२ श्रावण २०८३ शनिबार
image/svg+xml
कला/साहित्य

मलयालम अभिनेता सलीम कुमारको निधन

मलयालम अभिनेता  सलीम कुमारको ५६ वर्षको उमेरमा कार्डियाक अरेस्ट (हृदयाघात) का कारण निधन भएको छ।

राष्ट्रिय पुरस्कार विजेता सलीमको शनिबार राति निधन भएको हो। उनलाई केरलको कोच्चीस्थित अस्पतालमा भर्ना गरिएको थियो, जहाँ उपचारकै क्रममा उनको मृत्यु भयो। आइतबार उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि सार्वजनिक स्थलमा राखिने र आइतबार नै उनको निवास क्षेत्रमा अन्त्येष्टि गरिने कार्यक्रम तय गरिएको छ।

केरल सरकारले उनको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै अन्त्येष्टिसँग सम्बन्धित सम्पूर्ण खर्च व्यहोर्ने निर्णय गरेको छ।

हास्य कलाकारको रुपमा करियर सुरु गरेका उनी पछि सशक्त चरित्र अभिनेताका रूपमा स्थापित भएका थिए। तीन दशक भन्दा लामो  मलयालम चलचित्र उद्योगमा काम गरेका सलीमले ३०० भन्दा बढी चलचित्रमा काम गरेका छन्। उनी मलयालम चलचित्रमा अभिनय गरे पनि केही तमिल र ओडियाका केही चलचित्रमा समेत भूमिका निर्वाह गरेका थिए।

सन् २०१० मा चलचित्र  ‘आदामिन्टे मकन अबू’ मा निभाएको ‘अबू’ पात्रका लागि उनले राष्ट्रिय चलचित्र पुरस्कार तथा केरल राज्य चलचित्र पुरस्कारमा उत्कृष्ट अभिनेताको सम्मान प्राप्त गरेका थिए। उनी गत वर्ष चलचित्र ‘आजादी’ र ‘भा भा बा’ मा देखिएका थिए।

उनका परिवारमा पत्नी सुनीता तथा दुई छोरा चन्दु सलीम कुमार र आरोमल सलीम कुमार रहेका छन्। उनका छोरा चन्दु पनि अभिनय क्षेत्रमा सक्रिय छन्।

सलीम कुमारको निधनले मलयालम चलचित्र उद्योगले एक प्रतिभाशाली कलाकार गुमाएको छ। उनको योगदान दर्शकहरूले लामो समयसम्म सम्झिरहनेछन्

प्रकाशित: २४ जेष्ठ २०८३ १४:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App