१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सरकारी कर्मचारीबाटै पत्नीहिंसा

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयमा कार्यरत नायब सुब्बा नवराज शर्मा रिजालले पत्नी निर्मलाकुमारी आचार्यलाई शनिबार बिहान कुटपिट गरी घाइते बनाएका छन्। दैलेखको भैरवी गाउँपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख समेत रहेकी निर्मलामाथि भएको यो दुर्व्यवहारले नेपालमा महिलामाथि हुने हिंसाको उजागर गरेको छ। पतिपत्नी शिक्षित भएको घरमा त महिलाको यस्तो अवस्था छ भन्ने अशिक्षित समाजमा कस्तो होला?

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानमा रहेकी निर्मलाको पतिको कुटपिटबाट आँखा, खुट्टा र पिठ्यूँमा गम्भीर चोट लागेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगर–१० स्थित आफन्तको घरमा बसिरहेकी निर्मलालाई त्यही पुगेर पति रिजालले कुटपिट गरेका हुन्।

पाँच वर्षदेखि पतिबाट हिंसा भोग्दै आएकी निर्मला शुक्रबार सामाजिक विकास मन्त्रालय पुगेकी थिइन्। त्यहींबाट वीरेन्द्रनगरको एक होटेलमा चलिरहेको लैंगिक हिंसाविरुद्धको अभियानमा भाग लिन गएकी उनलाई पतिले फोनबाट गाली गर्दै धम्की दिएका थिए। त्यसपछि उनी घर नगई आफन्तकहाँ गएकी थिइन्।

‘निर्मलाकुमारी आचार्य आफन्तको घरमा बसेका बेला शनिबार बिहान त्यहीं पुगेर श्रीमान्ले कुटपिट गरेको खुलेको छ,’ डिएसपी लक्ष्मण शाहीले भने, ‘कुटपिटबाट घाइते निर्मलाको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ।’

प्रहरीका अनुसार आचार्यले पति रिजालविरुद्ध अभद्र व्यवहारमा मुद्दा दिने तयारी गरेकी छन्।

सामाजिक विकास मन्त्रालयका नायवबसुब्बा रिजालले भने गालामा हान्न खोज्दा घडीले आँखामा लागेको बताए। ‘गालामा थप्पड हान्न खोज्दा घडीले आँखामा चोट लागेको हो,’ उनले भने, ‘अरू कुटपिट भएको छैन।’

उनले पत्नीले कार्यालयको कामले बाहिर जाँदा वा अरू काम गर्दा आफूसँग सरसल्लाह नगरेको विषयलाई लिएर विवाद भएको बताए।

प्रकाशित: २५ मंसिर २०८० ०४:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App