१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

कांग्रेस सांसदले दिने भए भूकम्प पीडितलाई १५ दिनको तलब

नेपाली कांग्रेस कर्णाली प्रदेशसभा सदस्यले १५ दिनको तलब भूकम्पपीडितलाई दिने भएका छन्।

संसदीय दलको बैठकले जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर कात्तिक १७ गते राति गएको भूकम्पपीडितका लागि आफ्ना सांसदको १५ दिनको तलब दिने निर्णय गरेको हो। कर्णाली प्रदेशसभाका कांग्रेसका १५ सांसद छन्। संसदीय दलका नेता जीवनबहादुर शाहीले भूकम्पपीडितका लागि १५ दिनको तलब दिने निर्णय भएको जानकारी दिए।

दलको बैठकले भूकम्पपीडितहरूको अस्थायी आवास निर्माण र पुनस्र्थापनाको काम तत्काल अघि बढाउन संघीय सरकारको ध्यानाकर्षण गराउने निर्णय पनि गरेको छ।

बैठकमा प्रदेश सरकारले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको र पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूको पनि भूमिका प्रभावकारी नभएको गुनासो सांसदहरूले राखेका थिए। पार्टीका तर्फबाट सहभागी मन्त्रीहरूले अबदेखि दलसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए।

‘सरकारले गर्ने कामका विषयमा दललाई जानकारी गराउने प्रतिबद्धता मन्त्रीहरूले व्यक्त गर्नुभएको छ,’ बैठकमा सहभागी एक सांसदले भने, ‘सरकारले प्रभावकारी काम गर्न नसकेको र पार्टीका तर्फबाट सहभागी मन्त्रीहरूले समन्वय नगरेको गुनासोपछि उहाँहरूले उक्त प्रतिबद्धता जनाउनुभएको हो।’

बैठकले सरकारका कामकारबाहीका विषयमा सत्तारूढ दलको बैठक तत्काल बोलाउन सरकारको नेतृत्व गरिरहेको दल माओवादी केन्द्रसँग समन्वय गर्ने निर्णय पनि गरेको छ। सरकार गठन भएयता सत्तारूढ दलको बैठक बस्न सकेको छैन।

पूर्वमुख्यमन्त्री शाहीद्वारा ५ लाख प्रदान

नेपाली कांग्रेस कर्णाली प्रदेशसभा संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले भूकम्पपीडितका १०० घर बनाउन ५ लाख रूपैयाँ हस्तान्तरण गरेका छन्। नेपाली कांग्रेस प्रदेश कार्यसमितिले जाजरकोटमा ५० र रुकुम पश्चिममा ५० घर निर्माण गर्ने निर्णय गरेको छ।

‘उक्त घरहरू निर्माणका लागि आवश्यक पर्ने ५ लाख रूपैयाँ संसदीय दलका नेता शाहीले प्रदेश कार्यसमितिलाई ५ लाख रूपैयाँ हस्तान्तरण गर्नुभएको हो,’ स्वकीय सचिव राजबहादुर रोकायले भने, ‘अहिले जाजरकोट र रुकुम पश्चिममा घर निर्माणको काम भइरहेको छ।’

 स्वकीय रोकायले रुकुम पश्चिममा महामन्त्री कृष्ण रोकाय र जाजरकोटमा उपसभापति सनथ कार्कीको नेतृत्वमा घर निर्माण भइरहेको छ।

प्रकाशित: १ पुस २०८० ०२:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App