५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

बालिका सम्मेलनमा बाल विवाह रोक्न सामूहिक प्रतिबद्धता

फाइल तस्वीर

सर्लाहीमा भएको बालिका सम्मेलनमा अभिभावक तथा जनप्रतिनिधिले बाल विवाह रोक्ने प्रतिबद्धता व्यक्त गरेका छन्। सर्लाहीको हरिपुर नगरपालिकाका सबै वडाध्यक्ष तथा केही सामाजिक अगुवाहरूले बाल विवाह रोक्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।

वडा २ का वडाध्यक्ष नीलविक्रम थापाले आफ्नो वडालाई बाल विवाहमुक्त बनाउने अभियान चलाएको र अभियानले विस्तारै सफलता पाउँदै गएको बताएका छन्।

वडा ६ का वडाध्यक्ष प्रेमहरि श्रेष्ठले आफूले बाल विवाह रोक्न कडाइ गरिएको बताउँदै कतिपय अभिभावकले भारतमा आफन्तकहाँ लगेर विवाह गराइदिने गरेको खुलासा गरेका छन्। वडाध्यक्ष श्रेष्ठले अभिभावकले छोराछोरीको उमेर २० वर्ष पूरा नभई विवाह गरेमा कानुनी दायरामा ल्याउने चेतावनी पनि दिएका छन्।

यसैगरी वडा १ वडाध्यक्ष नानीबाबु थापा, ३ का वडाध्यक्ष लालमहम्मद शेख, ५ का वडाध्यक्ष सुरेन्द्र चौधरी, ७ का वडाध्यक्ष मनोजकुमार चौधरी, ८ का वडाध्यक्ष हरिबहादुर थापाले आआफ्नो वडाभित्र बाल विवाह हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।

इलाका प्रहरी कार्यालय हरिपुरका सहायक प्रहरी निरीक्षक देवराम यादवले विवाहको सबै तयारी पूरा भइसकेको अवस्थामा अन्तिममा मात्रै बाल विवाहको सूचना आउँदा अप्ठ्यारो परिरहेको बताउँदै बाल विवाह रोक्न समयमै सूचना प्रहरीलाई उपलब्ध भएमा जुनसुकै हालतमा पनि त्यस्तो विवाह रोक्न प्रहरी प्रतिबद्ध रहेको बताएका छन्।

सामाजिक तथा आर्थिक दृष्टिकोणले पछाडि परेका समुदायमा बाल विवाह अझै पनि चुनौतीको रूपमा रहेको छ। बालबालिकाले नचाहँदा नचाहँदै पनि विवाह हुने गरेको कार्यक्रममा सहभागीले स्पष्ट पारेका छन्। दाइँजो प्रथा तथा अशिक्षाले पनि बालविवाहलाई प्रोत्साहन गरिरहेको अनुभव धेरैले सुनाएका छन्।

नगरस्तरीय बाल क्लब हरिपुरकी अध्यक्ष रिंकी दासले आफ्नै खुट्टामा उभिएपछि विवाह गर्ने कतिपय छोरीको सोचमा अभिभावकले असहयोग गर्ने गरेको बताएकी छन्। कतिपय अभिभावकले कलिलै उमेरमा भागी विवाह गर्ने खराब प्रवृत्ति बढिरहेकाले बाल विवाह नियन्त्रण नै एउटा चुनौती भएको बताएका छन्।

कार्यक्रममा सहभागी विभिन्न संघसंस्थाका प्रतिनिधि तथा केही अभिभावकले सबै मिली सहकार्य गर्ने र बाल विवाहमुक्त समाज बनाउने सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन्। सामूहिक प्रतिबद्धताले बाल विवाह रोक्न केही सजिलो हुने विश्वास लिइएको छ।

प्रकाशित: १९ कार्तिक २०८० ०२:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App