनिर्माणमा तदारुकता नदेखाएकोमा बताए।

प्रमुख प्रजापतिले भूकम्प सुरक्षा दिवसकै अवसर पारेर भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिड्ड कलेज र ख्वप कलेज अफ इन्जिनियरिड्डको संयुक्त आयोजनामा यहि माघ २ गते हुन गइरहेको भूकम्प सम्बन्धी प्रदर्शनी र माघ ५ गते हुन गइरहेको भूकम्प गोष्ठी हुने जानकारी दिए।

बैठकमा चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीले २६ औं भूकम्प सुरक्षा दिवस मूल समारोह आयोजना गर्ने जिम्मेवारी प्रदान गरिएकोमा धन्यवाद व्यक्त गर्दै सो कार्यक्रमलाई भव्य रुपमा सफलतापूर्वक सम्पन्न गर्न सम्बद्ध सबै पक्षको सहयोगको अपेक्षा गरे।

बैठकले ‘स्थानीय स्रोत र प्रविधिको समेत प्रयोग गरौं, भूकम्प थेग्ने संरचना बनाऔं’ भन्ने मूल नाराका साथ २०८० माघ २ गते हुने २६ औं भूकम्प सुरक्षा दिवस चन्द्रागिरी नगरपालिकामा आयोजना गर्ने निर्णय गरेको छ।  

उक्त कार्यक्रमलाई केन्द्रमा राखी पौष २६ देखि माघ १६ गतेसम्म हुने विभिन्न कार्यक्रमहरुलाई सफल बनाउन गृह मन्त्रालयका सचिव दिनेश भट्टराई, सहरी विकास मन्त्रालयका सचिव सुरज कुमार बैद्य, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, ३ वटै सुरक्षा निकायका प्रमुखहरु, भुकम्प प्रविधि समाज नेपाल एनसेटका कार्यकारी निर्देशक सूर्यनारायण श्रेष्ठ, नेपाल रेडक्रस सोसाईटीका अध्यक्ष प्रा. सुदर्शन नेपाल लगायतले आ–आफ्ना विचार राखेका थिए।  

प्रकाशित: २२ पुस २०८० १०:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App