धनकुटा साँगुरीगढी गाउँपालिका –०६ भेडेटार चोकस्थित ट्रकमा लुकाइछिपाई ल्याईएको ६४७ किलोग्राम गाँजासहित चालक र सहचालकलाई पक्राउ गरिएको छ।
बिहिबार बिहान करिब ५ः३० बजे साँगुरीगढी गाउँपालिका–०६ भेडेटार चोकस्थित कोशी लोकमार्गमा विराटनगरतर्फ जाँदै गरेको ना.३ ख ५०९५ नम्बरको ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा फेला परेको हो।
चेकजाँचका क्रममा ट्रकभित्र कालो प्लाष्टिकमा प्याक गरी लुकाइछिपाई राखिएको ४८ पोका गाँजा फेला पारी उक्त गाँजाको तौल गर्दा जम्मा ६४७ किलोग्राम रहेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न ट्रक चालक मकवानपुरको कैलाश गाउँपालिका –०३ निवासी २७ वर्षीय उमेश थिङ र सहचालक धनकुटाको शहिदभूमि गाउँपालिका –०१ बस्ने ३६ वर्षीय तुलराम राईलाई पक्राउ गरिएको छ।
पक्राउ परेका दुवै जनालाई लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: २१ श्रावण २०८३ १२:४८ बिहीबार





