१२ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

दुईवटा गाडी हुँदाहुँदै हाकिमलाई तेस्रो गाडी भाडामा !

प्रमुख प्रशासकीय अधिकृतले भाडामा लगेको गाडी नगरपालिका परिसरमा। तस्बिर: योगेश रावल।

कैलालीको टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणबहादुर विष्टले आफ्ना लागि महँगोमा गाडी भाडामा लगेका छन्। उनले नगरपालिकासँग दुई वटा गाडी हुँदाहुँदै मासिक ९० हजार रुपैयाँ तिरेर गाडी भाडामा लगेका हुन।

हाल नगरपालिकासँग से १ झ २३२ र से १ झ २९४ नम्बरको दुई वटा स्कारपियो छन्। ती दुवै गाडी चालु अवस्थामा छन्।

प्रमुख प्रशासकीय अधिकृत विष्टले हरेक महिना सम्झौता गर्ने र सोही अनुसार भुक्तानी गर्ने गरी बा. प्र. ०–१–०२४ च १८४७ नम्बरको गाडी भाडामा लगेका हुन्। यो गाडी टीकापुर नगरपालिका वडा नम्बर १ का रुपेश देवकोटाको हो। उनले यसअघि यही गाडी कैलालीकै जानकी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुँदा समेत यसैगरी भाडामा लगेको बताइएको छ।

गाडी धनी र नगरपालिकाकाबीच भएको सम्झौता अनुसार एक महिनाको भुक्तानी समेत भैसकेको छ। गाडीमा लाग्ने इन्धन (पेट्रोल) समेत नगरपालिकाले व्यहोर्ने सम्झौतामा उल्लेख छ। गाडी धनी र प्रमुख प्रशासकीय अधिकृत विष्ट स्वयम्ले सम्झौतामा हस्ताक्षर गरेको बताइएको छ। सो सम्झौतामा नगरपालिकाको लेखा, प्रशासन र जिन्सी शाखाले समेत साक्षीका रुपमा हस्ताक्षर गरेका छन्।

प्रमुख प्रशासकीय अधिकृत विष्टले गाडी भाडामा लगेको कुरा स्विकारेका छन्। उनले गाडी आवश्यकताको औचित्यका बारेमा भने प्रष्ट खुलाएनन्। उनले सरकारी मापदण्डले तोकेको भन्दा सस्तोमा गाडी भाडामा लगेको दाबी गरे।

‘मापदण्ड अनुसार दैनिक छ हजार हो। मैले तीन हजारमा लगेको छुँ’ उनले भने –‘यो गाडी भाडा सस्तो नै हो।’

उनले वर्षभरिको लागि सम्झौता गर्दा रकम बढी हुने भएकाले हरेक एक महिनामा सम्झौता गर्ने र सोही अनुसार भुक्तानी गर्ने गरी चलाखीपूर्ण ढंगले गाडी भाडामा लगेको पाइएको छ। उनले यसअघि जानकी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुँदा समेत यसैगरी गाडी सम्झौता र भुक्तानी गरेका थिए।

स्थानीयले आर्थिक अवस्था जटिल बनेको बेला प्रमुख प्रशासकीय अधिकृतले महँगोमा गाडी भाडामा लगेर नगरपालिकालाई आर्थिक भार थपेको भन्दै चर्को आलोचना गर्ने गरेका छन्। उनीहरुले औचित्य र आवश्यकतालाई बेवास्ता गर्दै नगरपालिकालाई आर्थिक भार थोपर्ने काम जनविरोधी कार्य भएको बताउने गरेका छन्।

स्थानीयले प्रमुख प्रशासकीय अधिकृतको कार्यको विरोध गरे पनि नगर प्रमुख रामलाल डगौरा थारु भने उनको पक्षमा उभिएका छन्। उनले प्रमुख प्रशासकीय अधिकृत विष्टले आवश्यकता अनुसार नै गाडी भाडामा लगेको बताए। उनले तीन वटा गाडी नगरपालिकाका लागि आवश्यकता भित्रै पर्ने बताए।

‘हामीसँग भएको दुईवटा मध्ये एउटा मलाई र अर्को उपमेयरलाई चाहियो। उपमेयरले पनि अनुगमन गर्नुपर्छ। आफ्नो गाडी हाकिमलाई दिनुहुन्न’ उनले भने–‘हाकिमलाई पनि त चाहियो। यो आवश्यकता अन्तर्गत नै हो।’

कैलालीमै पनि कुनै पालिकाका प्रमुख उपप्रमुख आफ्नै निजी गाडी चढ्छन्। कुनै पालिकामा एउटै गाडीले काम चलेको छ। प्रमुख, उपप्रमुख, कार्यालय प्रमुख आवश्यकता अनुसार एउटै गाडीले काम चलाउँछन। उनीहरुले आर्थिक मितव्ययितामा ध्यान दिने गरेका छन्। तर टीकापुर नगरपालिकामा भने आर्थिक मितव्ययिता हैन आर्थिक बेथितिले जरा गाडेको स्थानीयको आरोप छ। उनीहरु प्रमुख देखी हाकिमसम्मको ध्यान आर्थिक भार थप्न तर्फ केन्द्रित रहेको बताउँछन्।

प्रमुख प्रशासकीय अधिकृत विष्ट टीकापुर नगरपालिका वडा नम्बर-२ सीतापुरका स्थायी बासिन्दा समेत हुन। उनी टीकापुर नगरपालिका वडा नम्बर-१ ब्लक नं. १४ स्थित नगरपालिकाको क्वाटरमा बस्दै आएका छन्।

प्रकाशित: ६ मंसिर २०८० ०८:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App