जलवायु परिवर्तनका कारण पृथ्वीको सरदर तापमान यही दशकभित्रै १.५ र सन् २०५० सम्म २ डिग्री सेन्टिग्रेडले बढ्ने एक वैज्ञानिक अध्ययनले देखाएको छ। बिहीबार सार्वजनिक गरिएको सो अध्ययन प्रतिवेदनले यसअघि गरिएका प्रक्षेपणभन्दा निकै तीव्र गतिका साथ पृथ्वीको तापमानमा बढोत्तरी भइरहेको देखाएको हो।
यो तापमान वृद्धि ‘मानवका लागि कम सहनशील र विषम मौसमी घटनाका लागि अत्यधिक जिम्मेवार’ रहने अनुसन्धानकर्ताको ठहर छ।
सन् १९८० मा हरित गृह ग्याँसको अत्यधिक उत्सर्जनबारे अमेरिकी कंग्रेसलाई पहिलोपटक चेतावनी दिने अमेरिकी वैज्ञानिक जेम्स हान्सेनले नेतृत्व गरेको एक टिमले गरेको अध्ययनअनुसार ‘अक्सफोर्ड एकेडेमिक जर्नल’मा बिहीबार प्रकाशित प्रतिवेदनले यस्तो देखाएको हो। ‘हरित गृह उत्सर्जनको विद्यमान भूराजनीतिक प्रतिकार्यको अवस्थाको सन्दर्भमा विश्वको तापमान सन् २०२० कै दशकमा १.५ डिग्री सेन्टिग्रेड र सन् २०५० भित्रै २ डिग्रीले बढ्नेछ,’ प्रतिवेदनमा लेखिएको छ।
सन् २०१५ मा सम्पन्न जलवायुसम्बन्धी पेरिस सम्झौताले यो शताब्दीको अन्त्यसम्म अर्थात् सन् २१०० सम्म पृथ्वीको सरदर वृद्धिलाई तापमान सकेसम्म १.५ डिग्रीमा सीमित राख्ने, त्यसो गर्न नसिकए २ डिग्री सेन्टिग्रेडभन्दा माथि उक्लन नदिने लक्ष्य लिएको छ। तर पृथ्वीको तापमान वृद्धिको अन्तर्राष्ट्रिय रूपमा स्वीकृत थे्रसहोल्ड तोकिएको मितिभन्दा धेरै अगाडि नै तोडिने देखिएको छ। औद्योगिक क्रान्ति हुनुअघिको अवधिको तुलनामा पृथ्वीको तापमान १.२ डिग्रीले बढोत्तरी भइसकेको छ।
सूर्यबाट पृथ्वीमा आउने ऊर्जा र पृथ्वीबाट बाहिरिने ऊर्जाबीचको असन्तुलन पछिल्लो एक दशकमा झन्डै दुगुणा बढेका कारण समुद्रको सतह डरलाग्दो स्तरमा बढ्न सक्ने अध्ययनकर्ताको तर्क छ।
जीवाश्म इन्धनको निरन्तर बढ्दो प्रयोग र यसले गर्ने उत्सर्जनका कारण पृथ्वीको तापमान लगातार बढ्दो क्रममा छ। ‘हामी जलवायु आपतकालको प्रारम्भिक चरणमा छौं। तापमानमा यस प्रकारको वृद्धिले जलवायु प्रणालीको सन्तुलनमा खतरा उत्पन्न गरेको छ। यो उपक्रमलाई उल्ट्याउन र पृथ्वी चिसो राखिराख्न आवश्यक छ। त्यसो गरे मात्र समुद्र तट र समुद्रनजिकका सहरहरूलाई जोगाउन सकिन्छ,’ अध्ययनमा सहभागी वैज्ञानिकले उक्त प्रतिवेदनमा भनेका छन्।
हान्सेन आफैंले समीक्षा गरेको तथा अन्य एक दर्जन वैज्ञानिकले गरेको उक्त अध्ययन नतिजाका अनुसार जलवायु प्रणालीमा सिर्जित असन्तुलन, पृथ्वीको जलवायु संवेदनशीलता तथा सामुद्रिक पारवहन (सिपिङ) मा कमी आएका कारण वायुमण्डलमा सल्फर डाइअक्साइडका कणहरूको उत्सर्जनमा कमी हुँदा सूर्यको प्रकाशको यथेष्ट परावर्तन हुन नसकेका कारण विश्वव्यापी रूपमा तापमान बढेको हो।
यो संकट निवारण गर्न विश्वव्यापी कार्बन कर लगाउनुपर्ने तथा वायुमण्डलमा सल्फर स्प्रे गरेर सूर्यको प्रकाश परावर्तन गर्नुपर्ने सुझाव अध्ययनमा सहभागी वैज्ञानिकहरूको छ। तर सोलार जिओइन्जिनियरिङ गरेर वायुमण्डलमा एरोसोल स्पे्र गर्नेलगायत अन्य कतिपय कृत्रिम विधिप्रति वैज्ञानिक एकमत छैनन्।
वायुमण्डलमा सल्फर स्प्रे गर्दा ओजोन तहमा नोक्सानी हुने र आकाशसमेत दुधजस्तो सेतो (मिल्की ह्वाइट) हुन सक्ने कतिपयको तर्क छ। उनीहरूले कार्बन उत्सर्जनको स्रोतमा कटौती गर्नुपर्ने बताउँदै आएका छन्। ‘हो, उत्सर्जनको स्रोतमा कटौतीलाई प्राथमिकता दिनुपर्छ। तर कार्बन शून्य ऊर्जाको विकासमा भएको विद्यमान ढिलाइ र अत्यधिक कार्बन उत्सर्जन गर्नेले तिर्नुपर्ने मूल्य निर्धारण नभइसकेको अवस्थामा सौर्य विकिरण व्यवस्थापनको अल्पकालीन सहयोग लिन सकिन्छ,’ हान्सेनले भनेका छन्।
प्रकाशित: १८ कार्तिक २०८० ००:४९ शनिबार