२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

जाजरकोट भूकम्पको एक महिनाः ९ जना अझै उपचाररत, त्रिपालको बासले २५ को मृत्यु

जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका–१ को रामीडाँडा केन्द्रबिन्दु पारेर ६.८ म्याग्निच्यूडको भूकम्प गएको आज एक महिना पुगेको छ। यो भूकम्पमा परेर जाजरकोटमा १ सय १ जना र रुकुम पश्चिममा ५३ जना गरी १ सय ५४ जनाको मृत्यु भयो।

घाइतेहरूमध्ये ९ जनाको अहिले पनि अस्पताल उपचार भइरहेको छ। ती घाइतेको उपचार भेरी अस्पताल र काठमाडौँका अस्पतालमा भइरहेको छ। 

अहिले पनि जाजरकोट र रुकुम पश्चिममा भूकम्पको पिडा त्यत्तिकै छ। घरबारविहीन परिवारहरू त्रिपालमा बस्न बाध्य छन्। सरकारको सुरक्षित आवास निर्माण कार्यक्रम प्रभावकारी भएको छैन।सङ्घीय सरकारले विभिन्न समयमा आवास निर्माणको बजेट पठाइसकेपछि त्यसको प्रभावकारी सदुपयोग हुन सकिरहेको छैन।

चिसो बढेसँगै भूकम्प प्रभावितहरूको दैनिकी अझ कष्टकर बनिरहेको छ। त्यसो त विभिन्न राजनीतिक दल र तीनका कार्यकर्ताहरू प्रभावित क्षेत्र पुगेर अस्थायी टहराहरू बनाउने काम गरिरहेका छन्। तरपनि यो पर्याप्त छ्रैन्। अस्थायी संरचना बस्नका लागि केही सहज भएपनि चिसोबाट जोगिन भने पीडितहरूलाई हम्मे हम्मे पर्ने देखिन्छ। 

त्रिपाल मुनीको बासले गर्दा चिसोका कारण मर्नेहरूको सङ्ख्या बढ्दो छ। भूकम्प कात्तिक १७ गते गयो। त्यसले गरेको मानवीय र भौतिक क्षति एकातर्फ छदै छ। अर्कोतर्फ भूकम्प प्रभावित परिवारहरूको समयमै उचित व्यवस्थापन र सुरक्षित बसोबासको व्यवस्था नहुँदा श्वासप्रश्वासलगायत विभिन्न रोगबाट थलिएका सर्वसाधारणहरूको चिसोका कारण मृत्यु हुन थाल्यो। 

कात्तिक १९ गतेदेखि अहिलेसम्म जाजरकोटमा दुई शिशु, एक बालिका गरी २५ जनाको मृत्यु भएको छ। 

पछिल्लो पटक जाजरकोट कुशे गाउँपालिकामा चिसोले एक बालिकाको मृत्यु भएको हो। गाउँपालिका–१ स्याग्रीका सुनिल वादीकी तीन बर्सिया छोरी रक्षाको चिसोले कठ्याङ्ग्रिएर बुधवार बिहान मृत्यु भएको गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले जानकारी दिएका थिए।  

स्थानीय स्वास्थ्य संस्थामा जाँच गर्दा निमोनिया देखिएपछि अस्पताल लैजाने क्रममा बालिकाको छेडागाडस्थित मटेलामा निधन भएको उनले बताए। गत कात्तिक १७ गतेको भूकम्पले घर चर्किएपछि मृतक बालिकाको परिवार पालमुनि बस्दै आएको अध्यक्ष बस्नेतले बताएका थिए।  

यसअघि जाजरकोटमा मात्र चिसोकै कारण दुई शिशुसहित २४ जनाको मृत्यु भएको थियो।  

भूकम्पले घर भत्किएपछि जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडाका नेत्र विकको सात जनाको परिवार पालमुनि पुग्यो। कात्तिक १७ गते आएको भूकम्पको केन्द्रबिन्दु रामीडाँडा उच्च पहाडी क्षेत्र हो। त्रिपालमुनि बस्न थालेदेखि नेत्रकी ७३ बर्सिया वृद्ध आमा गोरी कामी बिरामी हुन थालिन्।  

‘त्रिपालमुनि न्यानो कपडा नहुँदा आमाको स्वास्थ्य अवस्था बिग्रँदै गयो,’ नेत्रले भने, ‘उपचारका लागि गत बुधवार रामीडाँडा स्वास्थ्य चौकीमा भर्ना गरायौँ। उपचार सम्भव नभएपछि लिम्साको आधारभूत अस्पताल पनि लग्यौंं। तर, वृद्ध शरीर भएकी आमालाई बचाउन भने सकेनौँ।’  

रामीडाँडामा अहिले झन् चिसो बढेको छ। पालमुनिको बास अझै कहिलेसम्म हुने हो टुङ्गो छैन। चिसोले आमा गुमाएका उनी अहिले परिवारका अरू सदस्यहरू पनि थलिन थालेपछि चिन्तामा छन्।

रामीडाँडा स्वास्थ्य चौकीमा कार्यरत अनमी सपना बुढाका अनुसार भूकम्पपछि दैनिक बिरामीहरूको सङ्ख्या बढ्दै गएको छ। ‘अरू बेला दिनमा १० देखि १२ जनासम्म बिरामीहरू आउँथे,’ उनले भनिन्, ‘अहिले दैनिक एक सय बढी बिरामीहरू स्वास्थ्य संस्थामा आउने गरेका छन्।’ उपचारका लागि आउने अधिकांशमा ज्वरो आउने, बान्ता हुनेलगायतका समस्या देखिने गरेको उनले बताइन्।

भूकम्पपछि चिसोले जाजरकोटमा ज्यान गुमाउने गोरी एक्ली होइनन्। भूकम्पयता जाजरकोटमा मात्रै अहिलेसम्म २४ जनाको मृत्यु भइसकेको छ। प्रहरीको तथ्याङ्क अनुसार कात्तिक १९ देखि हालसम्म २४ जनाको चिसोकै कारण ज्यान गुमाएका छन्। कात्तिक १९ मा जाजरकोटमा चिसोका कारण पहिलो मृत्यु भएको थियो।  

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार जाजरकोटको कुशे गाउँपालिकाका ७ जना, भेरी नगरपालिकामा २, बारेकोट गाउँपालिकामा २, नलगाड नगरपालिकामा ३, छेडागाड नगरपालिकामा ५ र जुनिचाँदे गाउँपालिकामा ४ जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार जुनिचाँदे गाउँपालिका–५ सिलिन्गेमा मृत्यु भएका एक वर्षीय बालक निरजको निमोनिया र ज्वरोका कारण मृत्यु भएको हो। यस्तै भेरी नगरपालिका–२ पुरानो रिसाङकी एक महिनाको शिशु निरुता पुनको पनि नियोमियाको कारण मृत्यु भएको थियो। निमोनिया भएपछि उनलाई जिल्ला अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो।  

प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी भिमप्रसाद ढकालका अनुसार मृतकमध्ये अधिकांश दमका बिरामीहरू हुन्। मृतकमध्ये दुई जनालाई हृदय घात भएको थियो भने अधिकांश दम रोगका बिरामीहरू थिए। चिसोमा दीर्घ रोगीहरू ठुलो समस्यामा छन्। कर्णाली प्रदेश अस्पतालका डाक्टर विकाश खड्काका अनुसार दमका बिरामीहरूलाई न्यानो आवश्यकता पर्छ।  

‘भूकम्प प्रभावित जिल्लामा घर भत्किएर नागरिकहरू अहिले पालमुनि बस्नु भएको छ, न्यानोको अनुभूति गर्न पाउनु भएको छैन,’ उनले भने, ‘चिसोका कारण दमलगायत दीर्घ रोगीहरू समस्यामा हुनुहुन्छ।’ भूकम्प पीडितहरूले अझै अस्थायी घर बनाउन सकेका छैनन् । चिसो झनझन बढ्दै गएको छ।    

भूकम्पयता जाजरकोटमा मृत्यु भएकाहरूको विवरण:

१. गल्पु शाही (५१) कुशे–६

२. पदमबहादुर शाही (५९) कुशे–७

३. मनबहादुर शाही (५५) कुशे–६

४. डुमे पुन (७०) कुशे–१

५. लालबहादुर शाही (५४) कुशे–७

६. मैना सिंह (८०) कुशे–२

७. रामसिलन गिरी (५२) कुशे–९

८. धुलेश्वर कार्की (८८) भेरी–२

९. निरुता पुन (१ महिना) भेरी–२

१०. चल्ली दमाई (८०) बारेकोट–७

११. गोरी कामी (७३) बारेकोट–१

१२. नरेन्द्र सिंह (७१) बारेकोट–४

१३. सर्मिला विक (२५) नलगाड–८

१४. गोपालबहादुर रावल (८४) नलगाड–४

१५. पम्फा रावल (४९) नलगाड–४

१६. सिडुगे शाही (७०) जुनिचाँदे–९

१७. बिर्खे दमाई (६४) जुनिचाँदे–१

१८. सुगिली नेपाली (८९) जुनीचाँदे–४

१९. निरज शाही (१) जुनिचाँदे–५

२० मनसरी कामी (५६) छेडागाड–१३

२१. मनी रावत (६२)  छेडागाड–२

२२. सेतु बुढा (६१) छेडागाड–२

२३. हरिबहादुर रावत (५७) छेडागाड–१

२४. लिले बुढा (६५) छेडागाड–१

२५. रक्षा वादी (३) कुशे गाउँपालिका–१

प्रकाशित: १७ मंसिर २०८० ०२:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App