७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

‘चैतसम्म कुरेको भए मेरो ज्यान खतरामा हुने थियो’

पित्तथैलीको पत्थरीको अत्यधिक दुखाइको पीडा भोगिरहेका इच्छाकामना गाउँपालिकाका–३ का प्रदीप पोखरेलको भरतपुर अस्पतालमा ६ महिनापछि शल्यक्रियाको पालो प¥यो। स्वास्थ्य बीमामार्फत शल्यक्रिया गराउनुपर्ने उनको आर्थिक बाध्यता थियो।

पत्थरीका कारण उनलाई दुःखाइ बढ्दै गयो। आर्थिक अभाव र पीडामा छटपटाइरहेका उनको बाध्यता बुझेर चितवन मेडिकल कलेज शिक्षण अस्पतालले उनको निःशुल्क उपचार गरेको छ।

गत असार २९ गते यहाँस्थित सरकारी भरतपुर अस्पताल परीक्षणपछि उनको शल्यक्रियाको पालो आगामी चैत १८ गतेका लागि तोकियो। पोखरेलले आर्थिक अभावका कारण उपचार पाउन नसक्दा पीडा भोग्नुपरेको गुनासो नेपाल पत्रकार महासङ्घ चितवन शाखाका सचिव दीपेन्द्र अधिकारीलाई जानकारी गराएका थिए।

यसपछि सचिव अधिकारीले चितवन मेडिकल कलेजका प्रमुख प्रशासकीय अधिकृत प्रताप देवकोटालाई पोखरेलको समस्याबारे जानकारी दिएका थिए।

गत वर्ष नै उनमा पित्तथैलीको पत्थरी समस्या देखिएको थियो। त्यतिखेर बीमा थिएन। शल्यक्रिया गर्न पैसा आवश्यक हुने भएपछि उनी बीमा गरेर मात्र शल्यक्रिया गर्ने भनी बसे।बीमा गरेपछि पनि उनले सहजै सुविधा लिन पाउएनन्।

अस्पतालका प्रमुख प्रशासकीय अधिकृत देवकोटाले विपन्न नागरिकको सेवा गर्नु आफूहरूको दायित्व भएको भन्दै बिरामी पोखरेलले उपचार खर्च सबै चितवन मेडिकल कलेजले नै व्यहोरेको बताए।

उनका अनुसार पोखरेल आज निको भएर घर फर्किंदै छन्। अस्पतालले यसअघि पनि विपन्न नागरिकको निःशुल्क उपचार गर्दै आएको उनले बताए।

यही कात्तिक १३ गते चितवन मेडिकल कलेजमा उनको शल्यक्रिया भएको हो। शल्यक्रियापछि प्रतिक्रिया दिँदै पोखरेलले भने, “चैत कुरेको भए मेरो ज्यान खतरामा हुन थियो।”

दैनिक तीन हजार हाराहारी बहिरङ्ग सेवामा बिरामी आउने भरतपुर अस्पतालमा दुई तिहाई जति बीमाका बिरामी हुन्छन्। शल्यक्रियाका लागि आउने बिरामीको पालो नौ महिनासम्म पछाडि पर्ने गरेको छ।

भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेल दूरबिनबाट पित्तथैलीको शल्यक्रियाका लागि नौ महिनासम्म पालो कुर्नुपर्ने बाध्यता रहेको स्वीकार्छन्।

उनको भनाइमा अस्पतालमा सरकारी दरबन्दीमा ‘सर्जन’ तीनजना दरबन्दी भए पनि छात्रवृत्ति करारका एकजना चिकित्सक मात्रै छन्। विकास समितिका नौ चिकित्सक छन्। बिरामीको बढ्दो चापका कारण शल्यक्रिया गर्ने बिरामीले लामो समय पालो कुर्नुपरेको उनले बताए।

प्रकाशित: १७ कार्तिक २०८० ०६:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App