१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

अवैध दोहनस्थलमा प्राकृतिक स्रोत तथा वातावरण समिति

दोहनस्थलमा मधेस प्रदेशसभाको प्रकृति स्रोत तथा वातावरण समिति टोली। तस्बिर : नागरिक

चुरे क्षेत्रमा भएको दोहनबारे निरन्तर सामाचार प्रकाशित भएपछि मधेस प्रदेश सभाको प्राकृतिक स्रोत तथा वातावरण समितिले चासो देखाएको छ। टोली बिहीबार दोहन स्थल पुगेर घटनाबारे जानकारी लिएर फर्केको छ।

समितिका सभापति शारदा पहाडी, सदस्यहरु सञ्जिला यादव र त्रिभुवन साहसहितको टोलीले सिरहाको सर्रे र खुट्टी खोला पुगेर अवलोकन गरेको छ। चुरे सिरान र वन क्षेत्रमा एक्स्काभेटर प्रयोग गरी भएको दोहन देखेर समितिका सभापति पहाडीले भनिन्, ‘कानुनले निषेध गरेका कार्य रोक्न वनले गरेको हस्तक्षेप सराहनीय छ।’

‘चुरे संरक्षित क्षेत्रमा उपकरण प्रयोग गरी भएको दोहन कार्य गैरकानुनी हो’, उनले भनिन्, ‘कानुनविपरीतका कार्य रोक्नु र रोकिनुपर्छ।’ सामाचारमा दोहनको विषय निरन्तर पढेपछि स्थलगत अनुगमन गर्नुपर्छ भनेर हामी यहाँ आएको सभापति पहाडीले नागरिकसँग भनिन्।

‘यहाँ आउँदा अवस्था झन् भयावह पाएँ। खुट्टी खोलामै ठूलो क्रसर प्लान्ट कानुन, नियम र मापदण्डविपरीत सञ्चालनमा रहेको जानकारी पाएपछि छक्क परें’, उनले भनिन्।

चुरे तथा वन क्षेत्रमा भइरहेको अनियमित र अनियन्त्रित दोहनले अन्न भण्डारको पहिचान पाएको मधेसको पहिचान गुम्ने खतरा बढ्दै गएको समिति सदस्य सञ्जिला यादवले चिन्ता व्यक्त गरिन्। ‘मधेस जोगाउनु छ भने पानीको भण्डार मानिने चुरे र भावर क्षेत्रमा दोहन रोक्नुपर्छ’, उनले भनिन्, ‘हामी प्रकृति र वातावरण संरक्षणमा प्रतिबद्ध छौं। समिति भर्खरै गठन भएको छ। हामी आफ्नो अधिकार क्षेत्रभित्र रही सक्रियता बढाउँछौं’, उनले भनिन्।

समितिका अर्का सदस्य त्रिभुवन साह भन्छन्, ‘स्थलगत हेर्दा दोहन मात्र नभई क्रसर पनि कानुन मिचेर सञ्चालन भएको जानकारी पाएँ। यस विषयलाई प्रदेशसभा र प्रदेश सरकारसमक्ष पु¥याएर नियन्त्रण कार्य सशक्त बनाउँछौं।’

टोलीसँग दोहन स्थल पुगेका जिल्ला समन्वय समिति सिरहाका प्रमुख दिनेश महतोले भने, ‘चुरे तथा वन क्षेत्रमा स्थानीय तहकै संरक्षणमा दोहन दुःखद् हो।’ स्थानीय सरकार चुरे तथा वन संरक्षणमा उदासीन देखिएको घटनाक्रमले देखाएको उनले बताए। नियम र कानुनको परिधिभित्र रहेर काम गर्दा समस्या नै आउँदैन तर स्थानीय सरकारको कानुन नमान्दा समस्या आएको उनको भनाइ छ।

डिभिजन वन कार्यालय लहानका प्रमुख सुजित झाले भने, ‘प्राकृतिक स्रोत तथा वातावरण समितिको स्थलगत अनुगमनले ऊर्जा र हौसला मिलेको छ। अनियमित दोहन रोक्दा धेरै व्यक्ति र निकायबाट दबाव झेलेका झाले भने, ‘चुरे तथा वन संरक्षणको हितमा कार्य गर्न कम्ता चुनौती छैन्। संरक्षण चाहनेको संख्याभन्दा कयौं गुणा बढी मास्न चाहने छन्।’

डिभिजन वन कार्यालय लहानले कानुनविपरीत सर्रे खोला उत्खनन ठेक्का लगाई वन क्षेत्रमा अवैध दोहनमा संलग्न धनगढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश महतोसहित १८ जनामाथि अदालतमा मुद्दा दायर गरेको छ।  

लहान नगरपालिकाले चाइना रेल्वे इन्जिनियरिङ कम्पनीसँग खुट्टी खोला उत्खननको ठेक्का सम्झौता गरी चुरे तथा वन क्षेत्रमा कानुनविपरीत दोहनमा संलग्न प्रमुख प्रशासकीय अधिकृत सुभद्रा गौतम, इन्जिनियर एकमणि सिपलिया, एकजना चिनियाँ नागरिक, दुईजना एक्स्काभेटर चालकसहितका व्यक्तिमाथि अनुसन्धान गरिरहेको छ।

प्रकाशित: ६ पुस २०८० ०४:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App