१५ चैत्र २०८० बिहीबार
समाज

तोकिएको म्यादमा व्यक्तिगत घटना दर्ता गरे पुरस्कार

धनकुटा – धनकुटा नगरपालिकाले व्यक्तिगत घटना समयमै दर्ता गराउनेलाई प्रोत्साहन स्वरुप रकम दिने भएको छ। नगर कार्यपालिकाको नवौं बैठकले व्यक्तिगत घटना ३५ दिन भित्र दर्ता गराएमा प्रोत्साहन स्वरुप एक सय रुपैयाँ दिने निर्णय गरेको हो। 

जन्म, मृत्य, विवाह, बसाईसराई र सम्बन्ध विच्छेद जस्ता घटना समयमै दर्ता गराउनका लागि प्रोत्साहन रुवरुप पैसा दिने निर्णय गरिएको नगरपालिकाका प्रवक्ता जमशेर राईले बताए । उनका अनुसार घटना भएको ३५ दिन भित्र आफ्नो वडा कार्यालयमा गएर घटना दर्ता गरेमा एक सय रुपैया प्रदान गरिनेछ । घटना भएपछि ३५ दिन भित्र व्यक्तिगत घटना निःशुल्क दर्ता गर्ने प्रावधान छ। त्यो भन्दा ढिलो भएमा एक वर्षसम्म ५० रुपैया र त्यो भन्दा बढी समय ढिलाई भएमा एक सय रुपैया अतिरिक्त शुल्क लाग्ने व्यवस्था छ। 

धनकुटा नगरपालिकाका सबै वडामा अनलाइन व्यक्तिगत घटना दर्ता भइरहेको छ । पहिले नगरपालिका कार्यालयमै आएर दर्ता गर्नु पथ्र्यो । अहिले वडा कार्यालयमा रहेका कर्मचारीहरुले सूचकलाई सोध्दै अनलाइनमा व्यक्तिगत घटना दर्ता गरिरहेका छन् । सेवाग्राहीलाई सहज सेवा दिनको लागि धनकुटा नगरपालिकाको सबै वडा कार्यालयलाई व्यवस्थित गरिने धनकुटा नगरपालिका मेयर चिन्तन तामाङले बताए।
  
यस्तै बैठकले नगरसभाले पारित गरेको गरिबी सहयोग अनुदान अन्र्तगत धनकुटा नगरपालिका क्षेत्रका गरिव तथा विपन्न वर्गलाई जस्ता पाता वितरण गर्न जस्ता पाता वितरण समिति पनि गठन गरेको छ । मेयर तामाङको संयोजकत्वमा ४ सदस्यीय समिति गठन गरेको छ । जस्ता पाता लाभग्राही संकलन तथा सिफारिसका लागि सूर्य आठपहरियाको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरिएको छ। उक्त समितिले १० वटै वडामा रहेका विपन्न वर्गको तथ्यांक संकलन गरी सिफारिस गर्ने नगरपालिकाका प्रवक्ता राईले बताएका छन्।

प्रकाशित: २५ माघ २०७४ ०७:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App