११ असार २०८१ मंगलबार
image/svg+xml
समाज

प्रदर्शनकारीमाथि गोली प्रहार, युवकको मृत्यु

अस्पतालको विषयमा सर्लाहीको बरहथवा नगरपालिकामा झडप हुँदा गोली लागेर एक युवकको ज्यान गएको छ। बरहथवा बजारस्थित होटल सर्लाहीका सञ्चालक तथा कुखुरा व्यावसायी ३० वर्षीय जयशंकर साहको प्रहरीको गोली लागेर घटनास्थलमै मृत्यु भएको हो।

बरहथवा नगरपालिका–६ स्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० बेडको बनाउन नेपाली कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, लोसपा नेपाल, बहुजन एकता पार्टी नेपालले आन्दोलन गर्दै आएका छन्।

नगरपालिकाको कार्यपालिका बैठकले २०७९ असोज ९ गते निर्माणाधीन नगर अस्पताल स्तरोन्नतिका लागि प्रदेश सरकारलाई हस्तान्तरण गर्ने निर्णय गरेको थियो।

कांग्रेससहित पाँच दलले सोही निर्णय कार्यान्वयनका लागि निरन्तर दबाब दिँदै आएका छन्। कार्यपालिका आफ्नै निर्णय कार्यान्वयन गर्न पन्छिएपछि दलहरू आन्दोलित भएका हुन्।

आन्दोलनकै बीचमा शुक्रबार कार्यपालिकाको बैठक बस्ने भएपछि पाँच दलीय प्रदर्शनमा व्यापक सहभागिता भएको थियो। बैठकले आन्दोलनकारी दलको मागलाई सम्बोधन गर्ने विषयमा कुनै निर्णय नगरेको भन्दै प्रदर्शनकारीले बरहथवा नगरपालिका कार्यालय र नगर प्रमुख कल्पनाकुमारी कटुवालको घरमा ढुंगामुढा गरेका थिए। प्रदर्शनकारीले एउटा गाडीमा आगो लगाएपछि प्रहरीले बल प्रयोग गरेको हो।

प्रदर्शनकारी उग्र बनेपछि प्रहरीले १९ राउन्ड अश्रु ग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता तथा डिएसपी दीपेन्द्र पन्जियार थारुले जानकारी दिए। अश्रु ग्यासले पनि प्रदर्शनकारी तितरबितर नभएपछि प्रहरीले १३ राउन्ड गोली चलाएको उनले बताए।

होटल सञ्चालक साहको कन्चटमा गोली लागेर घटनास्थलमै मृत्यु भएको हो। प्रहरीले भने साहको मृत्यु भएको तर कुन कारणले भन्ने विषयमा निश्चित भइनसकेको जनाएको छ।

इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख डिएसपी गंगाबहादुर थापाले प्रहरीले गोली चलाएको तर साहको मृत्युको कारण यकिनसाथ भन्न नसकिने बताए।

बरहथवाका डिएसपी गंगाबहादुर थापाले प्रदर्शनकारीले प्रहरी हबल्दारलाई घेरा हालेर हतियार नै खोस्न थालेपछि आत्मरक्षाका लागि बाध्य भएर गोली चलाउनुपरेको प्रतिक्रिया दिएका छन्।

साहको शवलाई साँझ अबेरसम्म प्रहरीले नियन्त्रणमा लिन सकेको छैन। शव आन्दोलनकारीले राखेकाले मृत्युको कारणबारे यकिन भन्न नसकिने डिएसपी थापाले बताए।

प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलालेले आफूले गोली चलाउने आदेश नदिएको बताएका छन्। आफूले आदेश नदिए पनि प्रहरीले गोली चलाएको उनको भनाइ छ।

बरहथवाका डिएसपी थापाले प्रदर्शनकारीले प्रहरी हबल्दारलाई चारैतिरबाट घेरा हालेर हतियार नै खोस्न थालेपछि आत्मरक्षाका लागि बाध्य भएर गोली चलाउनुपरेको प्रतिक्रिया दिएका छन्।

बरहथवा साँझ अबेरसम्म तनावग्रस्त छ। ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। यसैबीच जिल्ला प्रशासन कार्यालय सर्लाहीले बरहथवामा शुक्रबार साँझदेखि शनिबार बिहानसम्म कर्फ्यू लगाएको छ ।

प्रकाशित: २१ पुस २०८० ०१:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App