२९ असार २०८३ सोमबार
image/svg+xml
अर्थ

कोशीका ६ पालिकामा साढे ६ करोडको नवप्रवर्तन परियोजना सुरु

कोशीप्रदेश सरकारले प्रदेशका छवटा पालिकामा नवप्रवर्तन साझेदारी परियोजना सुरु गरेको छ । प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रम नवप्रवर्तन साझेदारी परियोजनाअन्तर्गत इलाम, मोरङ, धनकुटा र खोटाङका विभिन्न पालिकामा सञ्चालन हुनेछन् ।  

कोशी प्रदेशका प्रमुख सचिव राजेन्द्र प्रसाद पौडेल र स्थानीय तहका जनप्रतिनिधिको उपस्थितिमा शुक्रबार परियोजनाको सम्झौता गरिएको हो । कोशी प्रदेश सरकारका सचिव नारायणप्रसाद रिसालले पालिकाका प्रमुख तथा प्रशासकीय अधिकृतसंग सम्झौतामा हस्ताक्षर गरेका छन् । परियोजनाले इलामको रोङ गाउँपालिका, धनकुटाको धनकुटा नगरपालिका, मोरङको सुन्दर हरैचा नगरपालिका, खोटाङको खोटेहाङ गाउँपालिका र ओखलढुंगाको लिखु पिके गाउँपालिकामा सुरु गर्ने समझदारी भएको हो ।  

परियोजनाअन्तर्गत ६ करोड ४३ लाख ३५ हजार रुपैयाँ बराबरको नयाँकार्यक्रमहरू सञ्चालन गरिने जनाइएको छ । सम्झौताअनुसार इलामको रोङ गाउँपालिकामा रोङ उद्यमशीलता र कृषि व्यवसाय सम्बर्द्धन परियोजना सञ्चालन हुनेछ। यसका लागि १ करोड ५० लाख रकम खर्च गरिनेछ। धनकुटा नगरपालिकामा डिजिटल स्थानीय आर्थिक सर्वेक्षण र स्थानीय ई-मार्केटिङ परियोजना सञ्चालन गरिनेछ । यो परियोजनामा १ करोड ६५ लाख रुपैयाँखर्च हुनेछ । 

त्यस्तै भोजपुरको षडानन्द नगरपालिकामा प्रविधिमा आधारित शिक्षा कार्यक्रम सञ्चालन हुनेछ। यसैगरी मोरङको सुन्दर हरैचा नगरपालिकामा १ करोड २६ लाख ७५ हजार रुपैयाँमा सुशासनसहितको समृद्धिका लागि प्रविधि कार्यक्रममा सञ्चालन हुनेछ। खोटाङको खोटेहाङ गाउँपालिकामा गुणस्तरीय स्वास्थ्य सेवा कार्यक्रम अन्तर्गत ६० लाखखर्च हुनेछ। लिखुपिके गाउँपालिकाम डिजिटल शिक्षा विकास  र साक्षरता कार्यक्रमअन्तर्गत ७७ लाख ६० हजार खर्च गरिनेछ।  

कार्यक्रम मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय कोशीअन्तर्गत रहेको प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रम र स्थानीय पालिकाको साझेदारीमा हुनेछ । यो कार्यक्रमले कोशी प्रदेशका ४ लाख ५ हजार ९ सय ४४ घरधुरी लाभान्वित हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ। सम्झौतापत्र हस्ताक्षर समारोहलाई सम्बोधनगर्दै कोशी प्रदेशका प्रमुख सचिव राजेन्द्रकुमार पौडेलले यो कार्यक्रमले कोशी प्रदेशमा समृद्धिको ढोका खोल्ने बताए ।

प्रकाशित: २२ जेष्ठ २०८३ १९:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App