१२ श्रावण २०८१ शनिबार
image/svg+xml
समाज

लालपुर्जा पाइने भएपछि खुसी छन् स्थानीय

कैलालीको  टीकापुर नगरपालिका ६ का निसादविक्रम बम ६० वर्षदेखि एक बिघा ६ कट्ठा ऐलानी जग्गा भोगचलन गर्दै आएका छन्।जग्गा भएर पनि सुकुम्वासीको जस्तो जीवन बिताउन बाध्य निसाद यतिबेला भने खुसी छन्।

राष्ट्रिय भूमि आयोग गठन भएर जग्गा वितरणको काम सुरु भएसँगै वडा कार्यालयबाट लालपुर्जाको निस्सा पाएपछि उनी खुसी भएका हुन्। ‘जग्गा भएर पनि सुकुम्वासीजस्तो बस्नुपरेको थियो। त्यस जग्गाबाट उत्पादन गर्नुभन्दा अर्को विकल्प नहुँदा धेरै सपना मार्नुपरेको थियो। ‘निसाद भन्छन्, ‘पहिल्यै लालपुर्जा पाएको भए त्यही जग्गा बैंकमा राखेर कैयन् काम गर्न सकिन्थ्यो, त्यो हुन सकेन। अब आशा जागेको छ। स्थानीय सरकारले ढिलै भए पनि लालपुर्जा वितरण प्रक्रिया सुरु गर्दा आगामी दिनमा विगतको जस्तो समस्या आउने छैन।’

वडा कार्यालयले भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई लालपुर्जा वितरणका लागि निस्सा वितरण सुरु गरेसँगै वडाभित्रका करिब ६ सय परिवारमा खुसीयाली छाएको छ। सोही ठाउँका मंगल पुनसँग कति जग्गा छ भन्ने थाहै छैन। करिब सात दशकदेखि भोगचलन गर्दै आएको जग्गा अनुमानित एक बिघाभन्दा बढी छ।

वडा कार्यालयबाट निस्सा पाएपछि निकै खुसी भएका उनी लालपुर्जा पाउनेमा विश्वस्त छन्। ‘एक बिघाभन्दा बढी जग्गा होला तर नापजाँच अहिलेसम्म भएको छैन’, उनी भन्छन्, ‘वडा कार्यालयबाट निस्सा पाएपछि लालपुर्जा पाउने आशा जागेको छ। अब जग्गा कति छ भन्ने थाहा हुन्छ।’

भ्रतापुरका खेदु डगौरा पनि चार दशकदेखि ऐलानी जग्गा कुरेर बसेका छन्। १० कट्ठा जग्गा ६ कट्ठामा सीमित भएको छ। सँधियारले मिच्दै गएपछि उनको १० कट्ठा जग्गा ६ कट्ठामा सीमित भए पनि उनका लागि सबथोक त्यही जग्गा हो। ‘त्यसमा भएको उब्जनीबाट परिवारको पेट भरिन्छ। छोराछोरीको कापीकलम पनि हुन्छ’, खेदु भन्छन्।

वडामा ६ सय ४० जनालाई जग्गको निस्सा वितरण भएको वडाध्यक्ष बलिराम चौधरीले बताए। उनका अनुसार २० परिवार भूमिहीन दलित, ८० परिवार भूमिहीन सुकुम्वासी र पाँच सय ४० अव्यवस्थित बसोवासीलाई लालपुर्जा वितरणका लागि निस्सा वितरण सुरु गरेको हो। ‘आजसम्म हामीले लालपुर्जा वितरण गरिसक्नुपर्ने थियो। बीचमा भएको सरकार परिवर्तन र अन्य प्राविधिक समस्याले समयमा काम गर्न सकिएन। ‘वडाध्यक्ष चौधरी भन्छन्, ‘निस्सा वितरणको काम सकिएलगत्तै जग्गा नापजाँच सुरु गरेर लालपुर्जा वितरण गर्ने तयारी गरेका छौं।’

नगरपालिकाले केही दिनमा अरू वडामा समेत भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई लालपुर्जा वितरणका लागि निस्सा वितरण सुरु गर्ने नगर प्रमुख रामलाल डगौरा थारूले जानकारी दिए। उनले सबैभन्दा बढी समस्या वडा १ र ८ मा रहेको र त्यहाँ भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासी धेरै रहेको बताउँदै क्रमशः सबैलाई जग्गाको मालिक बनाइने बताए।

टीकापुर नगरपालिका १ स्थित टीकापुर बहुमुखी क्याम्पसको जग्गामा मात्रै पाँच हजारभन्दा भन्दा बढी सुकुम्वासी छन्। क्याम्पसका नाममा रहेको तीन सय बिघा जग्गा अतिक्रमण गरेर बसेका सुकुम्वासी त्यही ठाउँमा जग्गा पाउने आशामा छन् भने क्याम्पस प्रशासनले पटकपटक आफ्नो जग्गा खाली गराइदिन स्थानीय सरकारमार्फत आग्रह गर्दै आएको छ। त्यहाँ बसोवास गरिरहेका सुकुम्वासीलाई व्यवस्थापन गर्न भने चुनौती देखिन्छ।

प्रकाशित: १६ मंसिर २०८० ०२:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App