७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

मुगु हत्यामा 'मामाका छोरा' को संलग्नता, जेठमै बनेको थियो हत्या गर्ने योजना

मुगुको छायाँनाथ रारा नगरपालिका–६ मुन्दुगाउँमा एकै परिवारका चार जनाको हत्यामा संलग्न आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मुगु घर भएका  ३१ वर्षीय गोरखराज शाही (ठकुरी) र ३१ वर्षीय गोपाल बोहोरा छन्। उनीहरूलाई केही समयपछि पत्रकार सम्मेलन गरेर जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गर्ने तयारी गरेको छ।

गोपाल श्रीदेवीको आफ्नै 'मामाका छोरा' हुन् भने गोरखबहादुर पनि नातेदार नै हुन्। गोपाल यसका मुख्य योजनाकार रहेको प्रहरीले जनाएको छ। प्रहरी स्रोतका अनुसार गाउँमा सम्पत्तिको हिसाबले मृतक परिवार अरूभन्दा धनी मानिन्थ्यो। श्रीमान् कतार बस्थे। उनले त्यहाँ बसेर महिनामा लगभग डेढ लाख जति कमाउने रहेछन्।

प्रहरी स्रोतले भन्यो, 'गोपालसँग खासै सम्पत्ति केही थिएन। अल्लारे भएर हिँड्ने खालका व्यक्ति हुन्। श्रीमान् विदेशमा रहेकाले श्रीदेवीको घरमा ठूलो धन सम्पत्ति हुनुपर्ने गोपालको अनुमान थियो। उनी थुप्रै सुन र नगद पाउने आशामा थिए। यही लोभमा उनले गोरखबहादुरसँग मिलेर श्रीदेवीको हत्या गर्ने योजना बनाए।' प्रहरीका अनुसार उनीहरूले पहिलो पटक हत्या गर्ने प्रयास गत जेठमै गरेका थिए। तर योजना बनाए पनि त्यस बेला हत्या र लुटपाट केही गरेनन्।योजना धेरै पहिले बनेको थियो। जेठमै मार्ने भनेका रहेछन्। तर त्यति बेला श्रीदेवी गर्भवती थिइन्।

अनुसन्धानमा संलग्न प्रहरीले भने, 'गर्भवती भएकाले उनीहरूले हत्या नगरेको भनेका छन्। त्यसपछि गत असोजमा एक दिन भेटेर उनीहरूले फेरि हत्या गर्ने योजना बुने। त्यस बेला उनीहरूले कात्तिकमा दसैँपछि हत्या गर्ने योजना बनाएका थिए।'

योजना अनुसार नै दसैँमा टीका थापेर फर्किएकी श्रीदेवी र तीन सन्तानलाई उनीहरूले पछ्याएका थिए। जसै उनीहरू घर पुगे, गोपाल र गोरखबहादुरले भित्र पसेर चारै जनाको बीभत्स हत्या गरेको प्रहरीले जनाएको छ। हत्यापछि गोरखबहादुरले श्रीदेवीको मोबाइल फोन र कानका गहना लिए। घरमा अरू नगद र गहना भने फेला नपरेको प्रहरीको भनाइ छ।

'पैसा भेटिएको देखिएन। तर कानमा लगाएको अन्दाजी दुई तोलाको सुन लिएर गए। फोन र हत्यामा प्रयोग गरिएको हतियार पनि लिएर गए,' अनुसन्धानमा संलग्न प्रहरीले भने, 'सुन फेला परेको छैन। हत्यापछि घरमा ताला लगाएर उनीहरू निस्किएका थिए। घटना बाहिरिइसक्दा पनि गोपाल त्यहीँ वरिपरि नै देखिएका थिए। कोहलपुरका गोरखबहादुर भने भागिसकेका थिए। श्रीदेवीको फोन उनकै साथमा थियो। त्यही फोनबाट उनले कतारमा रहेका दीपकलाई घटनास्थलका तस्बिरहरूसमेत पठाएका थिए।'

आफ्नो परिवार नै सखाप हुने गरी घटना भएको थाहा पाएपछि दीपक नेपाल फर्किएका छन्। उनी मानसिक रूपमा विक्षिप्त छन्।यता प्रहरीले दुई अभियुक्तविरुद्ध जिल्ला अदालत मुगुबाट कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाएको छ।

प्रकाशित: २४ कार्तिक २०८० ०८:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App