१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

गुगलमा भर पर्दा

पुस १ गतेको नागरिक दैनिकको यही स्तम्भमा तपाईंले पक्कै पनि ‘दुम्सी देखिँदाको हर्ष !’ शीर्षकको समाचार पढ्नुभयो। अनुवादका क्रममा नेपालमा नपाइने एउटा जन्तु ‘हेजहग’बारे समाचार बनाउँदा यो जन्तुलाई नेपालीमा के भनिन्छ भनी सोधखोज भयो। गुगललाई सोध्दा उसले हेजहग नै भएको बतायो तर तल पुछारमा पोथ्रे दुम्सी पनि हो है भनी जनायो। यसलाई सुनिश्चित गर्न केही जानकारहरूलाई फोन गरियो तर उनीहरूले पनि गुगललाई सदर गरिदिए।

‘हेजहग’को नेपाली अनुवाद दुम्सी नहुने कुरा फेसबुकमा समाचार सेयर भएपछि मात्र थाहा भयो। तर जसले प्रकाशित तस्बिर हेजहगको हो, दुम्सीको होइन भन्ने बताउनुभयो, उहाँहरूले पनि हेजहगलाई नेपालीमा के भन्छन् भन्ने बताउन सक्नु भएन। यसपछि हामीले केही  

वन्यजन्तुविद्हरूलाई सम्पर्क गर्‍यौं। केहीको फोन उठेन, केहीको व्यस्तताका कारण कुरा गर्न सकिएन। यस्तोमा चर्चित प्राध्यापक करनबहादुर शाहले भने ‘हेजहग’ नेपालमा नपाइने पुष्टि गर्नुभयो।  

‘हेजहग दुम्सी प्रजातिको होइन। यो छुचुन्द्रो प्रजातिको हो। तर छुचुन्द्रो भन्नेबित्तिकै यसलाई धेरैले मुसा परिवारमा राख्छन्। त्यसो होइन। हेजहग र छुचुन्द्रोका पुर्खा एउटै हुन्, जसरी मान्छे र बाँदरका पुर्खा एउटै भएजस्तो। उहाँले भन्नुभयो, ‘हेजहग’ मैले भारतमा अध्ययन गर्दाताका देखेको हुँ। केही वर्षअघि पोखरामा यसलाई भारतीयहरूले डुलाउन ल्याएका बेला ‘कस्मिरी चुहा’ भनी चिनाएका थिए। भारतमा यसलाई कश्मिरी मुसो भन्छन् भने नेपालीमा त्यही नाम राख्दा पनि हुन्छ। अथवा, पोथ्रे भन्न पनि मिल्यो।’

‘छुचुन्द्रो र यसको पुर्खा एउटै भएकाले यिनलाई इन्सेक्टिभोरा (कीटभक्षी) भनिएको हो। हेजहगले कीराफटेङ्ग्रा, चरा, मुसा आदि खान्छ। हेर्नुभयो भने छुचुन्द्रो र हेजहगको थुतुनो पनि मिल्छ,’ उहाँले प्रस्ट्याउनुभयो।  

कतिले पोथ्राजस्तो देखिने हुनाले पोथ्रे दुम्सी नाम राखेको हुनसक्ने भए पनि न त पोथ्रे नाम राख्नेबित्तिकै त्यो जनावर न त विरुवा वर्गमा पर्छ, न  दुम्सीजस्तो देखिने भएकाले यो दुम्सी वर्गको हो। यसरी विज्ञ करनबहादुर शाहले हाम्रो जिज्ञासा शान्त पारिदिनुभयो। ‘हेजहग’को नाउँ नेपालीमा के हुनसक्छ भन्ने प्रश्नमा उहाँले पोथ्रे नाउँ पनि लिन सकिने बताउनुभयो। प्रस्तुतिः अच्युत कोइराला

प्रकाशित: ४ पुस २०८० ०१:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App