१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

रविनालाई तिम्ल्याहा शिशु हुर्काउन कठिनाइ

फाइल तस्वीर

गौरीगञ्ज गाउँपालिका-४ की सुकुम्बासी मजदुर परिवारकी रबिना ताजपुरियालाई तिम्ल्याहा शिशु हुर्काउन आर्थिक कठिनाइ भएको छ। उनले डेढ महिनाअघि तिम्ल्याहा छोरा जन्माएकी थिइन्। दैनिक ज्याला-मजदुरी गरेर जीविका चलाउँदै आएको उनको परिवारमा लत्ताकपडा र खाद्यान्नको जोहो नभएकाले तिम्ल्याहा सन्तानलाई चिसोबाट जोगाउँदै स्याहार्न समस्या भएको हो।

सुत्केरी ताजपुरियाका पति गाउँघरमा मजदुरी गर्छन्। घरमा पाँच वर्षमुनिका दुई छोरी पनि छन्। यसअघि पति र पत्नीको मजदुरीको कमाइले परिवारलाई चाहिने खाद्यान्नको जोहो हुँदै आएको थियो।

ताजपुरिया परिवार आफ्नो जग्गा नभएकाले ऐलानी जग्गा भएको सुकुम्बासी वस्तीमा बस्दै आएको छ। तिम्ल्याहा सन्तान विराटनगरको नोबेल मेडिकल कलेजमा जन्मिएका थिए। सुत्केरी व्यथा लागेपछि अस्पताल लैजान पालिकाले निःशुल्क एम्बुलेन्स उपलब्ध गराएको थियो।

अहिले तीन शिशु हुर्काउन पत्नी एक्लैले नसक्ने भएकाले पतिसहित परिवारका सबै सदस्य लागेर स्याहार गर्दै आएका छन्। ज्यालादारी काममा जान नभ्याउँदा दैनिक कमाइ शून्य भएको छ।

ताजपुरिया परिवारलाई खाद्यान्न सहयोग र लत्ताकपडाको खाँचो छ। ऐलानी जग्गामा रहेको भुइँघरमा ओछ्याउने र बस्ने न्याना कपडा छैनन्। शिशु बिरामी हुने जोखिम बढेको छ। शिशुलाई लगाइदिने पर्याप्त न्यानो कपडा परिवारसँग छैन। शिशु सुताउने कोक्रो नभएकाले साडीको कामचलाउ झोलुङ्गो बनाइएको छ। सुत्केरी आमा र शिशुलाई लामखुट्टबाट जोगाउने झुल पनि छैन। रासस

प्रकाशित: १७ मंसिर २०८० ०५:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App