३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

सुन र हुन्डीको अवैध कारोबारी पाण्डे ७ किलो सुन सहित पक्राउ

अवैध सुन र हुन्डी कारोबार गरेको आरोपमा न्युरोडका सुनचाँदी व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ।

न्युरोडस्थित ओम पर्ल गोल्ड प्रालि र कैलाश ज्वेलर्स प्रालिका सञ्चालक पदमप्रसाद पाण्डे पक्राउ परेका हुन। उनी कैलालीको लम्की चुहा नगरपालिका–७ का स्थायी बासिन्दा हुन।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पाण्डेसँग ७ किलो १८५ दशमलव ३३५ ग्राम सुन तथा सुनका गरगहना, चार हजार एक सय अमेरिकी डलर, ३९ लाख ५० हजार नेपाली रकम, मोबाइल र विभिन्न कागजातहरू पनि बरामद गरेको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) रविन्द्र रेग्मीका अनुसार पाण्डेमाथि काठमाडौंका विभिन्न ठाउँमा बिल–बिजकबीनाको सुनका गरगहनाहरू बिक्री वितरण गरेको र गैरकानुनी रूपमा हुण्डी मार्फत वित्तीय कारोबार गरेको आरोप छ। 

यस्तै उनीमाथि तस्करीको सुन गालेर विक्री गर्ने गरेको आरोप छ। उनको पसललाई अवैध सुन गाल्न प्रयोग गरिएको कारखाना नै देखिएको प्रहरीको दाबी छ।

‘हामीकहाँ विश्वस्त सूचना आएपछि छापा मारेका हौं। छापा हान्दा सूचना अनुसारका केही सबुत प्रमाण पनि फेला परेका छन्,’ एसपी रेग्मीले भने।

उनका अनुसार पाण्डेलाई गैह्र कानुनी हुन्डी मार्फत वित्तीय कारोबार गरेको पाइएकाले नेपाल राष्ट्र बैंक ऐनअन्तर्गतको कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाएको छ।

यस्तै बिल–विजकबीना सुनको गरगहना विक्री वितरण गर्ने गरेको र अमेरिकन डलरसमेत बरामद भएकाले राजस्व छली सम्बन्धी कसुरमा थप अनुसन्धान गर्न राजस्व अनुसन्धान विभागलाई पत्राचार गरिएको पनि एसपी रेग्मीले जानकारी दिए।

पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा ठूलो मात्रामा सुन भित्रिरहेका घटनाहरू बाहिरिएका थिए।

साउन ३ गते मात्रै विमानस्थल भन्सार कार्यालयबाट जाँच पास भएर बाहिरिएको ६० किलोभन्दा बढी सुन राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो।

त्यसअघि इलेक्ट्रिक सिगरेट (भेप) मा लुकाएर ल्याएको नौ किलो सुन प्रकरण पनि सार्वजनिक भएको थियो। उक्त घटनामा संलग्नताको आरोपमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुललगायतका व्यक्ति पुर्पक्षका लागि थुनामा छन्।

दुवै प्रकरणको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को अनुसन्धानपछि काठमाडौं जिल्ला अदालतमा मुद्दा चलिरहेको छ।

प्रहरी अनुसन्धानले यसरी तस्करहरूले अनेक बहाना बनाएर भित्र्याएको अवैध सुन नेपालमा गालेर गहना बनाइ भारत पठाउने गरेको प्रमाण प्रहरीले फेला पारेका छन्।

सुन तस्करी सम्बन्धमा न्यायिक जाँचबुझ गर्न सरकारले जाँचबुझ आयोग ऐन, २०२६ को व्यवस्था बमोजिम पूर्व न्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा जाँचबुझ आयोग गठन गरेको छ।

आयोगमा किशोरजंग कार्की, प्रेमराज जोशी र सहकुल थापा सदस्य छन्। आयोगले अहिले छानबिनलाई तीव्र पारेको छ।

प्रकाशित: २० मंसिर २०८० १२:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App