बालविवाह र छाउप्रथाले समाजमा अझै जरो गाडिरहेकै छ। सामाजिक कुरीति र कुमान्यताले सबैतिर स्थान पाएकै छन् तर तथ्यांकले अन्य क्षेत्रको तुलनामा दूरदराजका विकट गाउँमा यी प्रथा बढी भएको देखाउँछ।
बालविवाह होस् कि छाउप्रथा, यी कानुन विपरीत कार्य हुन्। नेपालको संविधानमा गैरकानुनी कार्य मानेर नै यस्ता प्रथाविरुद्ध ऐननियम र कानुन बनाइएको छ। तर पनि गाउँमा समस्या जस्ताको त्यस्तै देखिइरहेको छ। यस्ता प्रथा सहरमा पनि हुन सक्छन्, तर सहरमा लुकाइएको अवस्था छ।
महिनावारी हुनु भनेको मानव सृष्टि निरन्तरताका लागि योग्यता विकास गर्नु वा प्राकृतिक रूपमा महिलामा हुने शारीरिक प्रक्रिया पूरा गर्नु हो भन्ने कुरा धेरैलाई जानकारी छ। यद्यपि यस चेतनालाई कार्यान्वयन गर्नमा समस्या देखिन्छ। सचेतवर्गबाटै यस्ता रुढीलाई अवलम्बन गर्दा समस्याको समाधान चुनौतीपूर्ण देखिन्छ।
बालविवाह र छाउप्रथाको समस्या भोग्ने जिल्लामा बाजुरा शीर्ष सूचीभित्र पर्छ। यस्ता समस्या समाधान गर्नेभन्दै सरकारी र गैरसरकारी निकायबाट वर्षैपिच्छे लगानी भएकै छ। केही सुधार बाह्य रूपमा भएको पनि आन्तरिक समस्यामा सुधार नभएको स्वीकार गर्छिन् सुदूरपश्चिम किशोरी सञ्जालकी अध्यक्ष मनिषा विष्ट।
विष्ट आफै छाउप्रथा र बालविवाह विरुद्धको अभियानकी अभियन्ता हुन्। खप्तड छेडेदह गाउँपालिका स्तरीय बालक्लबमा आबद्ध भएर सचेतना फैलाउने अभियानमा विष्ट सक्रिय छिन्। उनी आफूमात्र होइन, अन्य किशोरी र बालक्लबका साथीहरूलाई समेत सँगै अभियानमा हिँडाउने र टोलमा सञ्चालन भएको ‘किशोरी सचेतना कक्षा’मा आबद्ध गराउने कार्यमा सक्रिय छिन्।
पहिलेको अवस्थामा धेरै सुधार भएको छ। पहिला प्रायः सबैले बालविवाह गर्ने अवस्था थियो। हाल त्यो बालविवाहको दरमा उल्लेख्य न्यूनता आएको खप्तड छेडेदह गाउँपालिकाका अध्यक्ष दिलबहादुर रावतले बताए।
आर्थिक वर्ष २०७४-७५ को सर्वेक्षण हेर्दा खप्तड छेडेदह गाउँपालिकामा शत प्रतिशत बालविवाह हुने गरेको तथ्यांक थियो। ५ वर्षको अवधिमा त्यो संख्या घटाएर २० प्रतिशत पु¥याएको दाबी गाउँपालिकाको छ।
पालिकाले सचेतना शिक्षा र अभियानलाई निरन्तरता दिएको महिला तथा बालबालिका शाखा प्रमुख शान्ति जोशीले बताइन्। पिसविन र महिला विकास मञ्चसँगको सहकार्यमा धेरै राम्रो काम भएको जोशीको दाबी छ।
महिला विकास मञ्च नामक गैरसरकारी संस्थाले खप्तड छेडेदह गाउँपालिकामा मात्रै २८ वटा टोलमा किशोरी कक्षा सञ्चालन गरेको छ। छाउप्रथा हटाउने, बालविवाह रोक्ने, पढाइप्रति किशोरीको आकर्षण बढाउने र विवाहप्रति जिम्मेवार र कुमान्यताप्रति सचेत बनाउने गरी किशोरी शिक्षा सञ्चालन गरिएको महिला विकास मञ्चका कार्यकारी निर्देशक उजा विष्टले बताइन्।
पालिकाका २८ टोलमा २८ जना सहजकर्ता राखिएको छ। एउटा कक्षामा कम्तीमा २० जना किशोरी सहभागी छन्। पालिकाभित्रमात्रै पाँच सय ६० बढी किशोरी प्रत्यक्ष संलग्न छन्। शनिबार र बिदाको दिन कक्षा सञ्चालन गर्ने गरेको किशोरी कक्षाकी सहजकर्ता कल्पना धामीले बताइन्। आआफ्नै टोल र छिमेकमा यस्ता कक्षा नियमित लिन पाउँदा किशोरीहरू सचेत मात्रै भएका छैनन्, जिम्मेवार पनि देखिएका छन्।
स्नातक अध्ययन गर्ने धामीले ‘किशोरी कक्षा’ सञ्चालन पछि कुनै किशोरीले महिनावारी भएको दिन विद्यालय नछुटाएको र बालविवाह नगरेको बताएकी छिन्। ‘किशोरी कक्षा’ सञ्चालन गरेको दुई वर्ष पुग्न लागेको छ।
आफ्नो समस्या भन्न सक्ने, महिनावारी भएको दिन विद्यालय नगई घरमै बस्ने, लाज मान्ने, पढाइ छुट्ने, १० पासपछि नै बिहे गर्नेजस्ता कुराको अन्त्य भएको ‘किशोरी कक्षा’मा अध्ययनरत छात्रा सजना नेपालीले बताइन्।
‘किशोरी कक्षा र अन्य सचेतनामूलक गतिविधिले बालविवाह रोकिएको, छाउ प्रथाप्रतिको गलत धारणामा कमी आएको, विद्यालयमा नियमिततासमेत बढेको तथ्यांक छ,’ खप्तड छेडेदह गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैशीले बताए। पालिका नै जिम्मेवार भएर लागेको र दुर्गम टोलमा यी कक्षा थप प्रभावकारी भएको जैशीको भनाइ छ।
पालिकामा बालक्लब, किशोरी सञ्जाल, पालिका र अन्य गैरसरकारी निकाय सामाजिक सचेतना फैलाउने कार्यमा सक्रिय रहेकाले सामूहिक पहल र प्रयासबाट बालविवाह र छाउप्रथा समस्यामा सफलता मिल्दै गएको गाउँपालिका उपाध्यक्ष विशुदेवी नाथ बताउँछिन्।
प्रकाशित: ५ पुस २०८० ०१:१८ बिहीबार