१७ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

बलात्कार आरोपित दुई जना कराँतेका प्रशिक्षक दोषी ठहर

किशोरीमाथि सामूहिक बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेका कराँतेका दुई जना प्रशिक्षकलाई जिल्ला अदालत मोरङले दोषी ठहर गरेको छ । कराँतेका प्रशिक्षकहरू विराटनगर –४ का सुरज भनिने अमर सुवेदी र विराटनगर–३ का विनोद राउतलाई न्यायाधीश अम्बिकाप्रसाद दाहालको कात्तिक १५ गतेको  इजलासले दोषी ठहर गरेको हो।

सामूहिक बलात्कारको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका  सुवेदी र राउत दोषी ठहर भए पनि कैद सजाय निर्धारण भने कात्तिक २२ गतेको इजलासले गर्ने अदालतका सूचना अधिकारी ओम सुवेदीले जानकारी दिए।

राष्ट्रिय खेलकुद परिषद्का स्थायी प्रशिक्षक सुवेदी र राउतले विराट हेल्थ कलेजमा अध्ययनरत छात्रालाई विराटनगरस्थित एउटा होटलमा लगेर सामूहिक करणी गरेको आरोप लागेको थियो । विराट हेल्थ कलेजका डिसिप्लिन इन्चार्जसमेत रहेका सुवेदीले परीक्षामा सहयोग गर्ने बहानामा छात्रालाई पटक–पटक बलात्कार गरेको र २०७९ जेठमा होटलमा लगेर साथी राउतलाई समेत बोलाई सामूहिक  बलात्कार गरेको आरोपमा किशोरीले प्रहरीमा उजुरी दिएकी थिइन् । किशोरीलाई सामूहिक बलात्कार  गरेर उनीहरूले  भिडियोसमेत खिचेको पीडितको आरोप थियो।

किशोरीको उजुरी पछि दुबैलाई २०७९ साउनमा प्रहरीले पक्राउ गरी आरोपितहरू विरुद्ध २०७९ भदौ ५ गते जिल्ला अदालत मोरङमा मुद्धा दर्ता गरेको थियो । जिल्ला अदालतका न्यायाधीश राजेशकुमार कटुवालको २०७९ भदौ ६ गतेको इजलासले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो। 

प्रकाशित: १७ कार्तिक २०८० १०:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App