१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

हमास इजरायल युद्धविरामः बेपत्ता विपिन फर्किन बढाएको आशा

हमासले पहिलो चरणमा बालबालिका र वृद्धवृद्धालाई रिहा गर्ने बताएको हुँदा अर्को चरणमा विपिन जोशी छुट्न सक्ने सम्भावना रहेको सरकारले बताएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार हमास इजरायल युद्धविराममा भएको बन्धक रिहाइको क्रम बढेसँगै  बेपत्ता रहेका नेपाली नागरिक विपिन जोशीको रिहाइको आशा बढेको छ। गत ७ अक्टुबरमा हमासले इजरायलमाथि आक्रमण गरेदेखि नै विपिन बेपत्ता विपिनको खोजीमा सरकार दिनरात लागिपरेको  छ। 

मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले विपिनको बारेमा इजरायली सेनाले बताएसँगै उनको रिहाईका लागि विभिन्न पक्षसँग कुराकानी भइरहेको बताइन्।  

युद्धका दिनदेखि नै सम्पर्कबिहीन रहेका विपिन हमासको नियन्त्रणमा भएको हुन सक्ने इजरायलले दावी गरेपछि उनको नेपाल फर्किने आशा बढेको हो।  

नागरिक न्यूजसँग कुराकानी गर्दै उनले इजरायली सेनाले विपिनको बारेमा बताएसँगै उनको रिहाईका लागि मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको कतार र इजरायलसँग पनि कुराकानी भइरहेको बताइन्। उनले सहमति अनुसार हमासले पहिलो चरणमा बालबालिका र वृद्धवृद्धालाई रिहा गर्ने बताएको हुँदा अर्को चरणमा विपिन छुट्न सक्ने सम्भावना रहेको बताइन्।

उनले पहिलो चरणमा ४ दिनका लागि युद्धविराम लागू हुने भएको र अर्को चरणको युद्धविराम भएसँगै विपिन नेपाल फर्किन सक्ने सम्भावना रहेको पनि बताइन्।अर्को चरणको युद्धविराम कहिलेबाट लागू हुन्छ भन्ने विषयमा हालसम्म कुनै जानकारी भने दिइएको छैन।

हमास र इजरायलबीच युद्ध विरामका लागि मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको कतारका सहायक विदेशमन्त्री सुल्तान विन साद अल–मुरैखीसँग गम्भीर छलफल भएको प्रवक्ता लम्सालले बताइन्।

कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का २३ वर्षीय विपिन सुदूरपश्चिम विश्वविद्यालयको कृषि तथा विज्ञान संकायमा अध्ययनकै क्रममा ‘अर्न एन्ड लर्न’ कार्यक्रमअन्तर्गत गत भदौमा इजरायल गएका थिए। उनीसँगै गएका ४९ जना विद्यार्थीमध्ये १० हमास आक्रमणमा मारिएका थिए ।

गत मङ्सिर ३ गते इजरायली सैनिकले सामाजिक सञ्जाल प्लेटफर्म एक्स (ट्वीटर) मा भिडिओ सार्वजनिक गरेको थियो। त्यसमा दुई जना बन्धकलाई हमासका लडाकुले उपचार कक्षमा लैजाँदै गरेको दृश्यमा  दुईमध्ये एक नेपाली रहेको आइडिएफले  भनेको थियो।आइडिएफको दाबी सत्य भए तीमध्ये एकजना विपिन हुन्।

प्रकाशित: ११ मंसिर २०८० ०४:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App