१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

नेपाल–भारत सीमा स्तम्भ मर्मत तथा रंगरोगन

भारतसँग सीमा जोडिएका मोरङका सीमा स्तम्भको मर्मत सम्भार तथा रंगरोगनको काम सुरु गरिएको छ।

यसअघि झापा र सुनसरीमा रहेका सीमा स्तम्भको मर्मत तथा रंगरोगन काम सुरु भइसकेको सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनीका प्रमुख डिआइजी अन्जनीकुमार पोखरेलले जानकारी दिए। 

उनले दुवै देशका सरकारले सीमा स्तम्भ मर्मत तथा रंगरोगनका लागि सशस्त्र प्रहरी बल र भारततर्फ भारतीय सीमा सुरक्षा बललाई जिम्मा दिएको बताए।

दुवै देशका सुरक्षाकर्मीले पाएको आदेशअनुसार अहिले झापा, सुनसरीमा मर्मतको काम भइरहेको र शुक्रबारदेखि मोरङमा रहेका सीमा स्तम्भको मर्मतका थालिएको डिआइजी पोखरेलले बताए।

सन् २०१४ पछि मर्मत तथा निर्माण भएका सीमा स्तम्भमध्ये जोर नम्बर भारतीय सशस्त्र सीमा बलले र नेपाल सशस्त्र प्रहरी बलले बिजोर नम्बरको मर्मत तथा रंगरोगन गर्ने निर्णय भए बमोजिम काम भएको उनले जनाए।

‘मर्मत तथा रंगोगनको कार्य दुवै देशका सीमा सुरक्षा बलको उपस्थितिमा भइरहेको छ। प्रहरीले मात्रै खुला सिमानाको प्रत्यक्ष निगरानी गर्न कठिन रहेकाले सीमाको वास्तविक रक्षक सीमा क्षेत्रका स्थानीय बासिन्दा नै हुन्।’ उनी भन्छन्।

स्थानीय बासिन्दाहरुको सहयोगले सीमा क्षेत्रमा हुने विभिन्न किसिमका आपराधिक गतिविधि, चोरी तस्करीलाई नियन्त्रण गर्न सक्ने हुँदा प्रहरीलाई सहयोग गर्न डिआइजी पोखरेलले आग्रह समेत गरे।

कोशी प्रदेश अन्तर्गत नेपाल–भारत सीमास्थित १ हजार ८ सय ६७ सीमा स्तम्भमध्ये ८ सय २७ वटा मर्मत तथा रंगरोगनको थालिएको हो। उक्त सीमा स्तम्भमध्ये बिजोर नम्बरको सशस्त्र प्रहरीले ४ सय ८३ वटा र जोर नम्बरको भारतीय सीमा सुरक्षा बलले ३ सय ४४ वटा मर्मत तथा रंगरोगनको काम सम्पन्न गरिसकेको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण हेडक्वाटर कंकालिनी मोरङका गणपति तीर्थबहादुर थापाले विराटनगर–१८ स्थित दामादिगीको १७७/१ (६५) नम्बर सीमा स्तम्भबाट मर्मत तथा रंगरोगनको काम थालेको बताए। सुनसरीमा १ सय ३३, मोरङमा ३३ र झापामा ३ सय १७ गरी ४ सय ८३ वटा सीमा स्तम्भको मर्मत कार्य डेढ महिनाभित्र सम्पन्न गरिने बताइएको छ।

सीमा स्तम्भमध्ये १ सय ९९ वटाको रंगरोगन, २ सय २१ वटाको सामान्य मर्मत, ५९ वटाको मध्यम मर्मत र ४ वटाको पूर्ण मर्मत गर्नुपर्ने अवस्थाको रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनीको कार्यालयले जनाएको छ।

प्रकाशित: २३ मंसिर २०८० १४:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App