२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

वैदेशिक रोजगारीको नाममा ८३ जनालाई ठगी गर्ने कोमलराज पक्राउ

वैदेशिक रोजगारीमा आकर्षक तलब दिलाई दिने भन्दै ८३ जनालाई ठगी गरी संयुक्त अरब इमिरेट्स पुगेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरी ल्याएको छ।

अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को समन्वयमा दुबईबाट पक्राउ गरेर फरार अभियुक्त कोमलराज उपाध्यायलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले नेपाल ल्याएको हो।

सर्लाही घर भई संयुक्त अरब इमिरेट्स बस्दै आएका ४१ वर्षीय उपाध्यायले वैदेशिक रोजगारीको प्रलोभन देखाएर ८३ जनाबाट २ करोड ६३ लाख ५४ हजार ठगेको आरोप छ। जिल्ला अदालतमा उनको बयान जारी रहेको केन्द्रीय अनुसन्धान ब्युरोका सूचना अधिकारी (एसपी) नवराज अधिकारीले नागरिक न्यूजलाई जानकारी दिए।

जिल्ला अदालत काठमाडौँमा उनको बयान सुरु भएको छ। न्यायाधीश किशोर घिमिरेको इजलासमा उनको बयान सुरु गरिएको हो। बयान पुरा भएपछि थुनछेक बहस हुनेछ।

संयुक्त अरब इमिरेट्समा त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सीज प्रालि सञ्चालन गरेर बसेका उपाध्यायले श्रीराम रानाभाट समेत ८३ जनालाई ठगेर फरार भएका थिए। सिआइबीले आरोपी विरुद्ध ठगी र आपराधिक विश्वासघात सम्बन्धी कसुरमा अनुसन्धान गरेर प्रतिवेदन बुझाएको थियो।

सिआइबीका अनुसार उपाध्याय समेत सञ्चालक रहेको त्रिनेत्र म्यानजमेन्ट कन्सल्टेन्सीले यूएईस्थित दुबईमा आर्म्स गार्ड, डिपिएस सेक्युरिटीमा आकर्षक तलब र सुविधा सहितको रोजगारी दिने प्रलोभन देखाई भिजिट भिसा मार्फत दुबई बोलाएको, रोजगारीको लागि भन्दै आफूहरूबाट रकम लिएको तर भने बमोजिम रोजगारीमा नलगाई ठगी गरेको भन्दै शुरुमा ५१ जना पीडितहरूले उनी विरुद्ध जाहेरी दिएका थिए।

अहिले उनी विरुद्ध ८३ जनाको ठगी उजुरी परेको छ। प्रतिवादीहरू विरुद्ध सिआइबीले ठगी सम्बन्धी कसुरमा मुद्दा दर्ता भई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउको लागि इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०७९ वैशाख २७ गते रेड नोटिस जारी भएको थियो।

प्रकाशित: ४ पुस २०८० ०७:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App